बिहे गर्न वडाको सिफारिस अनिवार्य

बिहे गर्न वडाको सिफारिस अनिवार्य

बर्दियाको बारबर्दिया नगरपालिका–२ मा वडा कार्यालयको पूर्वस्वीकृत लिएरमात्र विवाह गर्न पाइने भएको छ । बालबिबाहका घटना बढेपछि वडा कार्यालयले विवाह गर्नुपूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । 

वडाध्यक्ष रामफेरन थारुले पछिल्लो समय वडाद्धारा बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरेपनि न्यूनीकरण नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने निर्णय बनाएको बताए । उनले गत पुसको पहिलो सातादेखि उक्त नियम कार्यान्वयनमा आइसकेको पनि जानकारी दिए ।
 
उनले भने, ‘केही समयअगाडि वडाभित्र बालविवाह हुदैँछ भनेर कुनै वडाबासीले प्रहरी चौकीमा उजुरी गरिदिएछ । त्यसले ठूलो विवाद भयो, विवाह पनि रोकियो । त्यसैले, आगामी दिनमा यस्तो नहोस् भनेर विवाह गर्न वडाको स्वीकृति लिनुपर्ने व्यवस्था गरेका हौँ ।’
 
जुनसुनै उमेर समूहका नागरिकले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्म दर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने उनको भनाइ छ । सिफारिस नलिई विवाह गरेको थाहा पाएमा कानूनी कारबाहीसमेत हुने वडा कार्यालयले जनाएको छ । 

वडाध्यक्ष थारुले उक्त नियमको लागूपश्चात् वडामा विवाह स्वीकृति लिन ४/५ जना आएको बताए । तर, सरकारले विवाह गर्न उपयुक्त मानेको वा निर्धारण गरेको उमेर नपुगेकाले वडा कार्यालयले उनीहरुलाई स्वीकृति नदिएको उनको भनाई छ ।
 

टिप्पणीहरू