क्यान्सर पीडितले याचना गर्दा सुशीला म्याडमको जवाफ,'ढलान घर छ त !'

क्यान्सर पीडितले याचना गर्दा सुशीला म्याडमको जवाफ,'ढलान घर छ त !'

कैलालीको लम्किचुवा नगरपालिका-२ बगौराका ६३ बर्षीय गगने कामी चार वर्षदेखि क्यान्सरले थलिएका छन् । २०७६ सालको बैशाखदेखि सामान्य खुट्टा खोच्याइरहेका उनलाई अस्पताल पुगेपछि क्यान्सर भएको थाहा भयो । तर,अहिलेसम्म पनि उपचार हुन सकेको छैन । 

ऋण गरेर उपचार गराइरहेका उनी बिस्तराबाट उठ्नसमेत सक्दैनन् । पछाडिको घाउ पाकेर किरा पर्न थालिसकेको छ । उपचारकै लागि भएभरको सबै जग्गा जमिन बेचेर कंगाल भैसकेका उनी कसैले आर्थिक सहयोग गर्दिए बाँचिने आशमा छन् । 

बाबुको उपचार गर्दा लागेको ऋण तिर्न नसकेर छोराहरु बिदेश गएको स्थानीय बताउँछन् । '३ दिन भयो खाना नखाएको,दिसा पिसाब आउँछ,उठेर जान सक्दिन । के गर्नु, बाँच्न मन छ तर पैसा छैन । कसैले सहयोग गर्दिए हुन्थ्यो',कामीले रुँदै भने । 

गाउँपालिकाले सहयोग दिने आशामा ह्वील चियर घिच्याउँदै भोट हाल्न पनि गए । तर,जितेर गएपछि कोही पनि फर्केर हेर्नसम्म नआएको उनको गुनासो छ । 'सकि नसकी भोट हालेको छु,मलाई सहयोग गरेनन् भने तिनीहरुको राजनीति कसरी सफल होला ?',बिस्तराबाट रुँदै कामीले भने ।

तर,लम्किचुवाकी मेयर सुशीला शाहीले भने कामी उपचार गर्नै नसक्ने वस्थामा नरहेको बताइन् । 'तपाईं पत्रकार हो ? तपाईंलाई गोप्य कुरा भन्छु,त्यो मान्छेको ढलान घर छ,फेरि मेरो भनाई रेकर्ड नगर्नुस् है !'

टिप्पणीहरू