तानाशाहको छेउ पर्ने रहरमात्रै भो

तानाशाहको छेउ पर्ने रहरमात्रै भो

मार्गोट वोकको जन्म बर्लिनको भित्री शहर विल्मरस्डोर्फमा सन् १९१७ मा भयो । उनी जन्मेको एक वर्षपछि जर्मनीमा नाजी पार्टीको जन्म भयो । यसका नेता एडोल्फ हिटलरले देशप्रेमको ठुल्ठूलो कुरो गरे । प्रथम विश्वयुद्धताका उनी सेनामा थिए र घाइतेसमेत भएका थिए । विश्वयुद्धमा आफ्नो देशको पराजय भएपश्चात उनी निकै दुःखी र भावुक बने । युद्धले गर्दा जर्जर बनेको अर्थतन्त्रलाई ठीक पार्ने, भूमिसुधार गर्ने, वार्साइ सन्धि खारेज गर्ने र एउटा विशाल जर्मन साम्राज्य स्थापना गर्ने ताकि जर्मन जनता सुखले जीवन बिताउन सकुन्जस्ता विषयमा जोशिलो भाषण दिएपछि रातारात नागरिकहरू नाजी पार्टीको सदस्य बन्न पुगे । यसरी सन् १९२२ मा आइपुग्दानपुग्दै उनी एकजना प्रभावशाली नेता बन्न पुगे ।

सन् १९३० मा नाजी पार्टीले ‘लिग अफ जर्मन गर्ल्स’ गठन ग¥यो । सन् १९३३ मा हिटलर सत्तामा पुगेपछि युवतीहरूलाई उक्त लिगको सदस्य बन्न अनिबार्य गरियो । नतिजा लिगको सदस्य संख्या ४५ लाख पुग्यो । मार्गोट त्यो बेला १६ वर्षकी थिइन् तर उनले लिगको सदस्यता लिन अस्वीकार गरिन् । सन् १९३९ मा दोश्रो बिश्वयुद्ध शुरु भयो । त्यो बेला उनले बिहे गरिसकेकी थिइन् र एउटा कार्यालयमा सहायिकाको काम गर्दै थिइन् । यसबीच उनका मातापिताको बर्लिनस्थित घरमा बम प्रहार भयो । उनीहरू सबै जना ग्रोसपोर्स्च गाउँ (वर्तमानमा यो ठाउँ पोल्याण्डमा पर्छ) गएर मार्गोटको सासूको घरमा बस्न थाले । मार्गोटको लोग्ने युद्ध मैदानमा थिए । २ वर्षसम्म कुनै खबर प्राप्त नभएपछि उनीहरूले मरिसकेको ठाने । हिटलरको सबैभन्दा ठूलो सैनिक ब्यारेक वोल्फससान्चे र ग्रोसपोर्स्चको दूरी ३ किमि पनि थिएन । एकदिन उनलाई त्यहाँको मेयरले बोलाए र नाजी पार्टीको अर्धसैनिक संगठन स्चुत्जस्टाफेल (एसएस)मा भर्ती गरिएको सुनाए । लगत्तै नजिकको सैन्य ब्यारेक क्राउसेन्डोर्फमा खटाए । त्यहाँको २ तले भवनमा खाना पकाउने र वोल्फससान्चे ब्यारेकमा पठाउने गरिन्थ्यो । उनको काम थियो – पाकेको खाना चाख्ने । यो काममा उनीबाहेक अरु १४ जना युवतीलाई खटाइएको थियो ।

खाना चाख्ने समय मध्याह्नको ११ र १२ बजेको बीचमा हुन्थ्यो । भान्छामा कार्यरत कर्मचारीले भात, मटर कोसा, मरिच, काउली, चाउचाउ आदि राखिएको थालहरू टेबुलमा सजाइदिन्थे । हिटलर साकाहारी भएकाले मासु हुन्नथ्यो । खानेकुरो एकदम स्वादिष्ट हुन्थ्यो । जर्मनीविरोधी शक्तिराष्ट्रहरूले हिटलरलाई बीष ख्वाएर मार्ने षड्यन्त्र गरिरहेको हल्ला फैलेपछि हिटलरले खाने खाने कुरा पहिला मार्गोटलगायत १५ जना युवतीलाई चाख्न लगाउन थालिएको थियो । खाने कुरा चाख्नेहरूको तीन समूह बनाइएको थियो । पहिलोले खाने कुरोको पहिलो भाग चाख्थे भने दोश्रोले त्यसपछिको भाग अनि तेश्रोले अन्तिममा खाने मिठाइ । तीनै समूहले खाएपछि र खाने कुरो खतरामुक्त छ भन्ने प्रमाणित भएपछि बल्ल सैनिक जवानले खाने कुरो थालमा सजाएर मुख्यालय लान्थे । खाने कुरो चाख्नलाई खटाइएका युवतीलाई दिनहुँ बसबाट ल्याइन्थ्यो र काम सकेपछि घरघरमा पु¥याइदिन्थ्यो । युवती खानेकुरो चाख्नेबेला हरेकपटक मर्ने र बिरामी हुने डरले रुन्थे । खाना खाइसकेपछि कुकुर रमाएसरह रमाउँथे, कराउँथे र आज पनि ज्यान बचियो भन्दै खुशी हुँदै घर फर्कन्थे । यसबीच सन् १९४४ मा कर्नेल स्ताउफेनबर्गले वोल्फससान्चे ब्यारेकमै बसिरहेका हिटलरलाई मार्ने प्रयास गरेपछि सुरक्षामा अरु बढी सतर्कता अपनाइयो । अब मार्गोटहरू घर फर्कन पाएनन् । उनीहरूलाई नजिकैको खाली स्कुलमा बस्ने व्यवस्था मिलाइयो । हरेक बिहान ८ बजे स्कुलको झ्यालबाहिरबाट सैनिक कराउँथे – मार्गोट उठ !

हिटलरले खाने खानुअघि ज्यानको बाजी लगाएर ती खाना चाख्ने र ज्यान बचाइरहने उनी हिटलरलाई एकपटक नजिकबाट देख्न चाहन्थिइन् तर उनको उक्त सपना कहिल्यै पूरा भएन । बरु हरेक बिहान हिटलरले पालेको जर्मन शेफर्ड कुकुर चौरमा खेलिरहेको भने हेरिबस्थिन् । सन् १९४४ को अन्त्यतिर रुसी लालसेना वोल्फससान्चे ब्यारेक नजिक आइपुगेपछि एक जना लेफ्टिनेन्टले कठालो समातेर उनलाई घिसारेर लगे र जबर्जस्ती बर्लिन जाने रेलमा चढाइदिए । युद्धको अन्त्यपछि मार्गोट र ती सैन्य अधिकृतको पुनः भेट भयो । उनले मार्गोटबाहेक हिटलरको खाना चाख्ने अन्य चौधै जना युवती रुसी सैनिकद्वारा मारिएको खबर सुनाए । त्यसो त, बर्लिन पुगेकी मार्गोट पनि सुरक्षित भने भइनन् । बर्लिनमाथी कब्जा जमाइसकेपछि रुसी सेनाले घरघरमा पसेर नाजीहरू खोज्ने क्रममा उनी पक्राउ परिन् । शुरुको २ हप्ता बलात्कार र सामूहिक बलात्कारको शिकार पटकपटक बनिन् । लगातारको कुटपिट र बलात्कारले उनको यौनांग र पाठेघरमा ठूलो आघात पुग्यो र जीवनमा कहिल्यै सन्तान जन्माउन नसक्ने अवस्थामा पुगिन् ।

दोश्रो विश्वयुद्धको अन्त्य भएको १ वर्षपछि लोग्ने कार्लसँग उनको पुनर्मिलन भयो । कार्ल युद्धबन्दी बनेका रहेछन् । कार्लको निधन सन् १९८० मा भयो । उनीहरूको दाम्पत्य जीवन सुखद रह्यो । मार्गोटले युद्धको समाप्तिको लामो समयसम्म पनि आफू हिटलरको खाना चाख्ने काममा खटिएको कुरोमा मौनता नै साँधेर बसिन् । सन् २०१२ मा आफ्नो ९५ औं जन्मदिन मनाउँदै थिइन्, समारोहमा सहभागी स्थानीय पत्रिका ‘बर्लिङर जाइतुङ’ का पत्रकारसमक्ष बल्ल पहिलोपटक मुख खोलिन् । पछि इटलीका लेखिका रोसेल्ला पास्टोरिनोले त उनको जीवनीलाई लिएर उपन्यास नै लेखिन् । ‘एट दि वुल्फस् टेबुल’ युरोपमा सर्वाधिक बिकेको पुस्तक बन्यो । रोसेल्ला भन्छिन्, मार्गोटले कहिल्यै नाजीहरूको समर्थन गरिनन् न उनका बाबुले नै गरे । तर हरेक दिन, दिनको ३ पटक नाजी नेता हिटलरको ज्यान बचाउन लागिपरिन् । पछि मार्गोटले एउटा अन्तर्बार्तामा भनिन् ’त्यसबेलाको हाम्रो जीवन खोरमा थुनिएका जनावरको जस्तो थियो । एकदिन एकजना सैनिक भ¥याङको माध्यमबाट झ्यालबाट मेरो कोठामा पसे र बलात्कार गरी फर्के । मैले त्यसबेला जस्तो जीवनमा असहाय कहिल्यै महसुस गर्नुपरेको थिइन ।’ मार्गोटको निधन सन् २०१४ मा भइसकेको छ । मर्नुअघि उनले भनिन्, ‘हिटलर साँच्चिकै घृणित मान्छे थिए, सुंगुर थिए ।’

उनका अनुसार खाने कुरो चाख्नलाई भर्ती गरिएका सबै युवती आर्य नश्लका थिए । हिटलर यहुदीहरूलाई आनो घरमा त के घरको वरिपरि देख्नसमेत मन पराउँदैनथे । कुकुरभन्दा पनि तल्लो जात मान्थे । सन् १९३३ मा सत्तामा पुगेपछि उनले नश्लवादी साम्राज्य स्थापना गर्ने सपना देखे । प्रथम विश्वयुद्धमा जर्मनीले पराजय भोग्नुपरेको मुख्य कारण खोतल्नमा उनी असफल बनेका थिए । हारको मुख्य कारण नै यहुदीलाई देखे र जर्मन साम्राज्यको पुरानो गौरवलाई फर्काउन यहुदीलाई मास्नै पर्ने र युद्धकै माध्यमबाट शक्ति आर्जन गर्नुपर्छ भन्नेमा एकधूनमा लागे । यहुदीहरू नीच जातिका हुन्, जर्मनीको धार्मिक, ऐतिहासिक, दार्शनिक र मनोवैज्ञानिक दुरवस्थाको कारक यिनीहरू नै हुन् भने निश्कर्ष निकाले । तत्कालीन जर्मनीमा रहेका एउटा वर्ग जसले जातीय श्रेष्ठता, घृणा र हिंसाको आधारमा आफूलाई श्रेष्ठ ठान्थ्यो हिटलरले उनीहरूलाई मात्र गोलबन्द गर्दै गए । यिनै ‘श्रेष्ठ’ वर्गको आडमा दमन चर्काएपछि यहुदीहरू देश छाडेर भागे तर युरोपको अन्यत्र पनि उनीहरू सुरक्षित भने हुन सकेनन् । जब यहुदीहरूलाई सम्पूर्णरूपमा लघार्न सकेनन् तब हिटलरले उनीहरूको सर्वनाश नै गर्ने अन्तिम उपाय खोजे । यातना शिविरको स्थापनाको लक्ष्य यही थियो । जर्मनीले दोस्रो विश्वयुद्धताका विश्वमै यहुदीलाई मास्ने अभियानअन्तर्गत करिब ३ करोडको ज्यान लियो । जसमा ६ लाख त यहुदी मात्र थिए । १५ लाख केटाकेटी थिए ।

यहुदी सखाप पार्ने अभियानअन्तर्गत सबैभन्दा पहिला सेनाभित्रको यहुदीहरूलाई खासखास इलाकामा जम्मा हुन लगाइयो । उनीहरूबाट लिनुपर्ने सम्पूर्ण काम लिएपछि युद्धबन्दीलाई गरिने व्यवहार गरे अनि उनीहरूद्वारा उनीहरूकै संहार गर्न लगाए । यसका लागि ठाउँठाउँमा विशेष क्याम्प खडा गर्न लगाइयो । यीमध्येको एउटा कुख्यात क्याम्प थियो ‘आउसवित्ज’ । यहुदीहरूलाई पक्रेर यहाँ ल्याउँथ्यो र झ्याल ढोका थुनेर कोठाभित्र विषालु ग्यास छाडेर मारिन्थ्यो भने कतिपयलाई जिउँदै जलाइन्थ्यो । जमिन खनेर जिउँदै हुलका हुल गाड्थ्यो । भोकभोकै मर्न दिइन्थ्यो । पोल्याण्डस्थित उक्त क्याम्पमा मात्र ११ लाख यहुदीले ज्यान गुमाएका थिए । क्याम्पमा पस्न एउटा ठूलो फलामे ढोका बनाइएको थियो, जसलाई पछि मृत्युको ढोका भनियो । भित्र एउटा ठूलो भित्ता थियो, जहाँ यहुदीलाई बरफमाथि उभिन लगाइन्थ्यो र गोली हानेर माथ्र्याे । यो भित्ता पनि ‘मृत्यु भित्ता’ को नामले कुख्यात छ । जर्मनीले ‘आउसवित्ज’ जस्तो यातना शिविर युरोपभरि खोलेको थियो ।
 

टिप्पणीहरू