भारत र पाकिस्तानद्वारा बन्दीसूची आदानप्रदान

भारत र पाकिस्तानद्वारा बन्दीसूची आदानप्रदान

भारत र पाकिस्तानले आफ्ना जेल र हिरासतमा रहेका ती देशका बन्दी र माझीको सूची आदानप्रदान गरेका छन् । उनीहरुले आ-आफ्ना मुलुकको राजधानीमा रहेका कूटनीतिक नियोगमार्फत् उक्त सूची साटासाट गरेको बताइएको छ ।

दुबै मुलुकले सन् २००८ मा भएको कूटनीतिक सम्झौताबमोजिम हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखका दिन त्यस्तो सूची आदानप्रदान गर्ने गरेका छन् ।

हिजो उपलब्ध गराइएको सूचीअनुसार भारतको जेलमा ३३९ जना पाकिस्तानी बन्दी र ९५ जना उतैका माझी हिरासतमा छन् । त्यसैगरी पाकिस्तानी जेलमा ५१ जना बन्दी जेल र ६५४ जना भारतीय माझी हिरासतमा राखिएका छन् ।

गत वर्ष छ जना भारतीय बन्दी र पाँच जना भारतीय माझीको पाकिस्तानमा मृत्यु भएको भारतीय पक्षको भनाइ छ ।

यता दुबै मुलुकले आणविक प्रतिष्ठान र सुविधाहरूको पनि सूची आदानप्रदान गरेका छन् । पाकिस्तान र भारतले आणविक स्थापना र सुविधाहरुविरुध्द आक्रमण निषेधसम्बन्धी सम्झौताअन्तर्गत परमाणु प्रतिष्ठान र सुविधाहरूको सूची आदानप्रदान गरेका हुन् ।

उनीहरुबीच ३१ डिसेम्बर १९८८ मा आणविक हतियार स्थापना र सुविधाहरू विरुध्दको आक्रमण निषेधको सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई २७ जनवरी १९९१ मा दुबै मुलुकले अनुमोदन गरेका हुन् ।

जसअनुसार हरेक वर्ष जनवरी १ मा दुबै मुलुकले आफ्ना आणविक प्रतिष्ठानहरू र सुविधाहरूको बारेमा एक–अर्कालाई जानकारी गराउँछन् । पाकिस्तानमा रहेका आणविक प्रतिष्ठान र सुविधाहरूको सूची हिजो इस्लामाबादस्थित परराष्ट्र मन्त्रालयमा भारतीय उच्चायोगका प्रतिनिधिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । 

उता भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका प्रतिनिधिलाई भारतको आणविक प्रतिष्ठान र सुविधाहरूको सूची पनि त्यसैगरी हस्तान्तरण गरेको हो । यस्तो सूची आदानप्रदान सन् १९९२ जनवरी १ देखि हुँदै आएको छ ।

 

टिप्पणीहरू