राष्ट्रपति र गृह मन्त्रालयबारे निर्णय लिन माओवादी नेताहरु छलफलमा

राष्ट्रपति र गृह मन्त्रालयबारे निर्णय लिन माओवादी नेताहरु छलफलमा

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बसेको हो । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा समसामयिक राजनीति, अध्यक्षकाे प्रतिवेदन, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिकाे प्रयास, विभिन्न कम्युनिस्ट घटकहरुसँग एकता, पार्टी विस्तार र उपाध्यक्ष चयनसम्बन्धी विषयमा छलफल हुने बुझिएको छ । समसामयिक विषयअन्तर्गत बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि माघ ११ र १२ गते बसेको माओवादीको स्थायी कमिटीले बैठकले राष्ट्रपतिमा सबैलाई स्वीकार्य हुने साझा व्यक्तिमा राष्ट्रिय सहमति जुटाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । अध्यक्ष प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेक्रममा अधिकांश स्थायी कमिटी सदस्यहरुले विगतको अनुभवलाई मूल्यांकनगरी राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार बनाउन पार्टीका तर्फबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए । 

माओवादीमा सरकारको नेतृत्व गर्ने दलले गृह, अर्थ र परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय नराखेकोमा प्रधानमन्त्रीको आलोचना भैरहेको छ । स्थायी कमिटी बैठकमा पनि त्यसबारे नेताहरुले कुरा उठाएका थिए । आजको बैठकले यससम्बन्धमा पनि निर्णय गर्ने सम्भावना छ । 

यसअघि  गृहमन्त्री रहेका रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उनले सो पद गुमाएका छन् । हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले गृहमन्त्रीको दाबी गरेको सन्दर्भमा माओवादीले लिने निर्णयलाई महत्वपूर्ण मानिएको छ । 

त्यस्तै, आजको बैठकले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने विषयमा पनि निर्णय लिन सक्ने बताइन्छ । बैठकमा  अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्ण बहादुर महरा, महासचिव देव गुरुङ, पूर्वसभामुख सापकोटा, उप-महासचिवहरु हरिवाेल गजुरेल, गिरिराजमणि पाेखरेल, पम्फा भूसाल, मात्रिका यादव, जनार्दन शर्मा, सचिवहरु लिलामणी पाेखरेल, दिनानाथ शर्मा, हितमान शाक्य, हितराज पाण्डेलगायतको उपस्थिति छ ।

टिप्पणीहरू