रातभर ननिदाएको काठमाडौं महानगर

रातभर ननिदाएको काठमाडौं महानगर

राजधानीको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हिजो अप्रिय घटना भयो । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित बागमती किनार पुगेपछि स्थानीयले ढुंगामुढा गरेका हुन् । उनीहरु टायर बाल्दै र ग्यासको सिलिण्डर बोक्दै प्रदर्शनमा उत्रिए । कतिपय नाङ्गो खुकुरी बोकेर आक्रमण गर्न पुगेका थिए । स्थिति अचानक नियन्त्रणबाहिर गयो । दुई पक्षबीच झडप हुँदा तीन दर्जन महानगर प्रहरी घाइते भए । तीन जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

महानगरको टोली डोजरसहित पुगेपछि सुकुम्बासी बस्तीमा आतंक मच्चिएको थियो । त्यसपछि उठिबासको त्रासले रातभर निदाउन नसकेको उनीहरुको भनाइ छ । मंसिरको चिसोमा कहाँ जानु ? भन्ने चिन्ता उनीहरुमा देखिन्थ्यो । त्यहाँका सयौं जनाले सामूहिक रात्रिभोज गरे अनि रातभर जाग्राम बसे । रातभर महानगरका मेयर बालेन्द्र साहलाई मुखमा आएजति गाली गर्न भ्याए । 

मेयर बालेनविरुद्ध आक्रामक नाराबाजी गर्दै उनको ज्यान खतरामा रहेको धम्कीसमेत दिन भ्याए । एकापसमा सुकुम्बासीहरुले तालिबानको जस्तो आन्दोलन गर्ने घोषणा गरे । यता, महानगर कार्यालय पनि मध्यरातसम्म खुल्लै थियो । महानगरपालिकाले राति नै विज्ञप्ति जारी गरेर सुकुम्बासी बस्तीमा भएको घटनाको कडा शब्दमा निन्दा गरेको थियो ।

महानगरले आक्रमणकारीको नामसहित महानगरीय प्रहरी वृत्त, टेकुमा जाहेरी दिएको उल्लेख छ । मेयर बालेन र उपमेयर सुनिता डंगोल घाइते नगर प्रहरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन हिजो राति नै नर्भिक अस्पताल पुगेका हुन् । 

त्यसपछि मेयरले राति नै सामाजिक सञ्जालमा आक्रोशमिश्रित भिडियो सार्वजनिक गरे । भिडियोमा उनले भनेका छन्, ‘राजधानीमा खुला रुपमा आतंकवाद फैलिँदा सरकार के हेरेर बसेको छ ?’ तर आज बिहानैदेखि काठमाडौं महानगरपालिकाको कार्यालय अघिल्तिर सुकुम्बासीहरुले चर्को नारा घन्काए । कालोपट्टी टाउकोमा बाँधेर उनीहरुले महानगरपालिका घेरे । वरपरको ट्राफिक अस्तव्यस्त बन्यो । 

महानगर कानूनविपरीत संरचना खडा गरेर बसेको सुकुम्बासीप्रति आक्रोशित छ, सुकुम्बासीहरु महानगरप्रति । संविधानले दिएको गाँस, बाँस र कपासको अधिकारका लागि भइरहेको दंगाले यतिखेर सर्वत्र चर्चा भएको छ । महानगर ‘एक्सन’ मा उत्रिएपछि धेरैले आफ्नो मुख खोलेका छन् । 

विकल्पसहित उनीहरुको व्यवस्थापन गरिनुपर्ने माग उठेको छ । यद्यपि, यस विषयमा गहिरो र बौद्धिक बहस हुनसकेको छैन । राजनीतिक दलहरु सुकुम्बासी बस्तीमा पुगेर भोटको राजनीति गरेको आरोप लाग्दै आएको छ । महानगरले सुकुम्बासी बस्तीमा डोजर लगाउनुअघि वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्ने भने देखिएको छ ।

टिप्पणीहरू