श्रीलंकामाझैं बंगलादेशमा पनि भारतीय सैन्य जहाजको भव्य स्वागत

श्रीलंकामाझैं बंगलादेशमा पनि भारतीय सैन्य जहाजको भव्य स्वागत

बंगलादेश–भारत तटरक्षकबीचको सहकार्यमा भारतीय तटरक्षक गार्डका दुई जहाजलाई त्यहाँको बन्दरगाह चटगाउँमा भव्य स्वागत गरिएको छ । दुई देशका तटीय गार्डहरूबीच जारी घनिष्ठ सहयोग र सम्बन्धको रूपमा छ दिने भ्रमणमा भारतीय तटरक्षक गार्डका दुई जहाज चटगाउँ पुगेको बखत उक्त स्वाग गरिएको बताइएको छ ।

गत शुक्रबार इन्डियन कोष्ट गार्ड शौर्य र राजवीरलाई चटगाउँ बन्दरगाहमा बंगलादेशको तटरक्षक बलले न्यानो स्वागत गरेको ढाकास्थित भारतीय उच्चायोगले जनाएको छ । इन्डियन कोस्ट गार्ड शौर्य प्राविधिक रुपले सुसम्पन्न गस्ती जहाज भएको भारतीय दाबी छ । त्यो गोवा शिपयार्ड लिमिटेडद्वारा डिजाइन र निर्माण गरिएको हो । त्यसमा चेतक र विकसित लाइट हेलिकप्टर सबै उडान र अवतरण गर्न सक्छन् । 

इन्डियन कोस्ट गार्ड राजवीर गार्डेन रिच शिपबिल्डर्स, कोलकाताद्वारा डिजाइन र निर्माण गरिएको गस्ती जहाज भएको भारतीय पक्षले बताएको छ । यसमा उच्चस्तरका नेभिगेसन र संचार उपकरण, सेन्सर र अन्य उपकरणहरू जडान गरिएका छन् । 

गत आइतबार भारतीय नौसेनाको जहाज आईएनएस दिल्ली श्रीलंकासँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले त्रिंकोमाली बन्दरगाह पुगेको थियो । दुई दिने आधिकारिक भ्रमणमा श्रीलंकाको उत्तरपूर्वी बन्दरगाह सहर त्रिन्कोमाली पुग्दा श्रीलंकाली नौसेना अधिकारीहरूले जहाजलाई स्वागत गरेका थिए ।

टिप्पणीहरू