अमेरिका बाहेकका मुलुकका विदेशमन्त्रीहरुको सामूहिक भेट

अमेरिका बाहेकका मुलुकका विदेशमन्त्रीहरुको सामूहिक भेट

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ भवनमा अमेरिका बाहेक विश्वका आर्थिक रुपले उदाउँदा मुलुकका विदेशमन्त्रीहरुले भेट गरेका छन् । उनीहरुले रुस र युक्रेनबीचको मतभेद र विवादलाई वार्ता र परामर्शबाट समाधान गर्न आह्वान गरेका छन् । 

ब्रिक्स अर्थात् बाज्रिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका विदेशमन्त्रीहरूले युक्रेनको अवस्थाको शान्तिपूर्ण समाधानका लागि हुने सबै प्रयासलाई समर्थन गरेको बताइएको छ । दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग मन्त्री डा. नालेदी पान्डरको अध्यक्षतामा भएको ब्रिक्सका विदेशमन्त्रीहरुको बैठकमा राष्ट्र संघ र यसका प्रमुख अंगहरूको सुदृढीकरण र सुधारका लागि आफ्नो प्रतिबद्धता दोहोर्याइएको छ ।

भारतीय विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका विदेश मन्त्रीहरूले राजनीतिक, सुरक्षा, आर्थिक, वित्तीय र दिगो विकासका क्षेत्रमा संयुक्त राष्ट्र संघको एजेन्डाका प्रमुख वैश्विक र क्षेत्रीय मुद्दाहरूका साथै अन्तर–ब्रिक्स गतिविधिहरूमा पनि विचार आदानप्रदान गरेका छन् ।’

उनीहरूले कोभिड–१९ को निदान र उपचारको उत्पादन, खोप आपूर्तिमा लचिलोपन अपनाउँदै बौद्धिक सम्पत्ति अधिकारको व्यापार–सम्बन्धी हालैको निर्णयलाई स्वीकार गरेका हुन् ।

उनीहरुले दिगो विकास लक्ष्यलाई सन्तुलित र एकीकृत रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै जलवायु परिवर्तनसँग लड्न विकासोन्मुख देशहरूलाई भरपर्दो, पर्याप्त, पूर्वानुमानयोग्य, समयसापेक्ष, नयाँ र थप वित्तपोषण र प्रविधि हस्तान्तरण प्रदान गर्न विकसित देशहरूको प्रतिबद्धताको पूर्ति, डेलिभरी र अत्यावश्यकताको महत्वमा जोड दिएका छन् ।

उक्त संगठनको आगामी शिखर सम्मेलन सन् २०२३ मा दक्षिण अफ्रिकामा हुँदैछ । न्यूयोर्क बैठकमा दक्षिण अफ्रिकाका विदेशमन्त्री डा. नालेदी, भारतीय विदेशमन्त्री एस. जयशंकर, ब्राजिलका राजदूत कार्लोस अल्बर्टो फ्रान्को फ्रान्का, रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र चीनका विदेशमन्त्री वाङ यी सहभागी भएका हुन् ।

 

टिप्पणीहरू