डेढ दर्जन उज्बेक बालबालिकाको मरणमा भारतीय दूतावासको सफाइ

डेढ दर्जन उज्बेक बालबालिकाको मरणमा भारतीय दूतावासको सफाइ

उज्बेकिस्तानको राजधानी तासकन्तस्थित भारतीय दूतावासले हालै औषधिका कारण १८ जना बालबालिका मारिएको घटनामा सहयोग गर्ने भएको छ । दूतावासले उज्बेकिस्तानका अधिकारीहरुसँग निकट सम्पर्कमा रहेर अनुसन्धानमा सहयोग पुर्याउने बताएका छन् ।

भारतीय कफ सिरपका कारण त्यहाँका १८ जना बालबालिकाले अकाल ज्यान गुमाउनु परेको घटना बाहिरिएपछि भारत सरकारको तर्फबाट त्यहाँको दूतावासले उक्त लिखित प्रतिबध्दता जनाएको हो । भारतीय औषधी कम्पनी ‘मेरियन बायोटेक’द्वारा उत्पादित खोकीको झोल खाएर ती बालबालिकाको मृत्यु भएको उज्बेकिस्तानको आरोप छ ।

नयाँ दिल्ली नजिकैको नोयडास्थित  सो कम्पनीको ‘डक १ म्याक्स सिरप’ सेवनपछि १८ जना बालबालिकाको गम्भीर स्वासप्रश्वाससम्बन्धी समस्याबाट निधन भएको उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले हिजो जानकारी गराएको थियो । उता विश्व स्वास्थ्य संगठनले पनि सो औषधीले बालबालिकाको मृगौलामा गम्भीर असर पारेको बताउँदै उक्त कम्पनीद्वारा निर्मित कफ सिरप प्रयोग नगर्न आग्रह गरेको छ ।

यसअघि गाम्बियामा पनि यस्तै भारतीय दवाइका कारण त्यहाँका ७० जना बालबालिकाको निधन भएको थियो । दूतावासले प्रेस विज्ञप्तिमा भारतीय पक्षसँग उज्बेकिस्तान सरकारको अनुसन्धान रिपोर्ट सेयर गर्न आग्रह गर्दै यसले आगामी दिनमा भारतमा समेत दोषीमाथि आवश्यक कारवाही गर्न सहज हुने विवरण उल्लेख छ ।

दूतावासका अनुसार ती बालबालिकाको निधन दुई महिनाको अवधिमा भएको हो । उज्बेक अधिकारीहरूले भारतमा निर्मित कफ सिरप र बालबालिकाको निधनबीच तालमेल भए वा नभएको बारे सुक्ष्म अध्ययन भइरहेको जनाएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले पनि सबै पक्षको समन्वयमा कार्य अघि बढेको हिजो बताएका थिए ।

टिप्पणीहरू