जनआस्था समाचार प्रभाव : पिसाबको चर्काे व्यापार बन्द

जनआस्था समाचार प्रभाव : पिसाबको चर्काे व्यापार बन्द

गत पुस ८ गते जनआस्थाको अनलाइन संस्करणमा ‘भरतपुरमा पिसाबै महँगो !’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । सार्वजनिक स्थलहरुमा सर्वसाधारणलाई मल–मूत्र विसर्जनका लागि सरकार र सार्वजनिक संस्थाहरुले नै निःशुल्क शौचालय व्यवस्था गरिदिनुपर्ने हो । तर देशका प्रमुख शहरहरुमै सार्वजनिक शौचालय व्यवस्थित छैनन् ।
 
दिसा–पिसाब समयमा गर्नु मानिसको नैसर्गिक अधिकार भएपनि कतै बाटोमा हिँड्दा च्याप्यो भने ट्वाइलेट खोज्दा भेट्नै मुस्किल छ । भेटिए पनि पैसा नतिरी सुख छैन । स्वेच्छिक शुल्क तिर्ने व्यवस्था रहेको सार्वजनिक शौचालय पनि यदाकदा मात्रै भेटिन्छन् । 

तर शहरबजारका प्रमुख चोक तथा गल्ली अनि बसपार्कहरुमा भेटिने सार्वजनिक शौचालयहरु प्रायः ठेक्कामै सःशुल्क चलाइएको पाइन्छ । पिसाब फेरेको पाँच रुपैयाँ र दिसा गरेको १० रुपैयाँ जहाँ पनि लिने गरिएकै छ । तर चितवनको भरतपुरस्थित चौबीसकोठीमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको जग्गामा बनाएको ठूलो व्यापारिक भवनमा पिसाबमात्रै फेरेको पनि १० रुपैयाँ असुल्ने गरिएको थियो । 

होटल–पसलमा आउने ग्राहकलाई व्यवसायीले नै सित्तैंमा शौचालय प्रयोग गर्न दिनुपर्ने हो । तर लगभग ४०–५० वटा सटर रहेको उक्त दुईतले व्यापारिक भवनको भुइँतलामा बनाइएका दुईवटा शौचालयमा मान्छे राखेर अनिवार्य पैसा उठाउने गरिएको थियो । त्यहाँका होटल–पसलमा आउने ग्राहक हुन् या बाटो हिँड्ने अन्य सबैसित शुल्क असुलेर मात्र दिसा–पिसाब गर्न दिइन्थ्यो । त्यो पनि तुरुक्क पिसाब फेरेकै १० रुपैयाँ ठटाएर अचाक्ली गरिएको खबर जनआस्थामा प्रकाशित भएपछि भरतपुर विमानस्थल प्रशासनले त्यहाँको शौचालयमा पैसा उठाउन बसेकालाई नै उठाइदिएको छ । अहिले त्यहाँ शौचालयमा शुल्क लिने गरिएको छैन । 

नागरिक उड्डयन प्राधिकरण भरतपुरले त्यस व्यापारिक भवन भाडामा चलाउन एउटा कन्स्ट्रसन कम्पनीलाई ठेक्कामा सुम्पिएको अवस्थामा शौचालयलाई समेत विशेष व्यापारिक अखडा बनाएर एउटा व्यक्तिलाई चलाउन दिइएको थियो । अहिले उक्त कन्स्ट्रक्सनसित उड्डयन प्राधिकरणको ठेक्का रद्द भइसकेको र त्यहाँ रहेका होटल–पसलहरुसित विमानस्थलले नै भाडा उठाउँदै आएको छ । अब त्यहाँका व्यापारी–व्यवसायी र होटल–पसलका ग्राहक सबैलाई शौचालय निःशुल्क उपलब्ध हुनेगरी व्यवस्था मिलाइएको बताउँदै भरतपुर एयरपोर्टका निमित्त प्रमुख दिपक विकेले भने, ‘ग्राहकले त निःशुल्क प्रयोग गर्न पाउनुपर्‍यो नि !’

जानकारीरहोस्, पुलचोकमा कैलाश पेट्रोल पम्पले आफ्नै जग्गामा चलाएको शौचालयमा समेत प्रयोगकर्ताहरुसित जबरजस्ती पैसा लिइन्न । सेवाग्राहीले चाहेमा स्वेच्छाले दिनसक्ने गरी बाकस राखिएको छ । पुलचोकमै भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पनि सशस्त्र प्रहरी र सर्वसाधारणका लागि खानेपानीको व्यवस्थासहित निःशुल्क सार्वजनिक शौचालय बनाइदिएको छ ।  यस्तै, आँपटारीमा पनि कसैलाई पैसा तिर्न अनिवार्य नहुने गरी सार्वजनिक शौचालयको व्यवस्था गरिदिएको खानेपानी व्यवस्थापन बोर्डले धेरै मानिसहरुको आवतजावत र चहलपहल भइरहने चौबीसकोठी, वीरेन्द्र क्याम्पसचोक, भरतपुर बसपार्क, मालपोतचोक, विशालचोकतिर पनि आम सर्वसाधारणका लागि सार्वजनिक शौचालय बनाइदिन चाहेको तर जग्गा पाउन नसकिएको बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् ।
 

यता, चितवन राष्ट्रिय निकुञ्ज जस्तो पर्यटकीय क्षेत्रभित्र समेत एउटा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा बिजोग छ । भरतपुर–माडी आउजाउ गर्ने बाटोमा जङ्गलभित्र यात्रुहरुलाई पिसाब फेर्न टिनले बारिएको ठाउँमा पिसाबको आहाल अनि असाध्यै दुर्गन्ध छ । ठूलाबडाहरुको नजर पुर्‍याउन केही दिनअघि ‘भरतपुर–माडीको शानदार चर्पी !’ भनेर ब्वबथ ब्वबथ नामको फेसबुक पोष्टमा त्यहाँको फोटो सार्वजनिक गरिएको छ । 

भरतपुरमा पिसाबै महँगो !

टिप्पणीहरू