गृहमन्त्राणीज्यूको नयाँ चलन

गृहमन्त्राणीज्यूको नयाँ चलन

देशमा गृहमन्त्री मात्र होइन, गृहमन्त्राणी पनि नयाँ आउनुभएको छ । अहिले गृहमन्त्राणीका गतिविधिहरू पनि चर्चामा छन् । जस्तो गृहमन्त्राणीको जन्म दिन, गृहमन्त्राणीको ब्याग, गृहमन्त्राणीको जुत्ता आदि आदि । भर्खरै मात्र गृहमन्त्राणीज्यूले जन्मदिन मनाउनुभयो । त्यो समाचारमा आइहाल्यो । पहिले पहिले पञ्चायतकालमा बडा महारानी, युवराज्ञी, अधिराजकुमारी आदि आदिको जन्मदिन सम्बन्धी समाचारहरू आउने गर्थे ।

अहिले त्यस्तो समाचार आउन छाडे । बरु गृहमन्त्राणीको जन्मदिनबारे समाचार आउन थाले । आखिर रानी, महारानीका समाचारहरूको अभाव पूर्ति त कहीं न कहींबाट हुनै पर्दथ्यो । त्यो मजाले भएको छ । आफ्नो जन्मदिनमा गृहमन्त्राणीले दही काट्नुभएको रहेछ । वाह ! कति राम्रो । नयाँ चलन रे । केक् काट्ने होइन, अब दही काट्ने ।

अस्ति मन्त्री क्वार्टर प्रवेश गर्दा कालो बोका काटियो । कालो बोका काट्दा मन्त्री र मन्त्राणी दुवै सँगै । त्यहाँचाहिँ कुनै नयाँ चलन ल्याइएन । बोका पहिला काटिन्थ्यो, अस्ति पनि काटियो । त्यहाँ पनि कुनै नयाँ चलन ल्याएको भए कमसेकम एउटा बोकाको ज्यान त बच्थ्यो ! केक काट्दा नयाँ चलन, बोका काट्दा पुरानै चलन ?
 

टिप्पणीहरू