विमान दुर्घटना हुनुमा क्यानको चाहिँ कमि कमजोरी नै छैन त ?

विमान दुर्घटना हुनुमा क्यानको चाहिँ कमि कमजोरी नै छैन त ?

हिजो बिहान पोखरामा एकदमै डरलाग्दो दुर्घटना भयो । चार सदस्यीय क्रु टीमसहित ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको एटिआर ७२ जहाज सेती खोंचमा दुर्घटनामा पर्यो । बिहान १० बजेर ५७ मीनेटमा जहाजलाई अवतरण अनुमति दिइएको थियो । 

एकाध मीनेटमा जहाज ल्याण्ड भइसक्नुपर्ने थियो तर त्यसो भएन । भर्खरै मात्र उद्घाटन गरिएको नयाँ विमानस्थलमा धावनमार्गको पूर्व र पश्चिम दुवैतर्फबाट विमान उडान र अवतरण गर्न सकिने सुविधा छ तर अघिल्लो उडान पूर्वबाटै अवतरण गराएको चालक दलले यो रुट पनि प्रयोग गरी हेरौं न त भनेर यसपटक भने पश्चिमतिर मोडेको देखिन्छ । आकस्मिक योजना परिवर्तनका कारण गति र उचाइ नमिलेर उक्त दुर्घटना भएको हुनसक्छ । 

को पाइलट अन्जु खतिवडालाई क्याप्टेनको सीटमा राखेर क्याप्टेन कमल केसीले प्रशिक्षण दिने क्रममा भएको उक्त उडानको रुट परिवर्तन गरिएको थियो ।

झण्डै एक सय घण्टा जहाज उडाएकी खतिवडाले यसअघि पनि पूर्वी नेपाललगायत थुप्रै ठाँउमा सफल उडान भरिसकेकी थिइन् । केसीले सानो जहाजको कमाण्ड गरिसकेकी खतिवडालाई एटिआरको क्याप्टेनमा पास गराउने अन्तिम प्रशिक्षण दिइरहेका थिए । हिजोको उडानपछि उनले यसमा क्लियरेन्सको प्रमाणपत्र पाउने थिइन् तर दुर्भाग्यबस् जहाज दुर्घटनामा पर्यो । 

"सरकारले अबदेखि सबै जहाजको प्राविधिक जाँच गराएर मात्र उड्न दिनु भन्नुको मतलब कब हो ? यसको अर्थ त नियामक निकाय क्यानका पदाधिकारीले पैसा खाएर जस्तो जहाज पनि उडाउन दिने गरेका रहेछन् भन्ने ब्यहोरा स्वीकारेको भएन र ?"

विमान दुर्घटनाबारे जाँचबुझ गर्न सरकारले छानबिन समितिसमेत गठन गरिसकेको छ । यता आज शोक बिदा पनि दिइएको छ । यसअघि पनि नेपालमा थुप्रै विमान दुर्घटना भएका छन् । हिजो भएको दुर्घटना भने नेपालको आन्तरिक उडानमा हालसम्मकै सबैभन्दा ठूलो हो । 

विमानमा यात्रा गर्न एकदमै जोखिम छ । विडम्बना,यस्तो संवेदनशील विषयलाई सरकारले हल्का रूपमा लिएको छ । छानबिन समिति खडा गरेर प्रतिवेदन बुझाउनबाहेक खासै केही प्रगति हुन सकेको छैन । विमान दुर्घटना हुनुपछाडि धेरै कारण हुने गर्दछन्,जसलाई हेलचेक्र्याईं गरिएको छ । 

पुरानो,मर्मत सम्भार नभएका विमानहरु सञ्चालनमा छन् । विमानस्थलमा आधुनिक उपकरणको अभाव,कुशल पाइलट र प्रशिक्षणको कमि दुर्घटनाको प्रमुख कारण हो । यो दुर्घटनासंगै विमानको अवस्था र पाइलटलाई दिइएको तालिममा प्रश्न उठेको छ । 

विदेशी पाइलटहरुले विमानस्थलको म्यापबारे थाहा नभएपनि आकस्मिक अवतरण गराइरहेका हुन्छन् । कहिल्यै अवतरण नगरेको विमानस्थलमा कम्प्युटर र राडारको सहायताले ल्याण्ड गराउनुपर्ने हुन सक्छ । तर,नेपाली पाइलटले निरन्तर विमान उडाइरहेको रुटमा पनि गल्ती गरिदिन्छन् जसले गर्दा अकल्पनीय मानवीय क्षति हुन जान्छ ।

यति एयरको विमानमा बारम्बार खराबी देखिएको छ । विभिन्न पार्टपुर्जामा समस्या आइरहन्छ । यसअघि पनि ढोका नलागेर विमान चढिसकेका यात्रुलाई ओराल्नुपरेको थियो । त्यस्तै,चक्का र इन्जिनमा पनि समस्या देखिरहन्छ । 

यस्तो हुँदासम्म पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजको अवस्थाबारे चेकजाँच नै नगरिकन सञ्चालन गर्न दिइरहेको छ । ‘क्यानको मर्मतको पाटो एकदमै पञ्चर छ । जहाजको अवस्था कस्तो छ हेर्दै हेर्दैन’, स्रोतले भन्यो,‘सुरक्षामा क्यानको धेरै कमिकमजोरी छ । क्यानले यात्रुको सुरक्षामाथि गम्भीर लापरवाही गर्दा नै यो दुर्घटना भएको हो ।’श्रोत भन्छ-"सरकारले अबदेखि सबै जहाजको प्राविधिक जाँच गराएर मात्र उड्न दिनु भन्नुको मतलब कब हो ? यसको अर्थ त नियामक निकाय क्यानका पदाधिकारीले पैसा खाएर जस्तो जहाज पनि उडाउन दिने गरेका रहेछन् भन्ने ब्यहोरा स्वीकारेको भएन र ?

टिप्पणीहरू