सिएमसीमा किन चलिरहन्छ बारम्बार रुवाबासी ?

सिएमसीमा किन चलिरहन्छ बारम्बार रुवाबासी ?

भरतपुरस्थित चितवन मेडिकल कलेजमा हिजो एकातिर खुशीयाली अनि अर्काेतिर रुवाबासी चलिरहेको थियो । नयाँ मेडिकल कलेजको रुपमा स्थापित सिएमसीले अस्पताल परिसरमा गन्यमान्यहरुलाई बोलाएर आफ्नो १६ औं वार्षिकोत्सव धुमधामले मनाउँदै गर्दा बिरामीका परिवारजन भने रोइकराइ गर्दै थिए । दुखेको घाउमा मल्हमपट्टी लगाउन गएको ठाउँमा झन् ठूलो चोटले ठहरै हुनुपर्दा उनीहरुको हालत के होला ? सिएमसीमा किन पटक–पटक यस्ता घटना भइरहन्छन् ?

उक्त शिक्षण अस्पतालमा जुनसुकै बेला बिरामीको उपचार सिकारु विद्यार्थीको हातबाट पर्नुपर्ने र उपचारको नाममा प्रयोगशाला बनेर बिरामी मर्नुपर्ने हो त ? चितवन मेडिकल कलेजमा उपचारमा यस्तै विभिन्न लापरबाही र गलत प्रयोगबाट बिरामीको ज्यान जाने गरेको गम्भीर आरोप सँधै लाग्दै आएको छ । 

गत दशैंको समयमा बिहान घरबाट मोटरसाइकल चढेर सिएमसीमा स्वास्थ्य जाँच गराउन गएका भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको सोही दिन जटिल हालतमा अस्पतालमा शंकास्पद रुपमा मृत्यु भएको घटनाले उग्ररुप लिएको थियो । उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीहरुकै लापरबाहीले रमेशको ज्यान गएको भन्दै पीडित परिवारजन र आफन्तहरुले अस्पतालमा प्रदर्शन गर्दा तोडफोड समेत भएको थियो । मृतक पक्षका केही आफन्तजन प्रहरीको हिरासतमा पुगे । मृतकका परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दिए पनि त्यसको टुंगो लागिनसकेको अवस्थामा हिजो बिहान एउटी अधबैंसे महिलाको पनि सिएमसीमा उपचारका क्रममा ज्यान गुमेको हो ।

देवदह–८, रुपन्देहीकी ४३ वर्षीया मनकुमारी क्षेत्रीलाई केही दिन अघिमात्र चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । बुटवलमा जचाउँदा किड्नीमा समस्या भएको बताइएपछि सुविधासम्पन्न अस्पतालमा सही निदान र राम्रो उपचारको आशमा भरतपुर ल्याइएको थियो । सिएमसीमा मनकुमारीको एउटा किड्नी खराब भइसकेको, अर्काे राम्रै रहेको र ड्यामेज भएको मृगौलालाई अप्रेसन गरी फ्याँकेपछि उनी ठीक हुने विश्वासमा गत आइतबार अप्रेसन गरिएको थियो । अप्रेसन गरेपछि जटिलता झन् बढेको र शरीर फुल्दै गएर हिजो बिहान ५ बजेतिर उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।  

तीन घण्टामा हुने भनिएको अप्रेसनलाई आठ घन्टा लगाउनुले नै उपचारप्रति शंका उब्जिएको मृतकका ज्वाइँ हरि ओझा बताउँछन् । मनकुमारीको उपचारमा सिकारु चिकित्सकहरु नै संलग्न भएको पीडित परिवारको आरोप छ । जानकारीरहोस्, सिएमसीमा दशैंमा मृत्यु भएका रमेश कुँवरका भाइ रामबहादुर कुँवर पहिले सीएमसीमै काम गर्थे । उनले पनि सिकारुहरुका कारण दाइको ज्यान गएको बताउँदै भनेका थिए, ‘यहाँका डाक्टर र नर्सहरुलाई म चिन्दिनँ र ?’ यहाँ उपचारका क्रममा ज्यान गुमाउने अरु मृतकका परिवार र आफन्तहरुले पनि उक्त अस्पतालको यस्तै कमजोर र लापरबाही बताउने गरेका छन् ।

मनकुमारीकी छोरी ‘डाक्टरले लापरबाही गर्यो, मेरो ममीलाई मार्यो’ भन्दै सिएमसीको अप्रेसन थियटर अगाडि पीडा र आक्रोशले रोेइकराइ गर्दै थिइन् । ‘अस्पतालमा आगो लगाउँछु, डाक्टरलाई पनि आक्रमण गरी मार्छु’ भनी मातृशोकमा छटपटाइरहेकी उनलाई त्यहाँ खटिएका प्रहरीले सम्हालिरहेका थिए । बचाउन ल्याइएकी श्रीमतीको अस्पतालमै ज्यान गएपछि मनकुमारीका श्रीमान् भीम

बहादुर लुइँटेल स्तब्ध देखिन्थे । उनी खासै बोल्न सक्ने अवस्थामा थिएनन् । मनकुमारीको उपचारमा सिएमसीमा करिब दुई–अढाई लाख रुपैयाँ खर्च भएको बताइन्छ । बिरामीको मृत्यु भएपछि अस्पतालले वार्डको केही हजार शुल्कचाहिँ छुट गरिदिएको बुझिन्छ । ‘मान्छेकै मृत्यु भइसकेपछि अब पैसाको त के कुरा भो र ?’, मलिन स्वरमा भीमबहादुरले भने ।  

टिप्पणीहरू