टेकु अस्पतालले मनायो ८९ औं वार्षिकोत्सव

टेकु अस्पतालले मनायो ८९ औं वार्षिकोत्सव

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ८९ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालका अध्यक्ष डा. चीनबहादुर पुनको अध्यक्षतामा गत मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पदम गिरी प्रमुख अतिथि रहेका थिए । 

सो अवसरमा स्वास्थ्यमन्त्री गिरीले कोभिड महामारी नियन्त्रणमा अस्पतालको भूमिकाको खुलेर प्रशंसा गरेका थिए । इतिहासको अत्यन्त कठिन घडीमा उच्च मनोबलका साथ कोभिड नियन्त्रणमा होमिएको टेकु अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरुको जति प्रशंसा गरेपनि कम हुने उनले बताए । यसले भविष्यमा जस्तोसुकै ठूलो महामारी आएपनि सामना गर्नसक्छौं भन्ने आत्मविश्वास जगाउने काम गरेको स्वास्थ्यमन्त्रीको भनाई छ ।

कार्यक्रमकी विशिष्ट अतिथि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले यस्तो अस्पताल देशैभर हुनुपर्ने बताइन् । उनले भनिन्, ‘महामारी फैलिएपनि टेकु, मुसा र कुकुरले टोकेपनि टेकु नै होइन, अब हरेक पालिका र प्रदेशस्तरमा टेकु अस्पताल जस्ता सरुवा रोग नियन्त्रणको जोखिम उठाउन सक्ने अस्पताल र स्वास्थ्यकेन्द्रहरु बनाउन सक्नुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले झाडापखाला, हैजा, मलेरिया, एचआइभी, डेंगी, कोभिड जस्ता विभिन्न संक्रामक रोगहरुको सफल उपचार गर्दै आइरहेको अस्पतालकी निर्देशक डा. मनिषा रावलले बताइन् । ‘विशेषज्ञ ओपिडीबाट बाल स्वास्थ्य, छाला तथा यौन रोग, जेनेरल मेडिसिनका सेवा पनि दिँदै आइरहेका छौं’, उनले भनिन्, ‘जनावरबाट हुने टोकाइको उपचारका लागि दैनिक तीनसयदेखि चारसय जनासम्म आउने गरेका छन् ।’

हाल १०० शैय्याको यस अस्पताललाई तीनसय शैय्याको बनाउन भवन निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढिसकेको अस्पतालका अध्यक्ष डा. पुनले जानकारी दिए । लामो समयदेखि कतिपय कर्मचारीहरुको वृत्तिविकास हुन नसकिरहेको हुँदा त्यसतर्फ आवश्यक कार्यबाही अगाडि बढाउन जरुरी देखिएको उनी बताउँछन् । 

छिट्टै अस्पतालका विभिन्न विभागहरुलाई अपग्रेड गरिने पनि अध्यक्ष डा. पुनले बताए । 

 

टिप्पणीहरू