फस्र्ट लेडीको महत्वाकांक्षाले यतिसम्म निम्त्यायो फसाद

अमेरिकी ३५औँ राष्ट्रपति जोन एफ केनेडी र उनकी पत्नी ज्याकी उर्फ ज्याकलिनको सम्बन्धमा धेरै उतारचढाव थियो । केनेडी जसरी पनि राष्ट्रपति बन्न चाहन्थे तर ज्याकी लोग्नेको चुनावी अभियानमा सरिक हुनु त परको कुरो मतदान गर्नसमेत तयार थिइनन् । यसको अर्थ लोग्नेलाई मन नपराउने होइन, उनी त अझ प्रथम महिला बन्न हतारमै थिइन् तर एउटा कारण थियो– राजनीतिप्रतिको उदासिनता, जसले गर्दा डेमोक्रेटिक पार्टीले केनेडीलाई उपराष्ट्रपतिमै पनि लडाउन चाहेन । जबकि केनेडीले अस्पतालबाटै चुनाव लड्ने तयारी गरिसकेका थिए तर उनले पत्नीलाई चुनावी अभियानमा सरिक हुन मनाउनै सकेनन् । ज्याकी बरु चुनावमा लाग्न नपर्ने गरी गर्भधारण गर्न तयार भइन् । यसैबीच गर्भधारण गरिन् पनि तर लोग्नेसित भएको मामुली मनमुटावले गर्दा जानाजान गर्भ गिराइन् । 

समयको खेल ! सन् १९५६ मा उपराष्ट्रपतिको टिकट नपाएका उनले सन् १९६० मा भने राष्ट्रपतिकै टिकट पाए । सम्पूर्ण केनेडी परिवार जोन केनेडीलाई जिताउन लागिप¥यो तर एउटा छोरीको आमा बनिसकेकी ज्याकीले फेरि पनि चुनावमा लाग्नुको साटो गर्भवती बन्न मन पराइन् । केनेडीले नोभेम्बर ८ मा चुनाव जिते, दुई हप्तापछि ज्याकी छोराको आमा बनिन् । लोग्ने निर्वाचित भएका बेला उनी घरमै आराम गर्दै थिइन् । जब यो सूचना पाइन्, पहिला त विश्वासै गरिनन्, पछि हड्बडाइन् र आफू प्रथम श्रीमती बन्न पुगेकोमा खुशीले हो वा दुःखले, आँखा रसिलो पारिन् । त्यहाँ उपस्थित एकजनाले रूनुको कारण सोध्दा भनिन्, ‘अब निजी जीवनको अन्त्य भयो । हाम्रो स्वतन्त्रता नष्ट भयो । लाग्दै छ, म सार्वजनिक सम्पत्ति हुन पुगेँ । ३१ वर्षको उमेरमा यो सबै कुरा मलाई भयंकर लाग्दै छ ।’

चुनावी दौडधुपले केनेडी निकै थाकेका थिए, आराम चाहन्थे । फ्लोरिडा जान खोजे । ज्याकीले यसपालि पनि लोग्नेलाई रोक्न चाहिन् तर केनेडी मानेनन् र गए । ज्याकीलाई लोग्नेको उक्त निर्णयले मानसिक आघात पुग्यो । पत्नी अस्पताल भर्ना भएको खबरले केनेडी तुरन्त घर फर्के । ज्याकी जनताको नजरमा पर्न चाहिनन् उनले लोग्नेलाई शहरबाट टाढा घर भाडामा लिएर बस्न जाऔँ भनिन् । ज्याकी भर्खरकी युवा थिइन् । सन् १९६१ को जनवरी २०, केनेडीले राष्ट्रपति पदको शपथ खाने दिन । राजनीतिमा रुचि नभए पनि ज्याकीले प्रथम महिलाको फूर्ती देखाउने अवसर भने गुमाउन चाहिनन् । समारोहमा जान महारानीको जस्तो पहिरन सिलाउन दिइन् । लोग्नेलाई थाहा नदिइकनै शहरको नामी व्यापारीबाट उधारोमा गहना भाडामा लिइन् । समारोह समाप्तिपछि साँझ केनेडी र ज्याकीले आफ्ना दुई परिवारको लागि रात्रिभोज आयोजन गरे । तर, ज्याकी पहिल्यै सुत्न गइन् । परिवारले धेरै बेर प्रतीक्षा गरे । एकछिनपछि ज्याकीका काकाको छोरा उनलाई बोलाउन माथि गए तर कसैलाई कोठामा पस्न नदिनू भनिएको छ भनेर गार्डले भित्र छिर्नै दिएन । एकछिनपछि आमा जेनेट माथि गइन् र उनी पनि खाली हात फर्किन् । केनेडी समारोहमा ढिलो पुगेका थिए किनभने शपथग्रहणपछि परेडको कार्यक्रम थियो । उनले परिवारका सबै सदस्यसित हात मिलाए । ज्याकीलाई नदेखेपछि सोधपुछ गरे र अर्को कार्यक्रममा सहभागी हुन जानुपर्ने भन्दै निस्के । ज्याकी अन्त्यसम्म पनि परिवारका सबै सदस्य सम्मिलित कार्यक्रममा सरिक हुन पुगिनन् । 

राजनीतिप्रति सरोकार नराख्ने ज्याकीले राष्ट्रपति भवनमा पस्नेबित्तिकै पहिलो काम भने आफ्नालागि फेसन डिजाइनर नियुक्तिबाट शुरु गरिन् । बिहान र साँझको लागि छुट्टाछुट्टै दुई जना केश सज्जाकारहरू नियुक्त गरिन् । उनीहरूलाई लिन र पु¥याउन राष्ट्रपति भवनबाट लिमुजिन गाडीको व्यवस्था गर्न लगाइन् । नियुक्त दुई जनामध्येको एक जनालाई यसकारण मात्र नियुक्त गरेकी थिइन् कि उनी यौनकी देवी मानिने अभिनेत्री मर्लिन मुनरोको केश मिलाउँथिन् । उनलाई राष्ट्रपति भवनको सजावट मन परेको थिएन । त्यसैले अर्बपति महिला साथीहरूको समिति बनाएर सजावटको जिम्मा सुम्पिदिइन् । समितिले प्रत्येक कोठाको सजावटमा त्यो बेलाको ४ लाख नेरु बराबर खर्च ग¥यो । केनेडीले अनावश्यक खर्च गर्नबाट रोके तर ज्याकी माने पो ! उनले सुटुक्क २५ हजार डलर पर्ने पर्दा फ्रान्सबाट मगाइन् । ५ हजार डलर पर्ने झल्लर बत्ती र ३५ हजार डलर पर्ने १८ औं शताब्दीको एउटा कार्पेट किन्न लगाइन् । जथाभावी खर्चले केही दिनमै राष्ट्रपति भवनका निम्ति छुट्याइएको बजेट सकियो । उनले लोग्नेलाई बजेट बढाउन दबाब दिइन् । केनेडी नमानेपछि अन्य श्रोत जुटाएर भए पनि चाहेअनुसारको साजसज्जा गरी छाडिन् । केनेडी ज्याकीले गरेको खर्च देखेर दंग परे । तुरुन्तै हिसाब खोजे । पेश गरेको बिलमा भित्तामा टाँग्ने १ सय डलरको एउटा घडी, ४ हजार डलरको कपडा, १७ सय डलरको अस्तबलको सामग्री र ४० हजार डलरका विभिन्न सामान देखेर क्रोधित बने । ज्याकीलाई गाली गरे । उनी राष्ट्रपति भवनमा गरिएको अनावश्यक खर्चको कारण जनतामा बदनाम हुन चाहन्नथे । 

ज्याकी सानैदेखि वैभवपूर्ण जीवन बिताउँदै हुर्केकी थिइन् र बिहेपछि पनि यसमा कुनै कमी नआओस् भन्ने चाहन्थिन् । बैभवपूर्ण जीवन बिताउने क्रममा, एक वर्ष नपुग्दै उनको निजी खर्च मात्र १ लाख डलर नाघ्यो । केनेडीले सम्झाउँदै भने ‘मेरो तलब वर्षमा १ लाख मात्र हुन्छ, मेरो निजी आम्दानी नहुँदो हो त तिमीले ऋणी बनाउने रहिछौ ।’ स्मरणीय छ, यसअघि केनेडी सबै आम्दानी दान गर्थे र आफ्नो खर्च बाबुले खडा गरिदिएको १० लाख डलरको ट्रष्टको आयबाट चलाउँथे । आफ्नो खर्चलाई लिएर लोग्नेले बारम्बार खबरदारी गर्न थालेपछि एकदिन ज्याकीले साथीलाई भनिन्, ‘आजभोलि राष्ट्रपति महोदय अमेरिकाको बजेटलाई लिएर भन्दा मेरो बजेटलाई लिएर धेरै चिन्तित हुनुहुन्छ ।’ 

उनले आफूले खर्च कम गर्ने आश्वासन लोग्ने र सबैलाई दिन्थिन् तर कम गर्दैन थिइन् । दोश्रो वर्ष उनको खर्च बढेर १ लाख २१ हजार ४ सय ६१ डलर पुग्यो । प्रथम महिलाको रूपमा उनले दोहोरो जीवन जिउँदै थिइन् । एकातर्फ लोग्नेको राजनीतिप्रतिको प्रेम, राष्ट्रपति पदप्रतिको आकर्षणलाई लिएर ईष्र्या गर्थिन् भने अर्कोतर्फ प्रथम महिलाको हैसियतमा बिलासी जीवन बिताउँदै थिइन् । यसबीच, सन् १९६१ मा केनेडी युरोप भ्रमणमा निस्के । पहिलो भ्रमण फ्रान्सको थियो । त्यहाँ पुग्नेबित्तिकै ज्याकीले लोग्नेभन्दा आफू प्रसिद्ध भएको देखाउनलाई । पहिलो दिनमै अन्तर्वार्ता दिइन्, फ्रान्सिसी भाषा धाराप्रवाह बोल्न सक्छु भन्ने देखाइन् । नभन्दै सडकमा केनेडीको होइन उनको जयजयकार हुन थाल्यो । पेरिसका मेयरले त यहाँसम्म भनिदिए कि बेलायतकी महारानी एलिजाबेथपछि अमेरिकी प्रथम महिलाले पहिलोपटक फ्रान्सिसी जनताको मन जितिन् । मेयरले ज्याकीलाई सो अवसरमा ४ हजार डलर पर्ने हीराजडित घडी उपहार दिए । फ्रान्सका बूढो राष्ट्रपति चाल्र्स डे गाल पनि मोहित बन्दै ज्याकीलाई अत्यन्त शालिन महिलाको उपमा दिए । अर्को दिन भर्साइल्स दरबारमा रात्रिभोज थियो । त्यहाँ जान विशेष किसिमको लुगा सिलाउन दिइन् र उस्तै केस श्रृंगार पनि गरिन् ! भोलिपल्टको पत्रपत्रिकामा समाचारको शीर्षक यस्तो थियो, ‘अमेरिकी प्रथम महिला यौवन र सौन्दर्यकी प्रतिमा हुन् । ’

ज्याकीको उक्त रवैया देखेर केनेडी पनि दंग परे । उनले संवाददाताहरूलाई व्यंग्यको लवजमा भने, ‘मैले तपाईंहरूसामु आफ्नो परिचय दिन आवश्यक ठानेँ । म श्रीमती ज्याकलिन केनेडीसँग युरोपको भ्रमणमा आएको हुँ र यतिखेर पेरिसमा छु । मलाई यो भ्रमणबाट आनन्द मिलिरहेको छ ।’ विस्तारै ज्याकीले विश्वका नेताहरूसित सम्बन्ध बढाइन् । यस क्रममा पाकिस्तानी राष्ट्रपति अयुब खाँबाट १ लाख डलर पर्ने हीराको हार, लिबियाका राजा इद्रिसबाट ५० हजार डलर पर्ने गहना र इथियोपियाका सम्राट हिले सिलासीबाट ७५ हजार डलर पर्ने छालाको कोट उपहार पाइन् । उनले सिलासीले दिएको उपहार अति मन पराइन् र उनैको अगाडि लगाएर देखाइन् । सिलासी पनि दंग परे । पत्नीले यसरी एकपछि अर्को उपहार ग्रहण गर्दै गएपछि केनेडी भने अप्ठ्यारोमा परे किनभने चुनावको बेला उनले जनतालाई वचन दिएका थिए कि यसरी प्राप्त हुने उपहारलाई राज्यको सम्पत्ति मानिनेछ । तर, आफूले पाएको उपहार राज्यको सम्पत्ति मान्न ज्याकी अलिकति पनि तयार भइनन् । यसबीच फेरि मोरक्कोका राजा साह हसनले ५० वटा हीराजडित तरबार उपहार दिए । ज्याकीले राज्यलाई दिनुपर्ला भनेर त्यसमा जडित हीरा निकाल्ने प्रयास गरिन् । सन् १९६१ को नोभेम्बरमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू अमेरिकाको भ्रमणमा थिए । उनीसित छोरी इन्दिरा गान्धी पनि थिइन् । ज्याकी सायद नेहरूको नजिक हुन चाहन्थिन् तर इन्दिराको कारण सम्भव भएन । त्यसैले होला ज्याकीले इन्दिरामाथि यस्तो टिप्पणी गरिन्, ‘ऊ मूर्ख र भयानक लाग्छ, सधैँ कागती चुसिरहेजस्तो अनुहार छ उसको ।’

त्यसो त केनेडी पनि नेहरूलाई मन पराउँदैनथे । त्यसैले उनले पनि नेहरूको भ्रमणलाई लिएर टिप्पणी गरे, ‘कुनै सरकार प्रमुखको झूर यात्रा !’

 

टिप्पणीहरू