डरलाग्दो अपराधीलाई सुन्दरी पत्रकारको दिल

डरलाग्दो अपराधीलाई सुन्दरी पत्रकारको दिल

भर्जिनिया भालेजो गार्सिया संयुक्त राज्य अमेरिकामा बस्छिन् । कोलम्बियाकी हुन् । लेखिका, पत्रकार, मिडियाकर्मी, टिभी उद्घोषिकाको रुपमा चर्चित । सन् २००६ मा ज्यान बचाउँदै देशबाट भागेर अमेरिकामा राजनीतिक शरण लिन पुगेकी हुन् । सन् २००७ मा उनीद्वारा लिखित पुस्तक ‘लभिङ पाब्लो, हेटिङ एस्कोबार’ प्रकाशन भयो । यसबाट कोलम्बियाको न्यायिक व्यवस्था, सन् १९८५ मा वामपन्थी छापामार सशस्त्र संगठन ‘एम १९’ ले त्यहाँको सर्वोच्च अदालत कब्जा गरेको घटना र सन् १९८९ मा राष्ट्रपतिका उम्मेदवार लुइस कार्लोस गालान हत्याकाण्डको चर्चा चुलियो । उक्त पुस्तक सर्वाधिक बिक्रीको सूचीमा प¥यो भने लगत्तै विश्वका १५ भाषामा अनुदित मात्र भएन सन् २०१८ मा यसैमा आधारित भएर चलचित्रसमेत बन्यो । उनी यतिखेर ७४ वर्षको उमेरमा पनि मायामीस्थित ‘इन्टरनेशनल आक्च्युएलिडाड आरटी’ च्यानलमार्फत पत्रकारिता गर्दै छिन् । उक्त च्यानल स्पेनिश भाषामा प्रशारण हुन्छ ।

भालेजो सम्पन्न परिवारमा जन्मेकी हुन् । परिवार मन्त्री, राजदूत, व्यापारी, लेखकहरूले भरिएको छ । कलेजको पढाइ सकेपछि राजधानी बोगोटास्थित स्कूलमा अंग्रेजी पढाउन थालिन् । यो सन् १९६९ को कुरा हो, जतिबेला उनी २० वर्षकी थिइन् । सोही साल बोरेरो कम्पनीका कार्यकारी अधिकृत फर्नाण्डो बोरेरो काइसिडोसित बिहे भयो । तर, दाम्पत्य जीवन २ वर्ष मात्र टिक्यो । फेरि सन् १९७८ मा डेभिड स्टिवेलसँग बिहे गरिन् र १९८१ मा छुट्टिइन् । त्योबेला कोलम्बियामा मात्र ३ वटा टेलिभिजन स्टेशन थिए । उनले तिनैको लागि कार्यक्रम बनाएर चलाउन थालिन् । एकपछि अर्को टीभी कार्यक्रम बनाउँदै, टेलिभिजन पत्रकारिता गर्दै गइन् । नाम र दाम कमाइन् । छोटो समयमै दक्षिण अमेरिकाभरिको चर्चित पत्रकार बनिन् । सन् १९८१ को जुलाईमा बृटेनका युवराज (वर्तमान राजा) चाल्र्स र डायनाको वैवाहिक समारोहको रिपोर्टिङ गर्न बेलायत जान पाएकी उनी एक्लो कोलम्बियन पत्रकार हुन् । त्योबेला जो आफ्नै रेडियो स्टेशन ‘क्याराकोल’ चलाउँथिन् ।

पाब्लो एस्कोबार कोलम्बियाई कुख्यात ब्यापारी र ड्रग्स मालिक हुन् । उनी कुनै बेला ‘संसारकै सबैभन्दा ठूलो अपराधी’ थिए, सायद आजसम्मकै सबैभन्दा धूर्त कोकिन व्यापारी पनि । विश्व इतिहासको सबैभन्दा धनी र सफल अपराधी उनलाई १९८९ मा फोब्र्स पत्रिकाले विश्वको सातौं धनी व्यक्ति घोषित गरेको थियो, जसको अनुमानित व्यक्तिगत सम्पत्ति ३० अर्ब अमेरिकी डलर थियो । १९८६ मा राजनीतिमा प्रवेश गर्ने प्रयास गरेका उनले, देशको १० अर्ब डलर राष्ट्रिय ऋण तिरिदिने घोषणासमेत गरेका थिए । भनिन्छ, एकपटक यात्रामा चिसोबाट बच्न २० लाख डलर बराबरको बैंक नोट जलाएर कोठा न्यानो पारेका थिए । कोलम्बियाको रियोनेग्रो (कालो नदी)मा जन्मे र त्यहीँकै अर्को शहर मेडेलिनमा हुर्केका उनको परिवार गरीब थियो । किसान बुबा र शिक्षक आमाका ७ मध्येका तेस्रो सन्तान थिए उनी ।

सन् १९८२ मा पाब्लोले अन्तर्राष्ट्रिय स्तरमै कुख्याति कमाइसकेका थिए । घूस र धम्की व्यापारको आधारशिला थियो । उनी आफूअनुकूल सरकारी नियममा संशोधन गराउँथे । सरकारसँग भिड्ने आफ्नै कला थियो ‘प्लाटा ओ प्लोमो’ (घूस स्वीकार अन्यथा गोली खाऊ) । उनको यही नीतिका कारण सयौं सरकारी कर्मचारी, प्रहरी, नागरिकले ज्यान गुमाए । उनले लागुपदार्थ ओसारप्रसार र बिक्रीलाई सहज बनाउन सयौं सरकारी अधिकारी, न्यायाधीश र राजनीतिज्ञलाई घुस्याहा बनाए । यहाँसम्म कि पछि राष्ट्रपति पदका उम्मेदवार लुइस कार्लोस गालानको हत्यासम्म गरे, एभियन्का फ्लाइट २०३ विमानमा बम हाने, बोगोटास्थित सुरक्षा मुख्यालयलाई बम हानेर ध्वस्त पारे । लागुपदार्थको कारोबार गर्ने व्यापारी र प्रहरीबीच सशस्त्र युद्ध छेडे । उनीमाथि आरोप त यतिसम्म पनि छ कि सन् १९८५ मा न्यायाधीशहरू बैठक बसिरहेको बेला सर्वोच्च अदालतमा वामपन्थी छापामार संगठन ‘एम १९’ का छापामारहरूले अन्धाधुन्द गोली प्रहार गर्दा उक्त समूहको नेतृत्व उनैले गरेका थिए । जुन घटनामा त्यहाँ उपस्थित आधा न्यायमूर्तिको ज्यान गएको थियो । 

सन् १९८२ मा लिबरल दलको महाधिवेशनमा प्रतिनिधि बनेर भागसमेत लिए । सोही सिलसिलामा आयोजित एउटा रात्रिभोजमा पत्रकार भालेजोसँग जम्काभेट भयो । उक्त रात्रिभोज पाब्लोकै निजी निवास ‘हासिएन्डा नेपोल्स’मा भएको थियो । राजधानी बोगोटाबाट २४९ किमी उत्तरीपश्चिममा पर्ने पुएर्टो ट्रउन्फोमा अवस्थित उनको उक्त आवास २० वर्ग किमिमा फैलिएको थियो । रात्रिभोजमा सामान्य कुराकानीपछि भालेजो पाब्लोको ब्यक्तित्वबाट प्रभावित बनिन् । मनै मनले प्रेम गर्न थालिन् । त्योबेला भालेजोको दोश्रो बिहे पनि असफल भइसकेको थियो भने पाब्लो विवाहित मात्र होइन, दुई सन्तानको पिता बनिसकेका थिए । उनको बिहे २७ छँदा १५ वर्षकी प्रेमिका मारिया भिक्टोरिया हेनाओसित सन् १९७६ मा भएको थियो । सन् १९८२ मा पहिलोपटक भेट्दा पाब्लो र भालेजोको उमेर समान अर्थात् ३४ थियो । हिंसात्मक गतिविधिमा लागेका र कुख्यात भन्ने थाहा पाउँदापाउँदै पहिलो भेटदेखि नै एकतर्फी प्रेम गर्न थालेकी भालेजो आफ्नो टेलिभिजन कार्यक्रमको लागि अन्तर्वार्ता लिन हतारिइन् । खासमा पाब्लोको मिलनसार ब्यक्तित्व र हँसिमजाक गर्ने बानी देखेर भुतुक्कै बनेकी थिइन् । अन्तर्वार्ताको लागि पाब्लोलाई फोन गरिन् । कहिल्यै त्यसरी कुनै पनि मिडियालाई अन्तर्वार्ता दिन नमान्ने पाब्लोले त्यो दिन भालेजोको प्रस्तावलाई नाइँ भन्न सकेनन् र आफ्नै निवासमा बोलाए । कम्पाउण्डभित्र फोहोरको थुप्रोमा बसेर अन्तर्वार्ता लिने र दिने काम भयो । यो पाब्लोको जीवनकै पहिलो अन्तर्वार्ता थियो । पाब्लोलाई दक्षिण अमेरिकालगायत मेक्सिको र अमेरिकाका जनताले कुख्यात लागुपदार्थ व्यापारीको रूपमा चिनेका थिए । अझ भनौं नाउँ मात्र सुनेका थिए तर भालेजोले उनलाई सार्वजनिक मात्र गरिदिइनन्, असल र परोपकारी ब्यक्तिको रूपमा समेत प्रस्तुत गरिदिइन् ।

यसपछि अन्तर्वार्ता दिने र लिने दुबै नजिकिँदै गए । एस्कोबारलाई पनि भालेजो राम्री र मायालु लाग्न थालिन् । उनले आफ्ना सहयोगीलाई ‘म उनलाई मन पराउन थालें, भेट्ने व्यवस्था मिलाऊ’ भन्दै गए । चाँडै ‘भेट्न चाहेको’ खबर पठाए । भालेजो पाब्लोको यही निम्तोको प्रतीक्षामा थिइन् । त्यसैले सहर्ष स्वीकारिन् र पाब्लोको निवास पुगिन् । यसरी दुबै जना प्रेमी प्रेमिका बने । भालेजोले हिंसात्मक गतिविधिमा संलग्न र विश्वभरि कुख्याति कमाइरहेको पाब्लोको ब्यक्तित्व र चरित्रको कुनै परवाह गरिनन् । तन र मन समर्पित गर्दै गइन् । पाब्लोको बाह्य तस्बिर जति नै खुंखार भए पनि यथार्थमा उनी कति मिलनसार, विनोदी र मायालु थिए भन्ने सविस्तार ब्याख्या उनले आफ्नो पुस्तकमा गरेकी छन् । उनको पुस्तकमा आधारित भएर बनाइएको चलचित्रमा पाब्लोको भूमिका हाभियर बार्देम र भालेजोको भूमिका सुप्रसिद्ध अभिनेत्री पेनेलोप क्रुजले निभाएकी छन् । चलचित्र ‘लभिङ पाब्लो (मायालु पाब्लो)’ सन् २०१७ मा प्रदर्शित भएको हो । भेनिस र टोरन्टो चलचित्र महोत्सवमा समेत देखाइएको अनि १ करोड ४६ लाख युरोमा निर्मित यो फिल्म पहिला स्पेनिस र पछि अंग्रेजी भाषामा प्रदर्शन गरिएको थियो । भालेजो पाब्लोलाई साँचो अर्थमा प्रेम गर्थिन् । पाब्लो पनि भालेजोलाई प्रेम त गर्थे तर प्रेमभन्दा पनि सार्वजनिक तवरमा आफ्नो छवि सुधार्न भालेजोलाई प्रयोग गरे भन्नेहरू धेरै छन् । उनले गरेको यो प्रयास धेरै हदसम्म सफल रह्यो पनि । भालेजोले आफ्नो असल पत्रकारको राम्रो छविलाई दाउमा राखेर पाब्लोसित प्रेम गरेकी थिइन्, यसवापत उनले ठूलै आलोचना खेप्नु प¥यो । उनले अन्तर्वार्ता र लेखहरूमा भनेकी थिइन्– पाब्लो कोलम्बियाको त्यस्ता एक मात्र धनी व्यक्ति हुन्, जो गरिबका लागि धन लुटाउँछन्, परोपकारी काम गर्छन् नत्र यहाँका धनीहरू त गरिबलाई एक टुक्रा रोटी दिन पनि कन्जुस्याइँ गर्छन् ।’

पाब्लो र भालेजोको प्रेम ५ वर्षसम्म चल्यो । जब, पाब्लोले आफ्नी प्रेमिकाको आफू एक्लो प्रेमी नरहेको भन्ने थाहा पाए, सम्बन्धमा चिसोपन आयो । त्यसपछि पाब्लोले चौकीदारलाई भालेजोलाई गेटभित्र छिर्न नदिन आदेश जारी गरे । धेरैपटक भालेजो गेटबाहिर कुरेर बसिन् । सन् १९८७ मा त उनीहरूको ब्रेक–अप नै भयो । ५ वर्ष लामो सम्बन्धमा भालेजो पाब्लोको लागुपदार्थको कालो ब्यापारमा अभिन्न सदस्य बनिसकेकी थिइन् । जब पाब्लोसितको सम्बन्ध टुट्यो उनले यो धन्दाको पर्दाफास गर्न थालिन् । नतिजा, उनको ज्यान खतरामा पर्दै गयो । र, अन्त्यमा सन् २००६ को जुलाईमा देश छाड्न बाध्य भइन् । पाब्लोको सन् १९९३ को डिसेम्बर २ मै प्रहरीसित भएको मुठभेडमा हत्या भइसकेको थियो । उनी ४४ वर्षका थिए । भालेजोले अमेरिका टेक्नेबित्तिकै राजनीतिक शरणका निम्ति निवेदन दिइन् । निवेदनमा कोलम्बिया फर्केमा आफू मारिने पक्का भएको उल्लेख गरेकी थिइन् । अमेरिकी सरकारले पनि सजिलै उनलाई शरण दिन मान्यो ।
 

टिप्पणीहरू