पृथ्वीनारायण शाहलाई मान्नु— के हो, के हैन

पृथ्वीनारायण शाहलाई मान्नु— के हो, के हैन

– श्याम रिमाल

– पृथ्वीनारायण शाहलाई मान्नु भनेको ज्ञानेन्द्र, पारस वा हृदयेन्द्र शाहलाई मान्नु हैन ।
– पृथिवीनारन शालाई माला लाउनु भनेको वंश परम्पराको राजा पुनःस्थापना गर्नु हैन ।
– पृथ्वीनारनलाई श्रद्धाञ्जलि गर्नु भनेको हिन्दू धर्मको राज्य मान्नु हैन ।
– पिरिथिवी नारान शाहालाई मान्नु भनेको केन्द्रीकृत सरकार ल्याउनु हैन ।
– पिरथिवीनारानलाई मान्नु भनेको एकल नश्लीय राज्य व्यवस्था थोपर्नु हैन ।

– पिर्थिवीनारन सालाई मान्नु भनेको खस राज्य वा खसआर्य नेपाल पुनःस्थापना होइन ।
– पृथ्वीनारान सालाई ढोग्नु भनेको पारिवारिक राज्य प्रणाली भित्र्याउनु हैन ।
– पृथ्वीनारान साहलाई मान्नु भनेको उनको मूर्ति पूजा गर्नु होइन ।
– पृथिवीनारायण शालाई मान्नु भनेको जुलुस, भीड, जयजयकार, तुल, ब्यानर, झाँकी र तस्वीर प्रदर्शन, रुद्राक्ष माला भिराइ, गेरुवस्त्र धारण होइन ।
– पृथ्वीनारनलाई मान्नु भनेको मण्डलेतन्त्र भित्र्याउनु हैन ।
पृथ्वीनारायण शाहलाई मान्नु भनेको
– पिता–पितृ–पुर्खालाई मान्नु हो ।
– अभिभावकलाई मान्नु हो ।
– पूर्वजप्रति कृतज्ञता ज्ञापन हो ।
– राज्यनिर्मातालाई मान्नु हो ।
– राष्ट्रिय एकताको भावना जगाउनु हो ।
– विस्तारवाद, प्रभुत्ववाद र साम्राज्यवादको विरोध गर्नु हो ।
– कहिल्यै कुनै देश वा साम्राज्यको गुलाम बन्नु नपरेकामा गर्व गर्नु हो ।
– पराधीन हुन नपरेकामा उत्सव मनाउनु हो ।
– उनको जन्मदिनलाई आँखा चिम्लनेविरुद्ध लड्नु हो ।
– राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा काट्नेलाई थुथु गर्नु हो ।
– विदेशीका सामु लत्रनेलाई खबरदारी गर्नु हो ।
– सारा नेपालीमा एकत्व भाव वा एकल नेपाली जातीय भावनाको सञ्चार गर्नु हो ।
– प्रत्यक्ष–अप्रत्यक्ष वैदेशिक हस्तक्षेपविरुद्ध उभिनु हो ।
– मुलुकको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्नु हो ।
– जुगजुगसम्म नेपाल र नेपालीत्व जोगाउने प्रण गर्नु हो ।
२०७९ पुस १९

टिप्पणीहरू