युद्धक्षेत्रमा जाने सेनालाई विशेष राहदानी

युद्धक्षेत्रमा जाने सेनालाई विशेष राहदानी

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाअन्तर्गत सिरियामा खटिने सबैजसो नेपाली शान्ति सेनाले अबदेखि नीलो राहदानी पाउने भएका छन् । यसअघि परराष्ट्र मन्त्रालयको राहदानी विभागले अधिकृत स्तरबाहेक तल्लो दर्जाका कसैलाई पनि नीलो (अफिसियल) पासपोर्ट उपलब्ध गराउने चलन थिएन ।

एउटा सर्वसाधारण नेपाली नागरिकले व्यक्तिगत कामको सिलसिलामा विदेश जाँदा व्यक्तिगत प्रयोजनका लागि हरियो (पोहोरदेखि इ–पासपोर्ट खैरो) पासपोर्ट बनाउने तर सोही व्यक्ति सरकारी कामका लागि जाँदा हैसियतअनुसार नीलो या रातो राहदानी बोक्ने अधिकार राख्दछ । शान्ति सेना पनि सरकारी कामकै लागि जानुपर्ने भएकाले उनीहरूलाई नीलो पासपोर्ट उपलब्ध गराउन रक्षा र परराष्ट्र मन्त्रालयबाट टिप्पणी नै उठाएर नीतिगत निर्णय गरिएको हो । अस्तिदेखि यो निर्णय कार्यान्वयनमा गएको छ । 

सिरियामा खटाइने सबैजसोले तालिमलगायत विभिन्न किसिमका प्रशिक्षणनिम्ति कहिलेकाहीँ इजरायल जानुपर्ने हुन्छ तर सिरियाको भीसा र छाप लागेको पासपोर्टलाई उसले राम्रो मान्दैन । हाकिमहरूलाई त बेग्लै राहदानी बोक्ने हुँदा समस्या भएन । यसरी तल्लो दर्जाका सैनिकहरू भने उच्चस्तरको तालिम लिनबाट वञ्चित हुँदै आएका थिए । त्यही समस्यालाई समाधान गर्न पनि शान्ति मिशनमा तैनाथ नेपालीले व्यक्तिगत र नीलो पासपोर्ट बोक्न पाउने व्यवस्था गरिएको हो ।

यो निर्णयसँगै सिरियामा खटिने तल्लो दर्जाका सैनिकले व्यक्तिगत र नीलो गरी दुइटा पासपोर्ट बोक्न सक्ने बाटो खुलेको छ । सिरियाबाट फर्किआएपछि भने नीलो पासपोर्ट तालुक कार्यालयलाई नै बुझाउनुपर्ने र पुनः सरकारी कामको सिलसिलामा विदेश जाँदा अवधि बाँकी भए प्रयोग गर्न पाउने व्यवस्था गरिएको परराष्ट्र स्रोतले जनाएको छ । नीलो राहदानीबाहकलाई चीन, थाइल्याण्डलगायत कतिपय देशमा भीसा लाग्दैन भने भीसा लाग्ने ठाउँले शुल्क लिने चलन छैन ।

राहदानी नियमावलीको दफा ६ मा शान्ति स्थापनार्थ खटी जाने सेना र प्रहरीलगायत सबै कर्मचारीलाई नीलो पासपोर्ट दिने व्यवस्था छ । सोही दफालाई चलायमान गराउँदै यस्तो निर्णय भएको हो । यसअघि अधिकृत स्तरदेखि सहसचिवस्तरका निजामती कर्मचारीले मात्रै नीलो राहदानीको सेवा उपभोग गर्दै आएका थिए । 

शान्ति सेना कति ?

नेपालबाट विश्वका १२ द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना गर्न शान्ति सेना खटिएका छन् । करिब ५ हजार ५ सय ६३ को संख्यामा नेपाली शान्ति सैनिक विदेशमा छन् भने संयुक्त राष्ट्रसंघमार्फत यसरी सैनिक खटाउने मुलुकमा अहिले नेपाल तेस्रो नम्बरमा छ । यही महिना ४५० जनाको टोली मिशनमा गएपछि भने नेपाल दोस्रोमा उक्लनेछ । यसबीच लेबनानस्थित संयुक्त राष्ट्रसंघीय फोर्स युनिफिलको डेपुटी फोर्स कमाण्डरमा जर्नेल चोक ढकाल जाने भएका छन् । यसअघि शिवराम खरेलले सो कार्यभार सफलतापूर्वक निभाएका थिए ।
 

टिप्पणीहरू