प्रधानमन्त्री कार्यालयमा नअघाउने पात्र

प्रधानमन्त्री कार्यालयमा नअघाउने पात्र

भ्रष्टाचारमार्फत अकुत सम्पत्ति जोडेको आरोप खेपिरहेका सहसचिव नवराज ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निजी सचिवमा पुस २० गते नियुक्त भएका छन् । यता आउनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वीरगञ्ज भन्सारलगायत थुप्रै निकायको जिम्मेवारी निर्वाह गरिसकेका उनीविरुद्ध अख्तियारमा पोहोरै उजुरी परेको थियो । सह–महालेखा नियन्त्रकमा रहँदा सरुवा, बढुवामा घुस लिएको आरोपसहित छानबिनको लागि २०७८ पुस १३ गते उजुरी दर्ता भएको हो भने रकम लेनदेनसहित थप तीन वटा उजुरीउपर निर्णय हुन बाँकी नै छ ।

ढुंगाना सह–महालेखा नियन्त्रकसहित कार्यालयको प्रवक्तासमेत थिए । त्यतिबेला उनीमाथि सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको थियो । प्रहरी उपरीक्षक (एसपी) को संयोजकत्वमा गठित समितिले अकुत सम्पत्ति जोडेको विषयमा गरिरहेको प्रारम्भिक अनुसन्धान अन्तिम चरणमा पुगेको छ । कर्मचारीको सेवा अवधि, भौगोलिक अनुभव र अभ्यासलाई नजरअन्दाज गरेर पैसाको आडमा सरुवा, काज पदस्थापन गर्ने उनले अवैध धनसम्पत्ति परिवारका सदस्य मात्र नभई अन्य थुप्रै नातेदारका नाममा राखेको आरोप छ ।

सडक विभाग, सडक डिभिजन कार्यालय, निर्माणसम्बन्धी आयोजनाहरू र आकर्षक अड्डामा सरुवा गरिदिएबापत न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म घुस लिने गरेको अख्तियारमा दर्ता भएको उजुरी पत्रमा उल्लेख छ । योसँगै घरमा चाहिने फ्रिज, सोफा, मोडुलर किचेन, बेड, दराज, पर्दा, २७५ स्क्वायर फिटका बाक्लो जुट कार्पेटलगायत सामान उपहार लिएको बताइन्छ । उजुरीपत्रमा भनिएको छ, ‘महिलाहरूको सरुवा गरिदिएबापत श्रीमतीलाई सुनका गहना रानीहार, चुरी, सिक्री र औंठीजस्ता महँगा सामानहरूसमेत लिएको बुझिन आएको हुँदा निजको र अन्य परिवारका सदस्यहरूको साथै तपसिलमा उल्लेख भएका आफन्तहरूको समेत चल–अचल सम्पत्ति छानबिन गराई पाऊँ ।’गोरखा, रत्ननगर नगरपालिका र तत्कालीन पोखरा उपमहानगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका उनीमाथि जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएर हिँडेको आरोपसमेत लागेको थियो । 

रत्ननगरमा हुँदा मेयरको कान भरेर कित्ताकाट रोक्का गर्न लगाए र कित्ताकाट फुक्का गरिदिने भन्दै स्थानीय र जग्गा दलालहरूबाट करोडभन्दा बढी रकम असुले । पछि वडाध्यक्षहरूसँग मिलेर कित्ताकाट फुकुवा गरे । तर, त्यहाँका तत्कालीन लेखा अधिकृतले यसबारे सुइँको पाएपछि पाँच लाख रुपैयाँ दिएर मुखमा बुझो लगाए । भनिन्छ, ‘एकचोटि बानी लागेपछि छुटाउन धेरै गाह्रो हुन्छ ।’ ढुंगानाको हकमा पनि यही नै भएको छ । पोखरा उपमहानगरमा पनि सडक दस्तुर ठेक्का लगाउँदा धरौटीबापत राखेको कास्कीको फुकुवा गर्नै नमिल्ने जग्गा ठेकेदारले फुकुवा गरी तनहुँको कमसल जग्गा धरौटीमा राखेका थिए । यसको उजुरी अख्तियारमा परेपछि छानबिन अघि बढाइएको थियो । तर, रकमको चलखेल गरी उजुरी तामेलीमा राख्न लगाए ।अर्थमन्त्री जनार्दन शर्माको पालामा वीरगञ्ज भन्सार प्रमुखको रुपमा कार्यरत उनले आयातमा प्रतिबन्ध लगाएका वस्तुहरू अवैध माध्यमबाट भित्र्याएका थिए । 

अर्थतन्त्रमा संकट देखिन थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुहरूको आयातमा गत वैशाखदेखि प्रतिबन्ध लगाएको थियो । कुरकुरे, लेज, मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ, महँगा स्मार्टफोन, गाडीलगायत वस्तु ल्याउन रोक लगाइए पनि उनले ट्रकका ट्रक सामान ग्रीन च्यानलबाट भिœयाएको स्रोतले बतायो । चिनी, चामल, पानीलगायत खाद्यान्नका नाममा उनले रक्सी ओसारेका थिए । सरकारको आँखामा धुलो हालेर प्रतिबन्धित मालसामान भित्र्याउँदा राज्यलाई करोडौंको नोक्सान भएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत वनमन्त्री हुँदा ढुंगानाले डिभिजन फरेस्ट अफिसर (डिएफओ) को सरुवामा राम्रै चलखेल गरेको चर्चा अहिले पनि उस्तै छ । वन मन्त्रालय प्रधानमन्त्रीमातहत हुँदा यो क्रम फेरि पनि दोहोरिने अनुमान लगाउन थालिएको छ । वनका कर्मचारीले उनको अघि र पछि गर्ने दिन नजिकिँदै छ ।
 

टिप्पणीहरू