रविको घण्टी र चितवनमा मच्चिएको हावाहुण्डरी

रविको घण्टी र चितवनमा मच्चिएको हावाहुण्डरी

चितवनमा विक्रम पाण्डे र उमेश श्रेष्ठले अथाह पैसा बाँडेको चर्चा छ । तर विक्रमले चुनाव जिते, उमेशले जित्न सकेनन् । रवि लामिछाने अहिले क्षेत्र नं. ३ बाटै उठेका भए विक्रमले पनि हार्थे । राप्रपा नेता उद्धव पौडेल रविका ससुरा । त्यसैले विक्रमसँग सेटिङ मिल्यो र रवि दुईमा आए । त्यसो त रविले पहिले ३ बाटै उठ्ने भनेपछि नै प्रचण्डले चितवन छोडेको भन्नेहरू पनि छन् । तर रविको डरले भन्दा पनि चितवनका कांग्रेसीको भर नलागेर प्रचण्ड गोरखा गएको अर्कोथरी ठम्याइ छ । 

हुन पनि कांग्रेसको आफ्नै मतदाता २८–३० हजार रहेको भनिएको ठाउँमा गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीलाई जम्मा २५,८२४ मतमात्रै प्राप्त भयो । यहाँ केही नभएपनि १५÷१७ हजार त माओवादी केन्द्रको आफ्नै मत हुनुपर्छ । नेपाली कांग्रेसका बागी दिनेश कोइरालालाई १२,२७५ मत कहाँबाट गयो ? विगतको निर्वाचन परिणामअनुसार यस क्षेत्रमा एमालेका २५÷२६ हजार मतदाता थिए । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर दिनेशलाई नै सघाउने भनेपनि एमाले मत विक्रमको पनि पोल्टामा प¥यो । यसको बदला विक्रमले एमाले नाइकेहरूको पहिल्यै खल्ती भरेको गाइँगुइँ छ । यस्तै केही हजार कांग्रेसी मत पनि आफूतिर तान्न विक्रम सफल भए । 

अतः राप्रपाको आफ्नै मत बढीमा ८÷१० हजार भएको ठाउँमा विक्रमले यो प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३५,०६० मत प्राप्त गरी फराकिलो मतान्तरले जितेका छन् । केही एमाले मत डा. भोजराजतिर पनि बाँडिएकै हो । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराललाई त घण्टीको लहैलहैमा एमाले, कांग्रेसलगायत अरुले पनि दिएर १४,८४३ मत प्राप्त भएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा हरि ढकाल विजयी हुनुको कारण पनि घण्टीकै हावाहुण्डरीले निम्त्याएको असर हो । रविको नाम र घण्टी चिन्हकै बलमा ढकालले ३४,२१८ मत पाउन सकेका हुन् । क्षेत्र नं. १ मा गठबन्धनको उम्मेदवार रहेका कांग्रेस नेता विश्वनाथ पौडेललाई विद्वान मान्छे भनेर के गर्नु ? पटक–पटक चुनाव जितेर मन्त्री पनि भएका एमाले नेता सुरेन्द्रप्रसाद पाण्डेलाई समेत यो आँधीले बढारेर भित्तामै पु¥याइदियो । विश्वनाथले २५,०२२ र पाण्डेले जम्मा २६,६३४ मतमात्रै हात पार्न सके । 

जनभावनासँग जोडिएको हुन्छ चुनाव, हावा जता बग्छ, जनता त्यतैपट्टि लाग्छन् । अहिले एमाले र गठबन्धन दलहरूको रक्सी अनि मासुभात खाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट खन्याउनेहरू समेत देखिए । रविले देश र जनताको लागि अत्यन्तै ठूलो त्याग अनि योगदान गरेर यतिधेरै वाहीवाही कमाएका होइनन् । टिभी कार्यक्रममा अन्याय, अत्याचार अर्थात् उत्पीडनमा परेका आवाजविहीनहरूको आवाज फलाकेका थिए । त्यो त सञ्चारमाध्यमको काम नै हो । त्यही मिडिया पपुलारिटीको आडमा रविले देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्धको जनभावनालाई आफ्नो पक्षमा खिचेर राजनीतिमा एकाएक छलाङ मार्न सफल भएका छन् । एमाले, कांग्रेस र माओवादीको फोहोरी राजनीतिले वाक्कदिक्क भएका नेपाली जनताले त्यही वितृष्णाको कारण अहिले उनीहरूलाई देखाइदिन आँखा चिम्लेर घण्टी बजाएको पाइएको छ । क्षेत्र नं. २ मा एमालेका कृष्णभक्त पोख्रेलले १४,६५२ र गठबन्धनका उमेश श्रेष्ठले १४,९८८ मत ल्याउँदा रवि ४९,३०० मतकासाथ निकै फराकिलो अन्तरले विजयी भए ।

प्रदेशमा भोट नै नहालेका रविले प्रदेशसभामा आफ्नो उम्मेदवार पनि उठाएका थिएनन् । चितवन क्षेत्र नं. २ को प्रदेशसभा १ मा एमालेका कृष्णप्रसाद सिलवाल गठबन्धनका घनश्याम दाहालभन्दा १,२३९ मत बढी ल्याएर निर्वाचित भए भने प्रदेशसभा २ मा एमालेका देवीप्रसाद ज्ञवालीलाई गठबन्धनले पछा¥यो । देवीले १२,७६१ मत ल्याउँदा नेपाली कांग्रेसका उत्तम जोशीलाई १३,३२५ मत मिल्यो ।

क्षेत्र नं. ३ को प्रदेश १ मा राप्रपाकै गिरबहादुर तामाङ विजयी भएका छन् । तामाङले १७,८१९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सूर्यकान्त घिमिरेले १४,९५९ र एमालेका कृष्णप्रसाद भुर्तेलले ११,६२६ मत मात्रै पाउन सके । यहाँको प्रदेशसभा २ मा भने १५,४६६ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालले चुनाव जितेका छन् । यहाँ एमालेकी सरस्वती विष्ट (१०,१८६) राप्रपाकी रिना गुरुङ (१४,६२०) भन्दा पनि पछि परिन् । 

चितवन क्षेत्र नं. १ को प्रदेशसभा १ मा एमालेका जगनाथ थपलिया १७,७०५ मत ल्याएर विजयी भए भने गठबन्धनका किरण भुषण ओली (नेपाली कांग्रेस)लाई जम्मा १०,७२० मत प्राप्त भयो । १५,५३६ मतका साथ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल विजयी भएको प्रदेश २ मा निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश खनाल शैलेसलाई १४,८०२ मत प्राप्त भयो । चितवनमा समानुपातिकतर्फ पनि घण्टी नै पहिलो भएको छ ।

 

टिप्पणीहरू