पत्रु खानातिर बढ्दो आकर्षण, स्वास्थ्यमा छैन युवाको ध्यान

देख्नलाई राम्रो,खानमा मीठो तर स्वास्थ्यलाई हानी पुर्याउने भनेकै पत्रु खाना हो । हामीहरु पत्रु खानेकुरा भन्नेबित्तिकै बजारमा पाइने चाउचाउ, बिस्कुट,कुरमुरे आदिलाई बुझ्छौं । आधुनिक प्रविधिको विकास र विस्तारसँगै यसले मानवीय जीवनशैलीमा धेरै प्रभाव पारेको छ । मानिसको रहनसहन,जिउनेशैली र खानपानमा पछिल्लो समय निकै परिवर्तन आइरहेको छ । पहिला पहिला गाउँघरमा आमाले भात पकाउँदा छोराछारीहरु दौडिँदै खान आउँथे भने अहिले पिज्जा,चाउमिन भनेपछि मात्र बालबालिकाहरु रमाउँछन् ।

जीब्रोमा झुन्डिने स्वाद र देख्नमा आकर्षित पार्ने खानेकुरा भएमात्र बालबालिकाहरुले खान रुचाउँछन् । घरमा बनेका स्वास्थ्यवर्धक खानेकुरा खान त के देख्नै पनि चाहँदैनन् । कुनै कुलतमा फसेझैँ अहिलेका बालबच्चा तथा मानिसहरु पत्रु खानेकुरामा फसिरहेका छन् । पत्रु खानेकुराले हाम्रो शरीरमा तत्काल असर नपारे पनि यसले भविष्यमा भने जटिल समस्या निम्त्याउँछ । हामीहरु थकाइ,व्यस्तता,अल्छीपन , समयको बचत वा स्वादका लागि पत्रु खानेकुरा खान्छौँ तर यही अल्छीपन, थकाइ र स्वादले पछि हाम्रो ज्यान समेत लिन सक्छ । 

बजारमा पाइने चाउमिन,पिज्जा वा अन्य पत्रु खानेकुराहरुमा अत्याधिक चिप्लोपनको प्रयोग,नुनिलो र गुलियो पदार्थको मिसावट गरिएको हुन्छ , जसले गर्दा शरीरमा मोटोपन,उच्च रक्तचाप,मधुमेह,हृदयघातजस्ता रोगहरु निम्त्याउँछ । पत्रु खानेकुरामा क्याल्सियम, भिटामिन,खनिजजस्ता तत्वहरु नहुने नहुँदा यसले कुपोषणको समस्या पनि निम्त्याउँछ । हामीहरु केही स्वादका लागि पत्रु खानेकुरा खान्छौँ र यसले शरीरमा तत्काल केही प्रभाव पार्दैन भन्ने सोच्छौँ तर यो सरासर गलत सोच हो । 

विध्यालयमा शिक्षक शिक्षिकाहरु बालबालिकालाई पत्रु खानेकुरा खानुहुँदैन भनेर सम्झाउँछन् तर अस्पतालमा डाक्टर र यिनै मानिसहरु पनि अहिले पत्रु खानेकुरा नखाई बस्न सक्दैनन् । 
अभिभावकहरु पनि आफ्नो बालबच्चाले धेरै खान्छन् वा खुशी हुन्छन् भनेर विध्यालयको खाजादेखि घरको खानासम्मै बालबच्चालाई पत्रु खान दिन्छन् । तर यसले पछि बच्चाको स्वास्थ्यमा के कस्ता नकारात्मक असर पार्छ भनेर केही विचार गर्दैनन् ।  हामी पहिला बिना सोचविचार नै केही काम गर्छौं र पछि बिग्रियो भनेर पछुताउँछौँ । हो, त्यसरी नै अभिभावकहरु पनि बालबच्चाले छिटो खाओस् वा उनीहरुको पेट भरियोस् भनेर चाउचाउ, बिस्कुट आदि विभिन्न पत्रु खानेकुराहरु मिसाएर खान दिन्छन् । 

तर पछि बच्चालाई त्यसको बानी परेर रोग लागेपछि जबरजस्ती छुटाउन खोज्छन् । अहिले त भर्खरै आमाको कोखबाट जन्मिएको बच्चालाई पनि आमाको दूध नखुवाई बट्टा वा प्याकेटको दूध खुवाइन्छ । यसले केही समयका लागि समस्या टार्ने काम गरे पनि भविष्यमा भने दीर्घकालीन रोगसमेत निम्त्याउन सक्छ । कलिलो उमेरका बालबालिकालाई पत्रु खानेकुराहरु खान दिँदा उनीहरुको शारिरिक विकासदेखि मानसिक विकाससम्मैमा असर पर्न जान्छ ।   

यस्ता खानेकुराको प्रयोगबाट मानिसको शरीर जति विकास हुनुपर्ने हो त्यत्ति हुन पाउँदैन र बालबच्चाको शारीरिक र मानसिक विकास राम्ररी नहुँदा यसको प्रभाव शिक्षामा पनि पर्न जान्छ । पत्रु खानेकुराको अत्याधिक प्रयोगबाट बालबच्चाहरु घरमा बनेका खानेकुराबाट टाढिन्छन्,मानौँ कि पत्रु खानेकुरा बालबच्चालाई खाना खुवाउनका लागि बनेको एउटा औषधी हो । पत्रु खानेकुराले मानिसको शरीरको साथसाथै ऊसँग भएको पैसा पनि सिध्याउँछ । आज खाँदा मीठो लाग्ने र भोलि पनि खाऔँ लाग्ने भएकाले पत्रु खानेकुरा एउटा कुलत जसरी नै फैलिदै जान्छ ।समयमै रोकथाम नगरे यसले मानिसको धन र ज्यान सबै लैजान्छ । 

पाँचथर जिल्ला अस्पतालका पोषणविद डा. वरुण अरबालले पत्रु खानेकुरा बालबच्चाको लागि निकै हानिकारक रहेको बताए । उनले भने, पत्रु खानेकुराको प्रयोगबाट बालबच्चाको लामो समयसम्म पेट दुख्ने,उनीहरुलाई घरको खाना खान मन नलाग्ने र कुपोषण हुने जस्ता जटिल समस्याहरु निम्तिन्छ । पत्रु खानेकुरा खाएर बिरामी भएका बालबच्चाहरु हाम्रो अस्पतालमा दिनहुँ ५ देखि १० जनासम्मको संख्यामा आउँछन् । पत्रु खानेकुराले बालबच्चाको स्वास्थ्यमा मात्र नभई उनीहरुको शिक्षादीक्षामा पनि प्रभाव पार्ने उनको ठहर छ । 

,अब अभिभावकहरुले पनि बालबच्चाहरुलाई पत्रु खाना खान दिनुहुँदैन । बालबच्चालाई घरमा बनेका खानेकुराहरु मात्र खान दिने हो भनेपनि यस समस्याको विस्तारै समाधान हुँदै जान्छ । साथै, बिध्यालयमा पनि पत्रु खानेकुरा निरुत्साहनका विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्छ र सरकारवालाहरुले जनचेतना फैलाउनुपर्छ ।

टिप्पणीहरू