नागरिकता बुझाएर त नागरिकता तुरुन्त पाइन्छ,राहदानी नि !

नागरिकता बुझाएर त नागरिकता तुरुन्त पाइन्छ,राहदानी नि !

रवि लामिछानेले अस्ति आइतबार प्रक्रिया पुर्याएर नेपालको नागरिकता लिएपछि उनी आगामी उपनिर्वाचनमा उम्मदेवार बन्ने,पुनः सांसदको हैसियत कायम रहने र लगत्तै उपप्रधान तथा गृहमन्त्री बन्ने चर्चा अस्तिदेखि व्याप्त छ । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले सामाजिक सञ्जालमा सोही कुरालाई व्यापक बनाएका छन् । 

त्यसअघि गत शुक्रबार सर्वोच्च अदालत, संवैधानिक इजलासको आदेशपछि सबै सार्वजनिक पदबाट च्यूत भएका उनका साख्खै दाइ तथा रेडियोकर्मी हरिशरण लामिछानेले एउटा ढोका थुनिए पनि हजार ढोका खुल्ला रहेको सांकेतिक स्टाटस लेखेका छन् । उनको आशय नागरिकताको कारण देखाएर हाललाई पदमुक्त हुन परे पनि पुनः उपनिर्वाचन जितेर सोही ठाउँ वा सोभन्दा माथि पुग्न सकिने भन्ने हो ।

तर,रविले पुनः प्रक्रिया पुर्याएर नागरिकता लिएको र आइतबार दिउँसो नै आफूसँग रहेको कानुनतः अवैध नेपाली राहदानी बुझाएको यथार्थले उनले अमेरिका र नेपालका दुई वटा नागरिकता र राहदानी एकै साथ प्रयोग गरेको स्पष्ट भएको छ । यसबाट उनले विगतमा गरेका गैरकानुनी नागरिकता र राहदानी दुरुपयोगको बारेमा प्रहरीले फौजदारी अनुसन्धान र छानबिनमा उनलाई तान्ने निश्चित देखिन्छ । 

यसबीच उनले आइतबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सकेसम्म आफू र विकल्पमा आफ्नो पार्टीले तोकेको व्यक्तिलाई गृह मन्त्रालयको जिम्मेवारी दिन रोषमिश्रित अनुरोध गर्दै आएका छन् । तर, प्रधानमन्त्री तत्काल रवि वा उनको पार्टीलाई गृह मन्त्रालयको जिम्मेवारी दिने मुडमा नरहेको पछिल्ला दिनका घटनाक्रमले नै पुष्टि गरेको छ । 

सोही सन्दर्भमा निर्वाचन आयोगले सरकारसँगको सल्लाहमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पुनः निर्वाचनको मिति तोकेको अवस्थामा रविको उम्मेदवारीको सम्भावना कत्तिको देखिन्छ ? आयोगका एक जना आयुक्तले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ हेरे पुग्छ । उम्मेदवारको निम्ति सबैभन्दा पहिलो शर्त नै उक्त ऐनमा उल्लिखित प्रावधान पूरा भएको हुनुपर्छ ।’

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ दफा १३ (घ) मा, ‘भ्रष्टाचार,जबरजस्ती करणी,मानव बेचबिखत तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी,सम्पत्ति शुध्दिकरण,राहदानी दुरुपयोग,अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय त्यस्तो फैसला अन्तिम भएको,’ भनिएको छ । यो व्यवस्थाले रविमाथि हुनसक्ने राहदानी दुरुपयोगसम्बन्धी छानबिनले कसूर ठहर्याएमा उनी उम्मेदवार हुनसक्ने सम्भावना रहँदैन ।

टिप्पणीहरू