नयाँ सरकारसंगै महिलामा जागेको आशा

नयाँ सरकारसंगै महिलामा जागेको आशा

-रमिला योन्जन

महिला भएकै कारण उनीमाथि हुने शारीरीक, मानसिक, यौनशोषण, दमन, यातना र अमानवीय व्यवहार महिला हिंसा हो ।  समाजमा घरेलु हिंसालाई सामान्य रुपमा चित्रण गरिएको पाइन्छ तर त्यो पनि एक जघन्य अपराध हो । यसकारण पनि महिला हिंसा बढ्दो क्रम छ ।

पूरातनवादी संस्कार र रहनसहनको कारण मानवबीच उत्पन्न भएको असभ्यताले पनि महिलाहरुलाई हिंसातर्फ धकेलिरहेको छ । महिलाहरुमा आत्मा जागरणका साथै आत्मबल र आफूलाई चिन्ने क्षमताप्रति दृढ विश्वासमा कमी भएकाले उनीहरु पछाडि परेका छन् । 

महिलाबीच नै शत्रुता हुँदा त्यसले मानसिक तथा बौद्धिक क्षमतामा असर पुर्याइरहेको छ । एक नारीले अर्कोको नारी आत्मसक्षम भएको देख्दा हौसला दिएर अगाडि बढ्न प्रेरित गर्नुको सट्टा विभिन्न लाञ्छना लगाई खुट्टा तान्ने गर्दछन् । 

महिला हिंसाको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने गत असारबाट असोजसम्ममा एक सय ८०  महिला हिंसाका घट्ना घटेको छ ।जसमध्ये घरेलु हिंसा ७५ प्रतिशत, बलात्कार, बालविवाह, जातीय दूर्व्यवहार, बहुविवाह, सम्बन्धविच्छेदलगायतका रहेका छन् ।

उक्त तथ्याङ्क हेर्दा महिला हिंसाको मुद्दाहरुमा घरेलु हिंसाद्वारा पीडित महिलाको संख्या उच्च देखिन्छ । प्रायजसो महिलाहरु श्रीमानबाट नै पीडित छन्  । श्रीमतीलाई अपशब्द प्रयोग गर्नु तथा अपमानजनक व्यवहार गर्न पनि हिंसाअन्तर्गत नै पर्दछ । पुरुषवादी सोचका कारण महिलाहरु अहिले पनि घरेलु हिंसाको शिकार बन्दै आएका छन् । 

इज्जत नामको तगारोभित्र बन्दी हुन्छिन्, नारी । नारीहरु श्रीमान नामको पुरुषले दिएको यातना सहेर बस्न बाध्य छन्  । नारीहरु उसैको प्रतिष्ठाको खातिर स्वतन्त्रतालाई बन्धकी राखेर यातना सहेर बाँच्न बाध्य छिन् । महिलामाथि हुने विभिन्न खाले हिसां र महिलाहरू दिनदहाडे बलात्कारको शिकार बनेका कैयों घटनाहरू छताछुल्ल भइरहेका छन् । 

किन भइरहेको छैन अपराधीलाई फाँसी तथा अन्य कडा कारबाही ?  सरकारमा बसेका दलका कार्यकर्ता नै यस्ता घटना कार्यमा संलग्न भएका विगतका धेरै घटनाहरुले प्रष्टीकरण गरेको छ । सत्यतथ्य घटनामा आवाज उठाउने सूचनाको संवाहक सञ्चार क्षेत्रलाई अकुंस लाग्ने किसिमको २०७५ भदौ १  बाट कार्यान्वयन भएको कानुनले अपराधीलाइ हौसला बढेको पो हो कि भन्ने आशंका लाग्नु कुनै अनौठो कुरा होइन् । 

किनकी कतिपय ठाउँमा ठूल्ठूला जघन्य अपराध हुँदा पनि तिनै राज्य सत्तामा रहेका नेताहरुले कानुनको धज्जी उडाउँदै पीडकलाई छुटाउन मरिमेटेर लागेको पनि हाम्रा आँखाले देखेका छौं । किन कमजोर बन्दै छ न्यायालय ? 

हजारौ परस्त्रीसँग सम्बन्ध बनाएर हिँड्ने पुरुषले घरमा बालबच्चा समालेर बसेकी श्रीमतीलाई विभिन्न लाञ्छना लगाएर बालबच्चाको भविष्यमाथि खेलबाड गर्दै सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेर परस्त्रीसँग विवाह गर्न पाउनु ठिक हो त ? यस्ता मुद्दाहरू दर्ता गर्न पाउनुचाहिँ महिला तथा बालबालिका हिँसालाई हौसला दिएसरह होइन र ? 

यस्ता किसिमको हिंसा किन बढिरहेको छ ? नयाँ कानुन निर्माण तथा कार्यान्वयन गरेर महिलाहरूलाई झनै पीडित बनाई पीडकको हौसला बढाइरहेको त छैन ? सरकार महिलालाई पीडामाथि पीडा थप्न बनेको हो ? 

जनताले जे आशा गरेर जनप्रतिनिधिलाई मतदान दिए । मुलुकको नेतृत्व गर्ने जिम्मा दिए ।  नवनिर्मित सरकारले महिला हिंसाविरुद्धको काम गर्ला भनि अपेक्षा बढेको छ । महिलामा आउने विभिन्न समस्याको निराकरण गर्न कम्युनिष्टले नेतृत्व गरेको सरकारले कडा कानुन बनाएर कार्यान्वयन गर्न जरुरी छ । पीडित आफ्नो माग पूरा होलान् भनेर पर्खेर बसेका छन् ।

तर, पुरुषप्रधान देशमा महिलामाथि हुने शोषण कसरी अन्त्य होला ? सामाजिक परम्पराअनुसार बिहे भएको २१ दिनमै पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि अहिलेको जल्दोबल्दो घटना बनेको छ । 

ललितपुर जिल्ला अदालतमा बिहेको फोटो देखाएको आधारमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्दा नवविवाहित नारी पीडित भएकी छिन् । एक पुरुषले ‘उनी मेरी श्रीमती हो । विवाह भएको २१ दिन भयो, सम्बन्धविच्छेद पाऊँ’ भनि फोटो देखाएको भरमा अदालतले मुद्दा दर्ता गरिदिएको छ । 

नेपालमा कानुन छ, संविधान छ । तर, पीडितले यसको प्रयोग गर्न पाएको छैन् । स्थिर सरकार कहिले बन्छ भनेर छटपटिएका छन पीडित । यो नयाँ सरकारको पनि उही आफ्नो चालढालमा सीमित हुने होकि भन्नेमा महिलाहरु आतंकित भएका छन् । 

राक्षस स्वभाव भएका पुरूषबाट नारा डराईडराई हिँड्नुपर्ने बाध्यता छ । बलात्कारजस्ता जघन्य अपराधलाई समेत पैसाको आडमा लुकाउन बाध्य पारिएको छ ।  २०७४ मा बनेको सरकारले महिलामाथि हुने हिंसालाई ख्यालख्यालमा लिएको प्रष्ट भएको छ ।  प्रजातन्त्र स्थापनापछि महिलाले पाएको ३३ प्रतिशत अधिकार पनि अन्योलमा परेका छ ।  

किन बढ्दै छ महिला हिंसा ? 

धाकधम्की, लोभलालचमा पारेर महिलाका इज्जत लुटिएका घटनाहरु थुप्रै छन् । राज्यको जिम्मेवार निकाय र सरोकारवालाबाट समेत यसलाई बेवास्ता गरिएको छ । पीडकलाई राज्यले कडाभन्दा कडा कारबाही र सजाय दिनुपर्छ । 

अनि मात्र महिला हिंसा घट्छ । महिला हिंसाका प्रमुख कारण मादक पदार्थ सेवन तथा अन्य नशाजन्य वस्तुको प्रयोग भएको बुझिन्छ । यौनप्यास, दाइजो प्रथा, समाजमा महिला जागरणको कमी र शैक्षिक चेतनाको अभावका कारण महिला हिंसाले उग्र रुप लिएको छ । 

समाजमा सामाजिक रुपान्तरणको लागि महिलालाई अग्रसर गराउन अत्यन्त आवश्यक छ ।  महिलालाई कुदृष्टिले हेर्नेलाई कानुनको दायरामा ल्याउन जरुरी छ । बलात्कारीलाई कडा कारबाही गर्ने नियम तथा फाँसीको सजाय दिनुपर्ने देखिन्छ । बहुरुपी पुरुषहरु आफ्नो इच्छाअनुरुप महिलासंग सुत्छन् । तर, त्यहाँ पनि महिलामाथि नै प्रश्न उठ्छ । महिलालाई बेश्या भनिन्छ, तर पुरुषमाथि कसैले औंला उठाउँदैन् । 

चेतनाको हर ठाउँ चम्किलो पार्नुपर्छ टुकी बाली
आत्मा रक्षाको लागि आफैं जाग्नुपर्छ खुकुरी उचाली 

हिजोको आज नै परिवर्तनमा आएका सरकारको लाचारीतापन कहिलेसम्म हो ? आखिर शोषित महिला तथा बालिकाको पक्षमा केही कडा कानुन बन्यो भने रोकिएला अपराध । एउटी नारीको सम्बन्ध पुरुषसँग जोडिन्छ, यही पुरुषले यातना दिन्छ । तरपनि सहन बाध्य छिन्, उनी । किनकि त्यहाँ दुईटा कुरा जोडिएका हुन्छन्ः एउटा इज्जत, अर्को सन्तानको माया । समाजको डर छुट्टै छ । 

त्यसैले महिलाहरु खुलस्त भएर बोल्न सकिरहेका छैनन् । दाइजो नल्याएकै कारण जिउँदो जलाइन्छ । विभिन्न यातना दिएर आत्महत्या गर्न बाध्य बनाइन्छ । मरेपछि पनि समाजले त्यही नारीमाथि आरोप लगाउन छोड्दैन ।  

घर, समाज सबैतिरबाट नारी नै असुरक्षित छिन् । महिला हिंसाको अन्त्य तथा न्यूनीकरण गर्नका लागि ठूल्ठूला आन्दोलन नभई सामाजिक सोच र पुरुषवादी समाज हटाउन अत्यन्तै खाँचो छ ।

टिप्पणीहरू