सैनिक शासनलाई नेपालको मान्यता ? राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश फिर्ता लिन विदेशबाट आग्रह

सैनिक शासनलाई नेपालको मान्यता ? राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश फिर्ता लिन विदेशबाट आग्रह

म्यान्मारको सैनिक ‘जुन्ता’ सरकारलाई नेपालले मान्यता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘कू’ मार्फत् नागरिक सत्ता हत्याएको सैनिक सरकारलाई मान्यता दिनुभएको छ । प्रजातन्त्रवादी नागरिकले बहिष्कार गरेको म्यान्मारको ७५औँ स्वतन्त्रता दिवसमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डले सैनिक तानाशाहलाई शुभकामना सन्देश पठाउनुभएको छ ।

नेपाल सरकारको तर्फबाट पठाइएको सन्देशमा म्यान्मारमा बन्दुकको आडमा शासन चलाइरहेका सैन्य नेता जेनरल मिन आङ ह्लाइङको स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । सैन्य ‘कू’ यता सरकारद्वारा प्रदर्शनमा उत्रिएका तीन हजारभन्दा बढी प्रजातन्त्रवादी नागरिकको हत्या गरिसकेको छ । 

हजारौं बर्मेलीलाई सेनाले जेलमा थुनेको छ । म्यान्मारमा ‘प्रजातन्त्र र स्वतन्त्रता’ खोसेर शासन सत्ता चलाइरहेको सैनिक सरकारलाई ‘स्वतन्त्रता दिवस’मा नेपालसहित रुस र कम्बोडियाले शुभकामना सन्देश पठाएका छन् । 

म्यान्मार निकट मानिएको चीन र छिमेकी देश भारतले समेत यस पटक म्यान्मारको सैनिक सरकारलाई बहिस्कार गरेको बर्मेली–नेपालीहरूले बताएका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डले सैन्य सरकारलाई मान्यता दिएपछि त्यहाँका जनताले खेद प्रकट गर्दै दुःख व्यक्त गरेको बताइन्छ । उनीहरूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशसमेत फिर्ता लिन आग्रह गरेका छन् ।

टिप्पणीहरू