व्यक्ति हत्याका आरोपितको बचाउमा एमालेको आन्दोलन

व्यक्ति हत्याका आरोपितको बचाउमा एमालेको आन्दोलन

कर्तव्य ज्यान मुद्दामा फरार एमाले सांसद लक्ष्मी कोइरी महतोको बचाउमा प्रदर्शन भएको छ । माघ ११ गते जनकपुरमा प्रदर्शन गरेको एमालेले कोइरीको गाउँ महोत्तरीको गौशालामा आज नागरिक समाजको नाममा प्रदर्शन गर्ने तयारी गरेको छ । कुशाहा कल्याण समाज नामक कोइरी जातीय समूहले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

सांसद महत्तोमाथि मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ । २०७७ सालमा जनकपुर उच्च अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश अवज्ञा गरी भागेका उनी अभियोग बोकेरै चुनाव उठे र महोत्तरी-१ बाट निर्वाचित भए । मङ्सिर ४ को निर्वाचनमा उम्मेदवारी मनोनयनको मुखैमा महत्तो जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । 

चार तहको सुरक्षा घेरा छिचोलेर सांसदको शपथ खान, प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सभामुख निर्वाचनको दिन संसद बैठकमा पुगेका महत्तो प्रहरीको फरार सूचीमा छन् । उनी खुलेआम संसद बैठकमा सहभागी हुँदा समेत पक्राउ नगरेको विषयले तत्कालीन गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भएको थियो । केही साताअघि सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियो । त्यसपछि प्रहरीको सक्रियता बढेको बुझेका महत्तो फरार छन् । 

उनी भारतको पटनामा रहेको बताए पनि कहाँ छन भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।

टिप्पणीहरू