पहिले फाइनलमा पुगेको मुलुक सेमी फाइनलबाटै सखाप

पहिले फाइनलमा पुगेको मुलुक सेमी फाइनलबाटै सखाप

गए राति विश्वकपको पहिलो सेमी फाइनलमा क्रोएसियाले पराजय व्यहोरेको छ । अर्जेण्टिनासँग भएको खेलमा क्रोएसिया ३–० गोलको अन्तरले हारेको हो ।

फेरि फाइनलमा पुग्ने क्रोएसियाको चाहना गए रातिदेखि अन्त्य भएको छ । योसँगै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दोहाको लुसेल रंगशालामा भएको पहिलो सेमी फाइनलपछि अर्जेन्टिना उपाधि नजिक पुगेको छ । अर्जेन्टिनालाई जीत दिलाउन कप्तान लियोनल मेस्सीले ३४औं मीनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गराएका थिए ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको हो । विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान पनि तोडेका छन् । उनले रातिको खेलपछि विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् ।

खेलको ३९ औं मीनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए । काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरेका हुन् ।

त्यसपछि खेलको ६९ औं मीनेटमा अल्भारेजले दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० गोलको सहज जीत दिलाए । उनले मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा पोष्टभित्र बल छिराएका हुन् ।

अर्जेन्टिनाले उपाधिका लागि भरे राति हुने फ्रान्स र मोरक्कोबीचको खेलको विजेतासँग खेल्नेछ । साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल भरे मध्यरात पौने १ बजे हुँदैछ ।
 

टिप्पणीहरू