यहीं रोक्न सकिन्छ यी युवालाई

यहीं रोक्न सकिन्छ यी युवालाई

भनिन्छ, शिक्षा ज्ञानको भण्डार हो र अन्धकारको ज्योति । तर, पछिल्लो समय शिक्षा नै महँगिँदै गएको छ । सरकारी विद्यालयमा शिक्षक/शिक्षिकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान नगर्दा निजी शिक्षण संस्था खुल्ने क्रम बढ्दो छ । प्रत्येक दिन निजी स्कुल तथा कलेज खुलिरहेका छन् र विद्यार्थी ठगिएका छन् । गरिब तथा मध्यमवर्गका विद्यार्थीले शिक्षाबाटै वञ्चित हुनुपर्ने अवस्था देखिँदैछ । ०७२ सालको संविधानमा कक्षा १ देखि १२ सम्म निःशुल्क पढाउने प्रावधान छ तर यो व्यवहारमा भने लागू भएको देखिन्न । अहिले पनि विद्यालयमा विद्यार्थीसँग भर्ना शुल्क, मासिक शुल्क वा अन्य नामका शुल्क लिइन्छ । 
विद्यार्थीलाई भविष्यको कर्णधार भनिन्छ तर विद्यार्थी धमाधम विदेश पलायन भइरहेका छन् । अभिभावकले सानैदेखि पढाउँदा गरेको लगानी उठाउनकै लागि भए पनि विद्यार्थी माध्यमिक वा उच्च माध्यमिक तह उत्तीर्ण हुनासाथ अमेरिका, अष्ट्रेलियातिर जाने गरेको पाइन्छ । गरिब परिवारमा जन्मिएकाहरू भने माध्यमिक तहसम्म दुःख–सुख सरकारी विद्यालयमा पढेर रोजगारीका लागि खाडी मुलुकतिर लाग्ने गरेका छन् । नेपालमा मानिसले चाहेजस्तो र रोजेजस्तो शैक्षिक संस्था भएर मात्रै के गर्नु, आर्थिक अवस्था कमजोर भएकै कारण विद्यार्थीहरु पढ्नबाट वञ्चित छन् । 

गाउँदेखि शहरसम्मै विद्यालयको कमी छैन तैपनि विद्यार्थीहरू किन शिक्षाबाट वञ्चित भइरहेका होलान् ? सरकारी विद्यालयमा शिक्षक÷शिक्षिकाले मन लगाएर नपढाउने र निजी विद्यालयमा पढ्न सक्ने क्षमता नहुँदा पनि विद्यार्थी शिक्षाबाट वञ्चित भएको हुनसक्छ । सरकारी विद्यालयमा उसै त चर्को राजनीति छ । ग्रामीण क्षेत्रमा अहिले पनि सरकारी विद्यालय पुग्न २ देखि ३ घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता छ । कतिपय मानिसमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना छैन, जसले गर्दा अशिक्षितको दर खासै घटेको पाइन्न । सरकारीदेखि निजी सबै राम्रा विद्यालय तथा कलेज शहरकेन्द्रित छन्, जसको प्रतिफल ग्रामीण क्षेत्र बस्ने गरिबका छोराछोरीले भोग्दैछन् । 

पर्याप्त श्रोत, साधन, तालिम र अवसरको अभावमा समेत सरकारी विद्यालयका शिक्षक/शिक्षिकाले राम्रो तथा गुणस्तरीय शिक्षा विद्यार्थीलाई नदिएपछि निजी विद्यालयको कमाउधन्दा फस्टाएको हो । अचेल देशको ठूलो जनशक्ति विदेश पलायन भइरहेको छ र गाउँदेखि शहरसम्म नै बूढाबूढी र केटाकेटी मात्रै छन् । सरकारले नै गरिब र धनीबीच भेदभाव गरेपछि कसरी विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँछन् ? चर्को शुल्क लिएर शिक्षाको नाममा ठग्ने विद्यालयलाई कानुनको दायरामा ल्याउनुपर्छ र पढाइभन्दा बढी राजनीतितिर लाग्ने शिक्षक÷शिक्षिकालाई कारवाही गर्न सक्नुपर्छ । 
यसले गर्दा सबै गरिब तथा मध्यमवर्गका बालबालिकाले शिक्षा पाउँछन् र विदेश जाने क्रम पनि घट्छ । विदेशिने क्रम घटेसँगै देश विकासमा टेवा पुग्छ । 

 

टिप्पणीहरू