नदी किनारका सुकुम्बासी हटाउने निर्णय अलपत्र

नदी किनारका सुकुम्बासी हटाउने निर्णय अलपत्र

गत कात्तिक २५ गते नदी किनारका सुकुम्वासी बस्ती हटाउने १० दिने सूचना जारी गरेको अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति हेरेको हेर्यै भएको छ । सूचनामा काठमाडौँ उपत्यकाभित्र बाग्मती र यसका सहायक नदी किनारहरुमा तोकिएको मापदण्डविपरीत अनाधिकृत रुपले बनाइएका घर,टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारीसाधनहरु हटाउन निर्देशन दिइएको थियो तर यो सूचनाको कसैले सुनुवाइ गरेको पाइएन ।

सुकुम्बासी बस्तीका कारण राजधानीको सौन्दर्यमा गम्भीर असर परेको समितिको ठहर छ । समितिले सुकुम्बासी बस्ती र यस्ता निर्माण सामग्री हटाउन मंसिर ४ गतेसम्मको समयसीमा तोकेको थियो ।

तर,हालसम्म पनि त्यस्ता बस्ती हटाउने कुनै प्रक्रिया अघि बढेको छैन । आफ्नो बासस्थान खोस्न खोजेको भन्दै सुकुम्बासीहरुले चुनावको मुखमा आन्दोलन चर्काएका थिए । समितिले अवैध घर टहरा हटाउन अल्टिमेटम दिएपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, भूमिअधिकार तथा श्रमिक संगठन,नेपाल सुकुम्बासी व्यवस्थापन संघजस्ता दर्जनभन्दा बढी संघ संगठनहरुको अगुवाइमा माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्यालीसमेत निकालिएको थियो ।

‘चुनावको मुखमा उठिबास लगाउन खोजियो,’ उनीहरुको आरोप छ । यता,नेपाली काँग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले समितिको सूचनालाई चुनावी एजेण्डा बनाए । उनले सुकुम्बासी बस्ती हटाउन नमिल्ने आवाज बुलन्द पारे । काठमाडौं महानगरपालिका क्षेत्रबाट सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै उनले समितिको निर्णयमाथि नै तीव्र प्रहार गरे । त्यतिले नपुगेपछि सुकुम्बासी बस्तीमै पुगेर महानगर क्षेत्रबाट सुकुम्बासी बस्ती नहटाइने र उचित व्यवस्थापन गरिने आश्वासनसमेत दिए । 

‘सरकारी जग्गा कब्जा गर्नु आफैँमा गैरकानूनी हो । सुकुम्बासी समस्याको व्यवस्थापन गर्न नसक्दा कतिपय हुने खाने वर्गसमेत सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर बसेको पाइएको छ ।"

प्रकाशमानझैँ अन्य राजनीतिक दलका नेताहरु पनि सुकुम्बासीहरुको पक्षमा उभिए । समितिले जारी गरेको सूचना उम्मेदवारहरुलाई भोट माग्ने राम्रो मसला नै बन्यो । राजनीतिक दलका नेताहरुले गरेको विरोध र सुकुम्बासीहरुले चर्काएको आन्दोलनका कारण समितिको निर्णय अहिले अलपत्र बनेको छ । 

सूचना जारी गरेको १५ दिन बितिसक्दा पनि सुकुम्बासी बस्ती हटाउने कि नहटाउने भन्नेमा समिति आफैँ रनभुल्ल परेको छ । त्यहीँभित्र दुई मत देखिएको बताइन्छ । ‘सुकुम्बासी हटाउनुपर्ने र हटाउन नहुने दुई पक्षमा देखिएका छन्,’ समितिका एक जना सदस्यले बताए । यता राजनीतिक दलको संरक्षणका कारण सुकुम्बासी बस्ती हटाउने कार्य जटिल हुँदै गएको सर्वसाधारणको बुझाइ छ । 

ती बस्तीमै पनि दुई किसिमका सुकुम्बासी देखिएका छन् । कसैले आफूलाई उच्चस्तरको सुकुम्बासी बताउने गरेका छन् भने कसैले सामान्य । राजधानीमा मात्र नभई अन्य जिल्लामा पनि पछिल्ला दिनमा सुकुम्बासी समस्या जटिल बन्दै गएको छ । सुकुम्बासीलाई सरकारी जग्गा दिने प्रवृत्तिका कारण समस्या गहिरिँदै गएको सो क्षेत्रका जानकारहरुको बुझाइ छ । 

उनीहरु भन्छन्, ‘सरकारी जग्गा कब्जा गर्नु आफैँमा गैरकानूनी हो । सुकुम्बासी समस्याको व्यवस्थापन गर्न नसक्दा कतिपय हुने खाने वर्गसमेत सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर बसेको पाइएको छ । 

सुकुम्बासीका कारण सरकारी जग्गा क्रमशः घट्दै गएको छ । यता, समितिका सदस्य सचिव सुवाष बस्नेत सुकुम्बासी हटाउन छिट्टै आवश्यक प्रक्रिया अघि बढाउने बताउँछन् । सबै सुरक्षाकर्मी चुनावमा खटिएकाले उक्त प्रक्रिया शुरु गर्न नसकिएको उनको भनाइ छ । उनले भने, ‘अबको दुई तीन दिनमा छलफल गरेर यो प्रक्रिया अगाडि बढाउँछौँ ।’

टिप्पणीहरू