फुटबलमा गोल, केटीहरुसँग भद्रगोल

फुटबलमा गोल, केटीहरुसँग भद्रगोल

सन् २०२२ मा भएका धेरै महत्वपूर्ण घटनामध्ये एउटा हो, फुटबलका बादशाह पेलेको निधन । फुटबल उनैको प्रवेशपछि हो सर्वाधिक रुचिको खेल बनेको । ब्राजिलले विश्वकप ५ पटक जित्दा ३ पटक त उनैको खेल कौशलको कारण सम्भव भयो । स्मरणीय छ, आजपर्यन्त ब्राजिलको रेकर्ड कसैले तोड्न सकेको छैन । पेलेले २१ वर्षको करियरमा कूल १३६३ प्रतियोगिता खेले जसमा १२८३ गोल गरे । ब्राजिलतर्फबाट ९२ अन्तर्राष्ट्रिय गेम खेलेमध्ये ७७ वटा गोल गर्न सफल भए । जम्माजम्मी ४ वटा विश्वकप खेले र ३ वटामा आफ्नो देशलाई ट्रफी नै दिलाए । उनले विश्वकपमा १२ गोल गरेका थिए ।

फुटबलकै कारण ‘कालो मोती’ उपनाम पाएका पेलेको जीवनीलाई लिएर अनेकन मिथकसमेत बनेका छन् । पेले जन्मेको साल १९४० देखि मात्र ब्राजिलमा बिजुली बत्ती बल्न शुरु भएको हो । त्यसैले विद्युतीय चिमको आविष्कार गर्ने उनै थोमस एल्बा एडिसनबाट प्रभावित बनी उनका आमाबुबाले छोराको नाउँ राखे– एडसन अरान्टेस डो नासिमेन्टो । तर, गरिब परिवारमा जन्मेका उनलाई आमाबुबाले ‘डिको’ भनेर बोलाउँथे । आफ्नो नाम पेले कसरी रहन गयो भन्नेबारे उनी आफँैलाई थाहा छैन । त्यो बेला भास्को डिगामा नामक एउटा फुटबल टिम थियो । टिमका निकै चर्चित गोलरक्षक थिए– बिले । सन् १९२१ – २२ सम्म दक्षिण अमेरिकाका प्रायः सबै मुलुक स्पेनको उपनिवेश थिए । तर, ब्राजिल भने पोर्चुगलको अधिनमा थियो । त्यसैले पोर्चुगिज त्यहाँ सरकारी कामकाजको भाषा बन्न पुग्यो । पेलेले आफ्नो नाउँको अर्थ के होला भनेर पोर्चुगिजको शब्दसंग्रह पल्टाए तर भेटेनन् । बिले भने हिब्रु भाषा हो भन्ने जाने । बिलेको अर्थ उक्त भाषामा ‘चमत्कारी’ हुने रहेछ । कुशल गोलकिपर भएकै कारण भास्को डी गामा टिमको खेलाडीलाई सबैले ‘बिले’ भन्न थालेको र बिलेजस्तै कुशल खेलाडी भएकाले डिकोलाई साथीहरूले जिस्केर पेले भन्न थालेको उनको भनाइ छ । 

पेलेका बुबा फ्लुमिनेन्स फुटबल खेलाडी नै थिए तर गरिबीका कारण पछि सफाइ मजदुरको पेशा अपनाए । पेले साओ पाउलोको बोरूमा हुर्के । सानैमा चिया पसलमा काम गरे । बच्चैदेखि फुटबलका सोखिन थिए तर बल किनेर खेल्ने सामथ्र्य थिएन । त्यसैले मोजाभित्र कागजका टुक्रा भर्थे, मोजाको मुखलाई डोरीले बाँधेर डल्लो बनाउँथे र नांगै खुट्टाले खेल्थे । उनको कौशल असाधारण थियो, त्यसैले १५ वर्षकै उमेरमा सन् १९५६ मा सान्तोस टिमले खेल्ने अवसर प्रदान ग¥यो । त्यसैबेला सो टिमका प्रशिक्षकले पेलेलाई भविष्यमा फुटबलको महान् खेलाडी बन्ने ठोकुवा गरेका थिए । उनले सान्तोस क्लबमा १८ वर्ष बिताए । कूल ६५९ गेम खेले र ६४३ वटा गोल गरे । २१ पटक क्लबलाई विजेता बनाए । उनले पहिलो विश्वकप सन् १९५८ मा खेले र पहिलो कोसिसमै ट्रफी उचालेका थिए । उनी सम्मिलित भएर पनि विश्वकप जित्न नसकेको सन् १९६६ मा मात्र हो । इंग्ल्याण्डमा सम्पन्न उक्त वर्षको कप इंग्ल्याण्डले नै जितेको थियो । अन्तर्राष्ट्रिय फुटबल संघ फिफाले ‘महान खेलाडी’ घोषित गर्नुका साथै पेलेले जीवनमा यति धेरै सम्मान र अवार्ड जितेका छन् कि सायद यति धेरै अरु कसैले हात पारेका होलान् । फिफाले उनलाई ६ पटक वर्ष खेलाडी घोषित गरेको थियो ।

केटाकेटीमा सडकछेउ बिजुलीको खम्बामा बाल्न राखिएका चिम फुटाउँदै हिँड्ने पेलेको जीवनकथा पनि रोचक छ । उनको प्रथम बिहे प्रेम विवाह हो । रोजमेरी डोस राइस चोल्बीका पिता पेलेका परिचित व्यक्ति थिए । लामो समयको प्रेमालापपछि सन् १९६६ मा उनीहरूको बिहे भयो । त्यसबेला पेले २६ र रोजमेरी २४ का थिए । पहिलो सन्तान छोरी भइन्– केल्ली । सन् १९७० मा पेले छोरा एडिन्होको पिता बने । पछि परिवारसहित अमेरिका गए र सन् १९७५ मा न्युयोर्कमा बस्न थाले । न्युयोर्क बसाइको क्रममा उनी निकै व्यस्त भए । प्रायः समय विदेश भ्रमणमै बित्न थाल्यो । यसै क्रममा कहिले को कहिले को महिलासँग सम्बन्ध जोडियो । अति भएपछि रोजमेरीले आपत्ति जनाइन् । दम्पतीबीच कलह शुरु भयो । मनमुटाव भए पनि बेलाबेलामा भेट्थे र समय गुजार्थे । सन् १९७८ मा रोजमेरी पुनः छोरी जेनेफरको आमा बनिन् । सन् १९६८ मा पेलेले पत्रकार लेनिटा क्रुत्जलाई प्रेमिका बनाए । लेनिटाले पेलेलाई छोरी फाल्विया क्रुत्जको बाबुसमेत बनाइदिइन् । यसैबीच सन् १९८० मा पेलेको मारिया डा ग्रासा सुसा मेनेघेलसँग एउटा पत्रिकाको कार्यालयमा भेट भयो । सुसाको पुर्खा इटली, पोलिस, जर्मन र स्वेडिस मिश्रित जातिका थिए । तर, १८ औं शताब्दीमै जिज्यूबुबा ब्राजिल छिरिसकेका थिए ।

सुसाले १५ वर्षकै उमेरमा मोडलिङ शुरु गरेकी थिइन् । प्लेब्वाय र फोर्ड पत्रिकामा उनको फोटो प्रकाशन हुन थालिसकेको थियो । र, छिट्टै सेक्स सिम्बोलको रूपमा चर्चित बनिन् । उनी न्युयोर्क शहरमा बसेर मोडलिङ गर्दै थिइन् । यसबीच ब्राजिलको पुरानो साप्ताहिक पत्रिका ‘मेन्चेट’ले उनलाई अनुबन्ध ग¥यो । उक्त पत्रिकाका लागि फोटो खिचाउन साओ पाउलोमा आइपुग्दा स्टुडियोमै उनको भेट पेलेसित भयो । त्यो बेला पेले ४० का भइसकेका थिए भने सुसा मात्र १७ की थिइन् । तर, सुसा वयस्क नभइसकेको र दुबै जनाबीच उमेरको ठूलो अन्तर भए पनि उमेरले सम्बन्धलाई छेकबार लागेन । पेले त कम उमेरकी युवती भनेपछि हुरुक्क हुने खेलाडी थिए । त्यो बेला उनी टिभी उद्घोषिका तथा मोडल लुइसा ब्रुनेटसँग लागेका थिए तर छिट्टै लुइसा विवाहिता भएको थाहा पाए र उनलाई छाडेर सुसासँग नजिकिए । एक जना फुटबलका महान् हस्ती, अर्की चर्चित मोडल, त्यसैले उनीहरूको सम्बन्ध धेरै दिन गोप्य रहन सकेन । सुसासितको सम्बन्धको कारण पेलेले निकै बदनामीसमेत कमाए । सुसा र आफ्नो लोग्नेको अनैतिक सम्बन्धले  अमेरिका र ब्राजिल पूरै तातेपछि रोजमेरीसँग पेलेको सम्बन्धमा पुनः तिक्तता आयो । र, दुबै जना कानुनीतवरमै सन् १९८२ मा अलग्गिए ।

सुसा र पेलेको सम्बन्ध पनि धेरै दिन टिकेन । सन् १९८६ मा समाप्त भयो । पछि सुसाले पत्रकारिता, टिभी उद्घोषण, चलचित्रमा अभिनय, गायन र ब्यापारमार्फत नाम र दाम कमाइन् । उनी इटलीमा बस्छिन् । सुसा पछि पेलेको जीवनमा ब्राजिलकी गायिका तथा मनोचिकित्सक अस्सिरिया लेमोस सिसासले प्रवेश गरिन् । सन् १९९४ मा दुबैले बिहे गरे । सिसासको पनि यो दोस्रो बिहे थियो । बिहे गर्दा पेले ५४ र सिसास ३४ का थिए । पछि दुबैबाट २ छोरी जन्मे । उनीहरू पनि १२ वर्षपछि छुट्टिए । यसपछि पेलेको जीवनमा ब्राजिलकी व्यवसायी मार्सिया सिबेल आइकीले प्रवेश पाइन् । बिहीबार ८२ वर्षको उमेरमा पेलेको निधन हुँदा सिरानीमा उनै मार्सिया थिइन् । सन् २०१६ मा बिहे गरेकी उनी पेलेभन्दा २६ वर्षले कान्छी छिन् । मार्सियाकी आमा जापानी हुन् भने बाबु ब्राजिलियन । पेले उनको पनि दोस्रो लोग्ने थिए ।

रोजमेरीसँग भेट हुनुअघि नै सन् १९६४ ताका पेलेको नोकर्नी अञ्जिया माचाडोसित सम्बन्ध थियो । र, पेलेको तर्फबाट अञ्जिया एउटी छोरी (सान्द्रा रेजिना) को आमासमेत बनिन् । कालान्तरमा अञ्जियाले छोरीलाई स्वीकार्न पेलेमाथि दबाब दिन थालिन् । तर, पेलेले सान्द्रा आफ्नो सन्तान नभएको जिकिर गर्दै गए । वयस्क भएपछि सान्द्रा आफैँले पेलेबिरुद्ध अदालतमा मुद्दा हालिन् । डिएनए टेष्टले पेले सान्द्राको बाबु नै भएको प्रमाणित भयो तैपनि पेले सान्द्रालाई छोरी मान्न तयार भएनन् । सान्द्राको अकस्मात् सन् २००६ मा निधन भयो । मुद्दा जिते पनि उनले हर्जानाको रकम पाउन सकेकी थिइनन् । पेलेका ३ पत्नी र अन्य महिलाबाट गरी कूल ७ सन्तान छन् ।
 

टिप्पणीहरू