अन्य पार्टीबाट जति नै नेता ताने पनि बेअसर

अन्य पार्टीबाट जति नै नेता ताने पनि बेअसर

निर्वाचन आउनेबित्तिकै पार्टी परिवर्तन गर्नेको लहर चल्छ । आफूलाई जताबाट फाइदा हुन्छ, आयारामहरू त्यतै प्रवेश गर्छन् । गत स्थानीय तहको चुनावमा अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नेको ओइरो थियो । 

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पनि पार्टी फेर्नेको संख्या उत्तिकै देखियो । मधेशमा त एमाले प्रवेश गर्नेको लर्को नै लागेको देखियो । कतिपयले टिकटका लागि पार्टी छाडे भने कतिपयले सत्ता गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै दल बदले । विशेषतः नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ता तथा नेताहरू बाक्लै हिसाबमा एमालेतिर छिरेर रातारात टिकट पनि लिए ।

यसरी गयाराम हुनेमा लोसपाबाट प्रल्हाद गिरी, एकवाल मियाँ, उमाशंकर अरगरिया, अमृता अग्रहरी, डा. रिना यादव, राजेशमान सिंह, मनचुन देवी, अजयकुमार गुप्तालगायत थिए, जो एमाले प्रवेश गरे । जसपाकी रुही नाज, अञ्जुकुमारी यादवलगायतले पनि पार्टी परित्याग गर्दै एमाले छिरेको घोषणा गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २७ गते उनीहरूलाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् । 

कांग्रेसबाट उमेश महतो, जयनारायण मण्डल, रामबाबु यादव, सन्तोषकुमार यादव, विजेता झा, रामउद्दिन राम, शम्भु साह, अरबिन्द साह, मानबहादुर लामालगायतका नेताहरू चुनावको मुखमा एमाले छिरेका थिए । नेकपा एकीकृत समाजवादी पार्टीबाट पुण्य गौतम, भूपेन्द्र साह, आलम गिर हुसेनलगायतका नेताहरू एमालेमा पसे । त्यसैगरी सोही पार्टीबाट सुन्दर विश्वकर्मा, सीता गुरुङ, बिना बुढाथोकी, विक्रम शाही, तारा लामा तामाङ, अशोक चन्द, वीरबहादुर बुढाथोकीलगायतका नेताहरूले पनि एमाले रोजे । यीमध्ये तारा लामा कञ्चनपुरबाट प्रतिनिधिसभा सदस्य भएर काठमाडौं आउँदैछन् । 

लोसपाका नेता अजयकुमार गुप्ता मधेशकेन्द्रित दलले पार्टी संगठन गर्न नसकेको आरोप लगाउँदै चुनावको मुखमा एमाले पसेका हुन् । उनी यसअघि गौर नगरपालिकाको मेयर थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नराम्ररी पराजित भए । माओवादीबाट एमाले प्रवेश गरेर सचिव बनेका अर्का नेता लेखराज भट्टले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ डोटीबाट झरेका कांग्रेस उम्मेदवार वीरबहादुर बलायरसँग पराजित भए । बलायरले २६ हजार १७२ मत ल्याउँदा भट्टले २२ हजार ५८७ मत पाएका थिए ।

माओवादी छाडेर एमालेमा पस्नेमध्ये जितेका ज्वालाकुमारी साह (बारा) र टोपबहादुर रायमाझी मात्रै हुन् । अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका रायमाझीले नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले पराजित गरेका छन् । माओवादीबाट वीरगञ्जको एउटा गाउँपालिका रहेका जालिम मियाँ पनि एमालेबाट लड्ने अर्का पात्र हुन् । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठेका । 

मियाँ कांग्रेस उम्मेदवार रमेश रिजालसँग ५ हजार ५३० मतान्तरले पराजित भएका छन् । लोसपाका नेता तथा सचेतक उमाशंकर अरगरियालाई एमालेले धनुषा–२ बाट उठाएको थियो । उनी कांग्रेस नेता रामकृष्ण यादवसँग अरगरिया १५७ मतान्तरले पराजित भएका छन् । 

जसपा नेतृ लक्ष्मी महतो टिकटकै लागि एमाले छिरेर महोत्तरी–१ बाट उठी माओवादीका गिरिराजमणि पोख्रेललाई हराएका छन् । पार्टी विभाजनको क्षति शोधभर्नाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भकाभक अन्य पार्टीका नेता–कार्यकर्तालाई भित्र्याएका थिए । तर, सोचेअनुरूप नतिजा ल्याउन भने असमर्थ रहे । एकीकृत समाजवादीका नेता वसन्त बस्नेत सैद्धान्तिक रूपमा राजनीतिमा लागेको नेता फाइदा हेर्दै यताउता नगर्ने बताउँछन् । ‘जो स्वार्थका लागि राजनीतिमा लागेको हुन्छ, उसले अन्यबाट अवसर पाउनेबित्तिकै पार्टी परित्याग गरिहाल्छ’, उनले भने । यो वर्ष सम्पन्न निर्वाचनमा नेकपा एस छोड्नेभन्दा प्रवेश गर्ने एमालेको संख्या दोब्बर रहेको उनको दाबी छ । 

 

टिप्पणीहरू