झुटो आश्वासन

झुटो आश्वासन

उहाँ आफ्नो चुनाव प्रचारमा आफ्नै ढंगले गइरहनुभएको थियो । कुनै अवरोध थिएन । उहाँ, अर्थात् अहिले हुन लागिरहेको चुनावका एक उम्मेदवार । यहाँ उहाँको नाम उल्लेख नगरौं । आचारसंहिता लागू भइसकेको छ ।

एक दिन चुनाव प्रचारको काम सकाएर उहाँ घर आउनुभएको थियो । उहाँको मोबाइलमा घण्टी बज्यो । चुनावको बेला छ, फोन जसको भए पनि उठाउनै प¥यो । हेलो !

‘हेलो ! म यता निर्वाचन आयोगबाट बोलेको ।’

‘हजुर, भन्नोस् ।’

‘तपाईंले निर्वाचन आचारसंहिताविपरीत काम गर्नुभएको रहेछ । सचेत गराउन फोन गरेको ।’

‘के विपरीत काम गरेँ ?’

‘तपाईंले आफ्नो भाषणमा यदि आफू जितेर गएँ भने देशबाट भ्रष्टाचार उन्मूलन गर्छु भन्नुभएको रहेछ । किन त्यसो भन्नुभएको ?’

‘भ्रष्टाचार उन्मूलन गर्छु भन्नु हँुदैन ?’

‘हुँदैन ।’

‘किन ?’

‘चुनावमा मतदातालाई झुटो आश्वासन दिनु हुँदैन भनेर आचारसंहितामा लेखिएको पढ्नुभएन तपाईंले ?’

‘तर यो त झुटो आश्वासन होइन नि !’

‘किन होइन ? यो सोह्रैआना झुटो आश्वासन हो । यसले आचारसंहिता उल्लंघन गर्छ । तपाईंलाई किन कारबाही नगर्ने ?’
‘..................’

उम्मेदवारको स्वर सुनिएन । अहिलेसम्मै सुनिएको छैन । 
 

टिप्पणीहरू