कोरियाको हवाई टिकट यतै छापिने

कोरियाको हवाई टिकट यतै छापिने

सरकारले नेपाली कामदारलाई दक्षिण कोरिया पठाउन हवाई टिकट छाप्न लागेको छ । रोजगार अनुमति प्रणालीमार्फत काठमाडौंबाट कोरियाको राजधानी सियोलसम्म कामदार पठाउन आवश्यक पर्ने एकतर्फी हवाई टिकट छाप्न लागिएको बताइन्छ । 

वैदेशिक रोजगारी विभागअन्तर्गत ईपिएस शाखाले बोलपत्र आह्वान गर्दै टिकट छाप्नेबारे जानकारी गराएको छ । कोरोनाको कारण कोरियाले सीधा उडानबाट कामदार पठाउनुपर्ने शर्त राखेपछि टिकट छाप्न लागिएको जनाइएको छ । 

शाखाले उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ । गत भदौ २० देखि कात्तिक २१ गतेसम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको हो ।

भाषा परीक्षा दिएकामध्ये ६२ प्रतिशत अर्थात आठ हजार ७८५ जना उत्तीर्ण छन् । परीक्षामा सहभागी हुन १८ हजार ९५ जनाले आवदेन दिए पनि १४ हजार ४३ जना मात्र उपस्थित भएका थिए । 

पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ । पहिलो चरणमा ७ हजार १४२ जना उत्तीर्ण भएका छन् । 

शुरुका वर्षमा दुई हजार आठ सय कामदार लगेको कोरियाले सन् २०११ देखि उक्त संख्या बढाउँदै आएको छ । भाषा परीक्षा उत्तीर्ण भई हालसम्म करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

टिप्पणीहरू