छिन काङ हालसम्मकै कान्छो चिनियाँ विदेशमन्त्री,अनुभवमा भने अब्बल

छिन काङ हालसम्मकै कान्छो चिनियाँ विदेशमन्त्री,अनुभवमा भने अब्बल

चिनियाँ राष्ट्रपति सि चिनफिङले हिजो अमेरिकास्थित चिनियाँ राजदूतलाई मुलुकको नयाँ विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ । ५६ वर्षे छिनले यसअघिका विदेशमन्त्री ६९ वर्षे वाङ यीको स्थान लिएका छन् । छिन हालसम्मकै कान्छो उमेरका विदेशमन्त्रीसमेत हुन् ।

पछिल्लो समय बढेको अमेरिकासँगको दूरीलाई घटाउनेदेखि चीनको नयाँ राजनीतिक नेतृत्वको कूटनीतिक योजनालाई सार्थकतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी अब छिनको काँधमा आएको छ । त्यसैले हिजो विदेशमन्त्रीमा नियुक्तिलगत्तै उनले भने,‘चिनियाँ बुध्दिमत्ता,चिनियाँ पहल र चिनियाँ शक्तिलाई झन् फराकिलो बनाउँदै साझा चुनौति परास्त गर्नु छ ।’

यता,अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आगामी दुई सातापछि चीन भ्रमण गर्दैछन् । दुई मुलुकबीचको तिक्ततापूर्ण सम्बन्धमा आएको सामान्यीकरणपछि उनको भ्रमण हुन लागेको हो । यो अवस्थामा चीनमा अमेरिकामा रहेका चिनियाँ राजदूत मुलुककै कूटनीतिक प्रमुख बनेका छन् । अर्कोतर्फ रुस र उत्तर कोरियासँगको सम्बन्धलाई पनि बुध्दिमत्तापूर्वक अघि बढाउनुपर्ने अवस्था उनका सामु देखिन्छ ।

को हुन् छिन ?

छिन चिनियाँ विदेश मन्त्रालय र कूटनीतिक वृत्तमा प्रख्यात नाम हो । उनी सन् २००५ देखि १०१० सम्म विदेश मन्त्रालयका प्रवक्ता तथा सोही मन्त्रालयको सूचना विभागका डेपुटी डाइरेक्टर जनरल थिए । विगतका पत्रकार सम्मेलनमा व्यक्त  धारणालाई लिएर कूटनीतिक मामिलाका विदेशी पत्रकारहरुले उनको वाक पटुतालाई ‘वुल्फ वारियर कूटनीति’ को संज्ञा दिएका थिए ।

उनले सन् २०१३ मा दिएको एउटा अन्तर्वार्तामा भनेका थिए,‘कूटनीति आफैंमा जटिल विषय हो तर समग्रमा सिष्टमेटिक कार्य पनि । यसले कुनै पनि विषयलाई नरम र सहज बनाउन सक्छ,त्यसैगरी सामान्य विषयलाई उग्र पनि । समयान्तरसँगै यी दुबै अतिवादी धार एकापसमा रुपान्तरण भइसकेका छन् ।’ 

सन् १९८८ मा चिनियाँ परराष्ट्र सेवामा प्रवेश गरेका उनले सन् २००० ताका बेलायतस्थित चिनियाँ दूतावासमा तेस्रो सचिव,प्रथम सचिव तथा पछि मिनिष्टरको जिम्मेवारी पूरा गरेका थिए । त्यसपछि सन् २०१४ देखि १८ सम्मको अवधिमा उनी विदेश मन्त्रालयको प्रोटोकल विभागमा बसेर राष्ट्रपति सि चिनफिङ र उहाँको सचिवालयसँग निकटताकासाथ आफ्नो जिम्मेवारी निर्वाह गरेका हुन् । त्यसैले अमेरिकाको राजदूतमा नियुक्त हुनुअघि उनलाई सन् २०१८मा उपविदेश मन्त्रीमा नियुक्त गरिएको थियो ।

टिप्पणीहरू