यसरी लडाए सप्तरी २ मा सीकेले उपेन्द्रलाई

यसरी लडाए सप्तरी २ मा सीकेले उपेन्द्रलाई

मंसिर ४ गते सम्पन्न निर्वाचनमा सबैभन्दा अचम्मको परिणाम सप्तरी २ मा देखिएको छ । हारजितभन्दा पनि उपेन्द्र यादवले प्राप्त गरेकोभन्दा दोब्बर मतले सीके राउत विजयी भएपछि जनता समाजवादी पार्टीले कारण खोज्न आन्तरिक छलफल र गृहकार्य थालेको छ ।

‘सप्तरी २ मा कसरी पोजिसन उल्टियो ? भन्नेबारे हामी सुक्ष्म विश्लेषण गर्दैछौं,’ जसपाका एक जना नेताले बताए । गत बैशाखको स्थानीय तह निर्वाचनमा मुश्किलले एउटा नगरपालिका जितेको सीके राउतको जनमत पार्टीलेले जसपा अध्यक्षलाई अप्रत्यासित अन्तरले पराजित गर्नु नै सबैभन्दा अचम्मको विषय बनेको छ । 

‘पालिकाको चुनावमा जनमत पार्टीले एउटाबाहेक कहिँ जितेको थिएन । त्यो हिसाबले उनीहरुसँग ९ हजार मत थियो । तर अहिले पाएको मतले अचम्म बनाउनु स्वाभाविक हो,’ जसपाको अनौपचारिक निश्कर्ष छ । 

उक्त क्षेत्रमा सत्ता गठबन्धनले लोसपाको उम्मेदवारलाई उठाएको थियो । सो क्षेत्रमा लोसपासँग पनि नौ हजार जति मत रहेको आकलन गरिएको थियो । तर, चुनावअघि पारिबाट आएको ‘विशेष दस्ताले’ गरेको विशेष चुनावी दौडका कारण जसपा अध्यक्षले हार व्यहोर्नुपरेको बताइन्छ ।

उताबाट योजनाबध्द रुपमा पठाइएका भारतीयहरु सप्तरीमा आएर ढुक्कैसँग बसेको बताइन्छ । उनीहरुले बिस्तारै राजनीतिक महौल बिगारेको जसपाको बुझाइ छ । ‘सप्तरीमा माओवादीको एउटा क्षेत्रमा ठीकै देखिन्छ । तर पनि उसले मरिमेटेर सीकेलाई सघायो,’ जसपा स्रोतको ठहर छ ।

भारतीय खुफिया एजेन्सी ‘र’ को टिम चुनावको केही समय अघिदेखि वीरगञ्ज र सप्तरीमा आएर बसेको जसपाको दाबी छ । त्यसमध्ये एउटा टोली राउतको क्षेत्रमै पलेटी कसेर बसेको,विभिन्न नाता लगाउँदै रकम बाँडेको र नाटकरुपी प्रचार गरेका कारण यादवको पराजय भएको जसपा नेताहरु बताउँछन् ।

त्यसरी हराउनैपर्ने गरेर उपेन्द्रसँग भारत रिसाउनुपर्ने कारण के होला ? भनेर जनआस्थाले सोधेको जिज्ञासामा एक जना पदाधिकारीले भने,‘सतहमा त्यस्तो कुनै पनि कारण देखिँदैन । हामीले भनेको कुरो यादवले मान्दैन भन्ने भारतको संस्थापन पक्षलाई परेको छ । त्यसमा मलजल नेपाली काँग्रेस र माओवादीले गरेका हुन् ।’

विगतमा एमाले अध्यक्ष केपी सरकारको पालाको घटनाक्रम उल्लेख गर्दै उनले ‘र’ का चिफ सामन्त गोयलसङ्गको गोप्य भेटलाई पनि अहिले जसपाले केलाएको छ । त्यतिबेला उनी आएर प्रधानमन्त्री केपी शर्मालाई भेटेपछि उपेन्द्र र महन्थहरुको पार्टी एकीकरण भएर जसपा बनेको थियो । 

त्यसपछि महन्थहरुले पार्टीलाई सरकारी कित्तामा लैजान कोशिस गरेपछि उपेन्द्रले प्रतिरोध गर्दा भारत झस्किएको लगायतका कारण अहिले प्रस्फुटन भएको बताइन्छ । 
वर्तमान सरकारले निर्वाचन गराउने भएपछि जसपालगायत सबैलाई काँग्रेस र माओवादीको खेमामा पुर्याउने कोशिस पारिबाटै भएको दाबी उक्त पार्टीका नेताहरुले अनौपचारिक कुराकानीमा बताए । त्यसमा पनि भारतको प्राथमिकता लोसपा रहेको बताइन्छ । 

त्यसैले महन्थ र राजेन्द्र महतोहरुको लोसपालाई सरकार र सत्ता गठबन्धनमा प्रवेश गराउन माओवादी र काँग्रेसले हरसम्भव प्रयास गरेको जसपाको ठम्याइ छ । त्यसमा उपेन्द्रहरुले रोक्न खोजेको भन्दै सत्ता गठबन्धनले सीट बाँडफाँडको क्रममा जसपाको सीट घटाएको निश्कर्ष छ । ‘त्यो भनेको हामीसँग निहुँ खोजेको मात्रै हो,अरु केही होइन,’ जसपाका अर्का पदाधिकारीले भने । 

उदाहरण दिँदै अगाडि बताए, ‘पहिले काठमाडौं ७ दिइएको थियो,तर पछि खोसे । मोरङको ५ पनि दिइएको थियो,त्यो पनि मानेनन् । जसपालाई साइजमा ल्याउन उताको योजनाबमोजिम सबै काम तमाम गरियो । सप्तरी २ को परिणाम पनि त्यही हो ।’

टिप्पणीहरू