मध्यराति श्रीमान्लाई पख्, मर्लास्

मध्यराति श्रीमान्लाई पख्, मर्लास्

एउटा न्यायाधीशको आदेशले देशै उलटपुलट हुने गरेको छ । तर, एक उम्मेवारले साँझ परेपछि श्रीमान्लाई नै झण्डै ‘उलटपुलट’ पारिदिँदा सिंहदरबारदेखि बालुवाटारसम्म हल्लिन पुग्यो । उम्मेदवारले न्यायाधीशका अगाडि ‘रगतको खोलो बग्छ’ भनेर औँला ठड्याउँदा यस्तो स्थिति आएको हो ।

एमाले उपाध्यक्ष सुवाष नेम्वाङले १ सय १४ मतान्तरसहित जित्नै लाग्दा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का सन्किए । त्यसको झोँकमा परे, जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाल । घटना इलाम, क्षेत्र नं. २ को हो । गणनाको शुरुवातदेखि नै सय–डेढ सय मतले कहिले सुवाष अघि, कहिले डम्बर अघि हुँदै आएका थिए । अन्तिममा सुवाष नेम्वाङ १ सय ३० मतले अगाडि हुँदा कांग्रेसको किल्ला मानिने साविक साँखेजुङ गाविस (इलाम नगरपालिका– १) मतदान केन्द्रको मतपेटिका खोल्ने निधो भयो । त्यहाँ १९ सय ९५ मतदान भएको चार बाकस मतपत्र थिए । डम्बरलाई विश्वास थियो, जहिल्यै कांग्रेसले जित्दै आएको मतदान केन्द्रमा आफ्नो मत पक्कै बढ्ला र जितिएला । त्यहाँबाट १२ सय मत कट्दा डम्बरले जित्दै थिए ।

बेलुकी ७ बजे ती बाकस खोल्नुअघि डम्बरकै अग्रसरतामा एउटा कागज गरियो, जबकि त्यसमा सही गरिनु आवश्यकै थिएन । लेखिएको थियो, ‘यो गणना गर्दा जे–जस्तो नतिजा आउँछ, त्यसलाई हामी सबै दलका प्रतिनिधिले स्वीकार गर्दछौँ । त्यसकै आधारमा अन्तिम नतिजा प्रकाशित गर्न मुख्य निर्वाचन अधिकृतज्यूलाई अनुरोध गर्दछौँ ।’ यसो भएपछि बाकस खोलियो, भोट गन्न थालियो । मतपत्र भुइँमा खन्याएर भाग लगाइसकेपछि डम्बरले आफ्नोतिरबाट गन्न माग गरे, त्यसै गरियो । मत गन्दै जाँदा गणना भइसकेका मतपेटिकालाई सय–सयका दरले मुठो पारेर बाँध्ने चलन छ । यसो गर्दा ९ सय ५२ बाट डम्बरको भोट बढेन, १२ सय मत नआई उनले जित्ने स्थिति थिएन ।

प्रदेशसभाका कांग्रेस उम्मेदवारचाहिँ त्यहीँबाट ३ सय मतले अगाडि, आफू पछाडि † यसरी उनलाई ‘साँखेजुङमा पनि हार्छु’ भन्ने कुराको रत्ति पनि विश्वास थिएन । त्यसैले समर्थकहरूलाई ‘अब चुनाव जितियो, जुलुस लिएर आओ’ भनिसकेका थिए । तर, चुनाव हारिँदै थियो । त्यसपछि उनको रनाहा छुट्यो । जुरुक्क उठेर भने, ‘म बहिष्कार गर्छु, मतपत्रमा सही नै नगरी भोट गनिँदैछ...†’ त्यहाँबाट निस्किएर पत्रकार सम्मेलन गरे । विजय जुलुसका रूपमा गाउँ–गाउँदेखि आएको भीड एकाएक विरोध जुलुशमा परिणत भयो । जुलुशमा आउनेहरू बसपार्कभन्दा अलिक माथि रहेको आफ्नै ठूलो रेष्टुरेण्टमा खानपिन गरेर आएका थिए ।

डम्बरले मतगणनास्थलमा भने, ‘यो मत जसले गणना गर्छ, त्यो कर्मचारीलाई हामी पनि बाँकी राख्दैनौँ ।’ न्यायाधीशतिर आँखा तानेर हेर्दै–भन्दै थिए, ‘नगन्नु है, नगन्नु † तिमीहरूले गन्यौ भने रगतको खोलो बगाउनु नपरोस्...† जसलाई मारे पनि जेलै जाने हो, न्यायाधीशै मारिन्छ...†’ यति भनेपछि श्रीमान्लाई काम पुग्यो, उनी ‘लुगलुग’ काम्दै मोबाइल छाम्न थाले । काठमाडौंमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई फोन गरे । उनको आग्रह थियो, ‘यो कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि भनिदिनुप¥यो †’ यो घटना हुँदा प्रहरीका एसपी दिलिप घिमिरे, सशस्त्रका सुरेश सापकोटासहितको फौज त्यहीँ थियो । डम्बरचाहिँ मतपत्र भेटेको भए च्यात्ने मनस्थितिमा थिए । तारजाली नभएको भए भरतपुर काण्ड दोहोरिँदै थियो । 

काठमाडौंबाट प्रमुख निर्वाचन आयुक्तले आइजी धीरजप्रताप सिंहलाई घटना सुनाएपछि धीरजले त्यहाँका एसपीलाई फोन घुमाए । यसपछि जिल्लाभरका सुरक्षाफौजलाई त्यहाँ केन्द्रित गरियो । यति हुँदा पनि कर्मचारीका हात कामेका काम्यै थिए, मत गन्न मानेनन् । घटना भएको डेढ घण्टापछि डम्बर त्यहाँ पुगे, साँझ साढे ८ बजेतिर । निवेदन लिएर गएका थिए । ‘हाम्रो अनुपस्थितिमा मतगणना भयो भने मान्दैनौँ, सहमति कायम गरेर हाम्रो उपस्थितिमा गरियोस्, अन्यथा उत्पन्न परिणामको जिम्मेवार तपाईंहरू आफैँ हुनुहोला’ भन्ने व्यहोराको उक्त निवेदन दर्ता भयो । फेरि न्यायाधीशलाई थर्काए, ‘तैंले यो नतिजा निकालिस् भने रगतको खोलो बग्छ, होसियार †’ 

काठमाडौंमा गृह सचिव विनोदप्रकाश सिंह, आइजीदेखि प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवासम्मलाई निर्वाचन आयुक्तहरूले फोन गरिसकेका थिए । आफ्नो क्षेत्रको मतगणनामा यत्रो लफडा भएको कुरा सुवाष नेम्वाङलाई थाहै रहेनछ । कसैले काठमाडौंबाट फोन गरेपछि बल्ल पत्तो पाए । बीचमा डम्बरलाई कसैले सम्झायो र उनी गणनाका लागि राजी भए । आफू गएनन्, प्रतिनिधि पठाए । यसपछि राति साढे ११ बजे मतगणना सकियो । 

सुनसरीका न्यायाधीश अर्जुन अधिकारी पनि यस्तै अप्ठेरोमा परे । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की क्षेत्र नं. ४ मा उम्मेदवार छन् । त्यहाँ मन्त्री स्वयंले पुनः मतगणनाको माग गरिरहेका छन् । धनुषामा सरकारी वकिल धर्मअवतार कोइरालालाई अर्को अप्ठेरो छ । क्षेत्र नंं. २ मा उनले प्रतिवद्धता गराए, ‘मतपत्रमा जति मत खसेको छ, त्यो गणना गर्ने । नतिजा निकाल्ने । यदि, प्रतिनिधिसभाको मतपत्र प्रदेशसभातर्फ हालेको छ भने स्वतः बदर गर्ने †’ यो कुरा शुरुमा त सबैले मानेर सही पनि गरे ।

नतिजा त्यही आधारमा आयो । लोसपाबाट एमालेमा गएर भोलिपल्टै उम्मेदवार बनेका उमाशंकर अरगरियाले झमेला निकाले । किनभने, समानुपातिकको मत गणना हुँदा प्रत्यक्षतर्फको मत भेटियो । अरगरियाले ‘त्यो मत मेरोमा जोडिदेऊ’ भन्ने, तर त्यो काम पूर्वसहमतिविपरीत हुने भयो भनेपछि लफडा छ । 

पाँचथरका न्यायाधीश टीकेन्द्र दाहालले पनि निर्वाचित उम्मेदवार वसन्त नेम्वाङलाई प्रमाणपत्र दिन सकेका छैनन् । पर्सा ३ मा योगनाथ ढकालको हालत त्यस्तै छ, नतिजा निकाल्न नसकेर । उदयपुरको क्षेत्र नंं १ मा परराष्ट्र मन्त्री डा.नारायण खड्काले अग्रता लिएका छन् । तर, एमालेले पुनः मतदानको माग राखेपछि जिल्ला न्यायाधीश कृष्ण सुवेदी लफडामा परेका छन् । 
स्याङ्जाको विवादमा आयुक्तहरूबीच मत बाझाबाझ छ । उता, भोलि १५ गते पुनः मतदान हुन लागेको दोलखाको वैतेश्वरमा चुनाव भाँडिनुको रिपोर्ट कस्तो बनाइयो भने, आजसम्म त्यहाँका जनताले मतदान नै गरेका छैनन् भन्ने गरी । 

नागरिक उन्मुक्ति पार्टीका महासचिवले चाहिँ समानुपातिकमा आफ्नो मत घटेको भनी निर्वाचन आयोगका सचिव गोकर्णमुनि दवाडीलाई नै फोनमा थर्काएको बताइन्छ । 
 

टिप्पणीहरू