चुनावी परिणाम देख्दा पुराना दलहरु नै चकित

चुनावी परिणाम देख्दा पुराना दलहरु नै चकित

आन्तरिक कलह, राजनीतिक दलप्रतिको वितृष्णा तथा युवाको बदलिँदो चाहनाका कारण पुराना दल विस्तारै ओरालो लाग्न थालेका छन् । समानुपातिक मतका आधारमा पनि यसअघि भन्दा कम मत प्राप्त गरेका दलको हैसियत कमजोर देखिएको छ । ०६४ मा भरभराउँदो माओवादी खस्किएर चौथो दल बनेको छ । उसलाई नया“ दलले उछिनेको छ ।

राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचनपछि पार्टी र नेताहरूको हैसियत, सांगठनिक विषय, नेतृत्वको क्षमता तथा घात–अन्तर्घातबारे छलफल शुरु भएको छ । कांग्रेसले आन्तरिक घातका कारण प्रतिनिधि सभा २ मा पराजय ब्यहोर्नुपरेको बताएको छ । घात गर्ने नेतालाई देखाइदिन्छु भन्दै उम्मेदवार शिवप्रसाद हुमागाईं मतदातालाई धन्यवाद दिन व्यस्त छन् । उता, विजयी गोकुल बाँस्कोटा पनि मतदाताको घर दैलोमा पुगिरहेका छन् । अन्य पाँच उम्मेदवारले दलको आन्तरिक कारण समानुपातिक र प्रत्यक्षमा सोचेजस्तो परिणाम आउन नसकेको बताएका छन् । जिल्लामा नेकपा एमाले जिल्लामा पहिलो पार्टी बनेको छ । ५८ हजार ७ सय ८४ मत ल्याएर समानुपातिकतर्फ ऊ पहिलो दल बनिरहँदा नेपाली कांग्रेस ४८ हजार ३ सय ११ ल्याएर दोश्रो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २६ हजार ३ सय १८ मत ल्याएर तेश्रो दल बनेको छ । चौथोमा पुगेको माओवादीले २५ हजार २ सय ६१ मत प्राप्त गरेको छ । पाँचाैँमा नेकपा समाजवादीले जिल्लाभरबाट ८ हजार ९८ मत प्राप्त गरेको छ । छैटाैँ नम्बरमा राप्रपाले ६ हजार २ सय २१ मत ल्याएको छ । 

प्रतिनिधिसभा १ मा विजयी सूर्यमान दोङ माओवादी नेता हुन् । ०६४ सालमा संविधानसभा सदस्य विजयी दोङलाई अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा दर्ता भएको मुद्दा विचाराधीन छ । ०७० मा नेपाली कांग्रेसका तीर्थ लामासँग पराजित उनले ०७४ मा सहकारीको ऋणमा साक्षी बसेर कालोसूचीमा परेको कारण टिकट पाउन सकेनन् । प्रदेश सभातर्फ निर्वाचित रत्न ढकाल माओवादी केन्द्रका नेता हुन् । बागमती प्रदेश सरकारका खेलकुदमन्त्री उनी यसअघि नेकपा एमालेसँगको तालमेलमा विजयी भएका थिए । प्रदेश सभामा निर्वाचित तीर्थ लामा ३ मतको झिनो मतान्तरले विजयी भए । संविधान सभा सदस्यमा निर्वाचित लामा ०७४ मा माओवादीका गंगाबहादुर दोङबाट पराजित भएका थिए । प्रतिनिधिसभामा टिकट नपाएपछि प्रदेश सभामा केन्द्रीय सदस्य गणेश लामाको टिकट खोसेर ल्याएका लामा जिल्ला सभापति हुन् । बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबेदार छन् । बागमती प्रदेशका लागि निर्वाचित लक्ष्मण लम्साल नेकपा समाजवादीमा छन् । एक सांसद, जिल्ला समन्वय प्रमुख र एउटा नगरमा प्रमुख विजयी भएको समाजवादी समानुपातिकतर्फ पाँचाैँ नम्बरमा छ । अर्का सांसद कञ्चनचन्द्र बादे कांग्रेस बागमती प्रदेशका महामन्त्री छन् । 

जमानत पनि जोगिएन

काभ्रेका दुईवटा प्रतिनिधिसभा र ४ वटा प्रदेश सभामा उम्मेदवारी दिएका ६४ उम्मेदवारमध्ये ३८ जनाको जमानत जफत भएको छ । पूर्वमन्त्रीसमेत रहेका गोकुल बाँस्कोटालाई पराजित गर्ने उद्घोष गरेका स्वतन्त्र उम्मेदवार मनोज पण्डितले १ सय ७३ मत प्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङले ३५ मत पाए । सिद्धिबहादुर जोशी, यशु आले मगर, कृष्णकुमार वैद्य, योकबहादुर घिसिङ, अचम्म लामा, विजय तामाङ, उत्तरकुमार लामा, गंगालाल श्रेष्ठ, कृष्ण खत्री, बोधनाथ न्यौपाने, मनोज पण्डित, शेषराज लामिछाने र स्वयम्भूराज शाक्यको जमानत जफत भएको छ । प्रदेश १ मा एमालेका कुमार खकुरेल १ सय ८८ मतले पराजित भए । त्यहाँबाट राप्रपाका रञ्जीव श्रेष्ठ, नेमकिपाका सूर्यलाल तामाङ, हाम्रो नेपाली पार्टीका ताराबहादुर कुँवर र मंगोल नेशनल अर्गनाइजेशनका मुस्कान लामाको जमानत जफत भएको छ । राप्रपाका रामकृष्ण लामा, नेमकिपाका मुना तामाङ, जनता समाजवादीका वीरबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टीका दानबहादुर थापा र मंगोल नेशनल अर्गनाईजेसनका सुकमान तामाङको पनि जमानत जोगिन सकेन ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू