गठबन्धनमा के भा’को ? एकालाल, दीपक सिंह र महेश कसरी आ’को ?

गठबन्धनमा के भा’को ? एकालाल, दीपक सिंह र महेश कसरी आ’को ?

यतिखेर मकवानपुरमा सरकारी गठबन्धन स्तब्धप्रायः छ । दुवै प्रतिनिधिसभा क्षेत्र र प्रदेश राजधानी रहेको हेटौँडाको एउटा प्रदेश क्षेत्रसमेत गुमेपछि सरकारी गठबन्धनले विजय ¥यालीसमेत धीत मर्ने गरी निकाल्न सकेन ।

पूर्वपञ्चमध्ये नाइके ठानिएका कमल थापालाई आफ्ना पुराना वर्गीय दुश्मनी सबै बिर्सेर एमालेले सूर्य चिह्न दिएपछि त्यसको फाइदा उनीसँगै चार दशक रहेका अर्का पात्र दीपकबहादुर सिंहले उठाए । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट उठेका र वैशाखमा हेटौँडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनको उम्मेदवारको मीना लामा (नेकपा एकीकृत समाजवादी) सँग पराजित भएका सिंहले एकै भान्सामा रहेका थापालाई मात्र हराएनन्, गठबन्धनका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र महालक्ष्मी डिना उपाध्यायको सपनामासमेत बज्रपात गरिदिए ।

गठबन्धनका तर्फबाट यसपटक संसद पस्ने सम्भाव्य उम्मेदवार उपाध्याय यसपटक पनि पछारिनुमा अनेकन अड्कलबाजी र अन्तरघातको लामो श्रृंखला जोडिएको कांग्रेसजनहरू बताउँछन् । भित्री कुरा जे–जस्तो रहे पनि अब बन्ने बागमती प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँमाथि उपाध्यायको पराजयको दोष थोपर्न खोजिएको बताइन्छ । क्षेत्र नं १ बाट पराजित उपाध्याय र सोही क्षेत्रको प्रदेशसभा ‘ख’मा हारेका आनन्दराम पराजुलीसँग बानियाँका राजनीतिक दुश्मनी विगतदेखि नै रहेको कांग्रेसमा चर्चा हुने गरेको छ । वैशाख ३० गते सम्पन्न हेटौँडा उपमहानगरपालिकाको निर्वाचनमा मेयरमा पराजुलीलाई टिकट नदिनका लागि गठबन्धनको मीना लामालाई अघि सारेको आरोपसमेत बानियाँले खेप्दै आइरहेका छन् । त्यसैको निरन्तरतास्वरुप उपाध्याय र पराजुलीको हारमा बानियाँको भूमिका रहेको आरोप लगाइए पनि प्रमाण पाएपछि मात्रै बोल्ने भनेर उपाध्याय र पराजुलीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्ष एवं ओलीभक्त एकालाल श्रेष्ठले पराजुलीलाई पराजित गरेका हुन् ।

त्यसो त आफैँले राजनीतिक चेतना र आन्दोलनमा ऊर्जा दिएका जुनियरले मकवानपुरका ब्राण्डेड नेता विरोध खतिवडालाई मकवानपुर क्षेत्र नं २ बाट हराउनुका पछाडि थुप्रै कारण छन् । तर, खतिवडा गठबन्धनमा आबद्ध आफ्ना सहयात्री दललाई गाली नगर्न कार्यकर्तालाई आग्रह गर्छन् । एमालेका महेश बर्ताैलासँग उनी ४५ सय २० मतले पराजित भएका थिए । पूर्व कांग्रेस एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीतिर १२ हजार ३९ मत गएपछि खतिवडाको हार भयो । त्यसो त माओवादीको भूमिकासमेत राम्रो नरहेको गठबन्धनमा चर्चा छ । यो क्षेत्रको प्रदेश सभा ‘क’ मा उम्मेदवार बनेकी कुमारी मोक्तान पनि थोरै मतले विजयी बनिन् ।

माओवादीको एउटा खेमा (खासगरी पूर्वजनमोर्चा) खतिवडा र कुमारीलाई हराउन मरिमेटेर लागेको आरोप छ । यसको अगुवाइ गरेका थिए रूपचन्द्रको नाउँ बेचेर प्रचण्ड र अजेयराज सुमार्गीसँग नारिएर सधँै शक्तिमा पुग्ने गरेका पूर्व राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले । उनले चुनावको अघिल्लो दिन नै आफूलाई गठबन्धनका उम्मेदवारबाट असुरक्षा भएको, रूपचन्द्र बिष्टको राजनीति सकाउने पात्रलाई मत हाल्न नसकिने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । तर, केही समयमै स्टाटस हटाए पनि धेरैले ‘जाँडको तालमा नबौलाउनु’ भनेर कमेन्ट गरेका थिए । चुनावको दिन नै उनले आफूले कमल चिह्नमा भोट नहालेको सार्वजनिक रूपमा स्वीकार गरेका छन् भने गठबन्धनविरुद्ध टेलिभिजनहरूमा अन्तर्वार्ता दिइरहेका छन् ।

क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ मा पनि मुख्यमन्त्रीका दाबेदार बानियाँलाई हराउनका लागि गरिएका थुप्रै प्रपञ्चलाई सावधानीका साथ हल गरिएको बानियाँ पक्षधरको बुझाइ छ । खासगरी माओवादी केन्द्र, कांग्रेसकै डिना उपाध्याय पक्षधर, नेकपा एकीकृत समाजवादीभित्र पनि कांग्रेसले जित्नुभन्दा एमालेले नै जितोस् भन्ने शुभेच्छा राख्ने पक्षधर र सिंगो एमाले बानियाँविरोधी अभियानमा रहेको स्रोतहरू बताउँछन् । स्रोतका अनुसार मुख्यमन्त्री बनेपछि माओवादी र एमालेका राजनीतिक भूगोल नरहने र कांग्रेसले जिल्लामा एकछत्र राज गर्ने भएकाले बानियाँलाई चुनाव हराउन सके भविष्यमा एमाले र माओवादीले भूगोल जोगाउन सक्ने विश्लेषण गरी यो कदम चलेको थियो । त्यसो त बानियाँले चुनाव हार्दा स्वतः अर्काे उम्मेदवारको चर्चा हुने भएकाले बागमती प्रदेशमै मुख्यमन्त्रीको दाबी गरिरहेका माओवादी नेता शालिकराम जमकट्टेललाई पनि बानियाँ हराउन माओवादी परिचालन गरेको आरोप छ । यद्यपि, बानियाँ र जमकट्टेल राम्रा सहयात्री र मित्र हुन् भन्ने कुरा पछिल्लो पाँच वर्षे प्रदेश सभाको यात्राबाट लुकेको छैन ।

यसैबीच, नेपाली कांग्रेसभित्र क्षेत्र नं २ मा उपाध्याय हराएपछि संगठन निर्माणका लागि ठूलो चुनौति देखिएको छ । क्रियाशील सदस्यहरू धेरै रहेकै वडाबाट ब्यापक रूपमा दीपक सिंहलाई मत गएको र उनैले जीत हासिल गरेकाले अब कार्यकर्ताहरू कांग्रेसमा नरही राप्रपातर्फ नै ढल्कन सक्ने अनुमान छ । मकवानपुरमा पछिल्लो समय बानियाँले खर्च गरेरै भएपनि एमाले र माओवादीसँग टक्कर दिलाउनुका साथै कम्युनिष्ट र राप्रपाका मान्छेहरू कांग्रेस प्रवेश गराएर पार्टी बलियो बनाएका थिए । चुनावी परिणाम घोषणालगत्तै बानियाँले पत्रकार सम्मेलन गरी जनताको बीचमा आफू सँधै रहेकाले चुनाव जितिएको र हार्ने उम्मेदवारहरूलाई पनि जनताको साथमा जान सुझाव दिएका थिए ।

यसैबीच टिका गौतम नामक कांग्रेस कार्यकर्ताले जिल्ला सभापतिसहित केही नेता, केही पत्रकार तथा नेकपा एकीकृत समाजवादीबाट बिजयी मेयर मीना लामा र ९ नं वडाध्यक्ष सुकराम केसीसहित दुई दर्जन नाम किटान गरी ‘यिनीहरू सबै अपराधी हुन्, यिनीहरूका नाइके इन्द्रबहादुर बानियाँ हुन्,’ भनेर स्टाटस लेखेर बेपत्ता भएपछि अहिले कांग्रेसमा रडाको छ । उक्त स्टाटस कांग्रेसका प्रभावशाली नेता एवं महाधिवेशन प्रतिनिधि जयराम लामिछानेलेसमेत फेसबुकमा शेयर गरेको विषयपछि लामिछानेसहितका नेताहरू कारबाहीतर्फ तानिँदै गएको बताइन्छ । यद्यपि, उक्त स्टाटस हटाइएको छ भने लेख्ने गौतम भूमिगत रहेको कांग्रेस स्रोतले बताएको छ ।

मकवानपुरमा यसपटक रोचकै रोचक घटना भयो । कमल थापा सूर्य चिह्नबाट चुनाव लड्नु र हार्नु, कमल थापाले पार्टी छाडेपछि उनीभन्दा जुनियर दीपक सिंहले २८ वर्षपछि जित्नु, ४ पटक जितेका विरोध खतिवडाले हार्नु र कांग्रेस वरियताको आठौँ नम्बरमा रहेकी डिना उपाध्यायले गठबन्धन हुँदासमेत चौथोपटक पनि हार्नु असाधारण नै रहेको जानकारहरू बताउँछन् ।

– शिवकुमार काशी

टिप्पणीहरू