रवि नागरिकता लिन जाँदा सिडिओको कोठा भताभुङ्ग

रवि नागरिकता लिन जाँदा सिडिओको कोठा भताभुङ्ग

शुक्रवार सर्वोच्चको आदेशपछि रवि लामिछाने हिजो प्रक्रिया पुर्याएर नागरिकता लिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेका छन् । यसबाट अमेरिकी नागरिकता लिएपछि स्वतः निष्क्रिय भएको नेपाली नागरिकता बोकेर हिँडेका उनले पछिल्लो सात वर्ष सोही नागरिकताको दुरुपयोग गरेको प्रमाणित भैसकेको छ । 

उनलाई प्रक्रिया पुर्याएर नागरिकता लिन अदालतले आदेश दिएपछि अस्ति शनिवार  वडा कार्यालयबाट सिफारिस लिएको र भैपरीमा साक्षी राख्न हिजो दाजु हरिशरणलाई सङ्गै लगेको देखिएको  छ । 

बिहान साढे १० बजे बबरमहलस्थित सिडिओ कार्यालय जाने कार्यक्रम राखे पनि उनी मध्यान्ह १२ बजेतिर त्यहाँ पुगेका थिए । लामिछाने काठमाडौं सिडिओ कार्यालयमा पुग्दा समर्थकभन्दा युट्युबरहरुको भीड बाक्लो थियो ।

त्यो लाइन सिडिओ कार्यालयको थिएन र लामिछाने लाइनमा पनि बसेका थिएनन् । जाडो महिनामा हाफ सर्ट लगाएर कोही हिंड्दैन र रवि आजसम्म कहिँ लाइन लागेको देखिएको पनि छैन ।

तर कार्यालयको पहिलो तल्लाको भित्री भाग भत्काइएकाले कोठाहरु सबै भताभुङ्ग देखिन्थे । पूरै तल्ला असरल्ल र भद्रगोल भएकाले सिडिओ घनश्याम उपाध्याय भने त्यतिबेला सहायक सिडिओको कोठामा बसेका थिए । 

‘लामिछाने सुईंसुईं सिडिओ बसेकै कोठामा पुगे । दुई जना पातलो शरीरका मान्छे पनि उनीसँगै थिए,’ त्यहाँका एक जना कर्मचारीले भने । तर बाहिर युट्युबेहरुको भीड थामिनसक्नु थियो । अधिकांशको हातमा क्यामरा थिए । सबै टेलिभिजनका क्यामरा म्यान झैँ देखिएको उनै कर्मचारीले बताए । 

सिडिओ कार्यालयमा पुगेपछि लामिछाने पहिले जस्तो उग्र नदेखिएको बताइन्छ ।  ‘भित्र पनि खासै बोलेनन् । नागरिकताको निम्ति आएको हुँ भन्दै सिडिओसँग केही समय कुरा गरे । नागरिकता लिएर निस्कँदा पनि बाहिरका मिडियाकर्मी तथा युट्युबेहरुसँग खासै बोलेनन्,’ सिडिओ कार्यालयका एक जना अधिकृतले त्यहाँको परिदृश्य उल्लेख गर्दै भने ।

तर, सुरक्षाकर्मीहरु भने बिहान साढे ९ बजेदेखि नै सिडिओ कार्यालय वरपर बाक्लो संख्यामा परिचालन भइसकेका थिए । रविका समर्थकहरुले अनावश्यक प्रचार गर्न फोटो सपबाट फोटो सम्पादन गरेर रवि लामिछाने सिडिओ कार्यालयमा लाइनमा बसेको देखाएका थिए ।

टिप्पणीहरू