सिड्नीको नेपाल महोत्सवमा नेपाली पत्रकारहरुमाथि दुर्व्र्यवहार

सिड्नीको नेपाल महोत्सवमा नेपाली पत्रकारहरुमाथि दुर्व्र्यवहार

अष्ट्रेलियाको व्यापारिक शहर सिड्नीमा आज नेपाल महोत्सव २०२२ सम्पन्न भएको छ । नेपालीहरुको सबैभन्दा धेरै बसोबास रहेको भनिएको सिड्नीको बरुडस्थित स्थानीय पार्कमा भएको महोत्सवमा हजारौं नेपाली सहभागी भएका थिए । तर एनआरएनएले आयोजना गरेको आजको कार्यक्रम विवादमुक्त हुन नसकेको बताइन्छ । 

विशेषगरी एनआरएनएले आयोजना गरेको कार्यक्रममा नेपाली पत्रकारहरुमाथि जानाजान भएको दुव्र्यवहारको कारण महोत्सव विवादको भूमरीमा फसेको छ । सीमित मिडियाकर्मीलाई मात्रै प्रवेश दिइएको र अष्ट्रेलियामा लामो समयदेखि सक्रिय एवम् नाम चलेका पुराना पत्रकारहरुलाई प्रवेश नदिइएकोमा धेरैले आलोचना गरेका छन् । 

सुरक्षाकर्मीबाट नियोजित रुपमा दुर्व्यवहार गराइएका कारण पत्रकारहरु पनि रुष्ट भएका हुन् । आजको नेपाल महोत्सवको विवाद सामाजिक सञ्जालमासमेत छरपष्ट भएको छ । 

कार्यक्रमा सहभागी हुन नेपालबाट चर्चित कलाकारहरु दीपक बज्राचार्य, न्हुँ बज्राचार्य, प्रकाश सपुतलगायत कलाकार सिड्नी पुगेका हुन् । फोटोको निम्ति मञ्च नजिकै पुगेका पत्रकारहरु हेमन्त काफ्ले र माधव गैह्रेमाथि भएको दुर्व्र्यवहारपछि  सिड्नीमा बसोबास गर्दै आएको नेपाली समूह एकाएक तातेको बताइन्छ । 

अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था एन्जाका अध्यक्ष चिरञ्जिवी देवकोटामाथि भएको दुर्व्यवहारबारे स्वयम् संस्थाका सचिव सरल गुरुङले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

आजको महोत्सवमा मिडियालाई नियोजित रुपमा बाइपास गरिएको बताइन्छ । त्यसैले एन्जाका नवनिर्वाचित अध्यक्ष देवकोटा, उपाध्यक्ष प्रकाश हुमागाईंलाई आमन्त्रण समेत गरिएको थिएन । नेपाली पत्रकारहरुलाई कुनै वास्ता नगरिएकोमा स्थानीय वुद्धिजीवीहरुले समेत विरोध गरेका हुन् ।

सोही विषय र काफ्ले तथा गैह्रेमाथि भएको धरपकडलाई लिएर सिड्नीका नेपाली पत्रकारहरुले विरोध जनाउने भएका छन् । आजको कार्यक्रममा एनआरएनएका क्षेत्रीय संयोजक दिनेशराज जोशी र केशव सापकोटलाईसमेत बोल्न नदिइएकोमा त्यहाँको नेपाली समुदाय रुष्ट भएको हो ।

टिप्पणीहरू