वर्षमान र पार्टीले मेरो उम्मेदवारीलाई स्वाभाविक रुपमा लिएका छन् : बागी उम्मेदवार दीपेन्द्र पुन

वर्षमान र पार्टीले मेरो उम्मेदवारीलाई स्वाभाविक रुपमा लिएका छन् : बागी उम्मेदवार दीपेन्द्र पुन

दीपेन्द्र कुमार पुन ‘सिजल’ रोल्पा ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रुपमा धारा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । रोल्पामा जन्मिएर डेढ दशकदेखि नेकपा (माओवादी केन्द्र) को जिल्ला इञ्चार्जका रुपमा काम गरेका उनले भुइँ तहसम्मका कार्यकर्तासँग राम्रो सम्बन्ध बनाएको बताइन्छ । सिजलले दश वर्षे जनयुद्धका क्रममा हातसमेत गुमाएका छन् ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य जितेका थिए । लामो समयसम्म माओवादीमा रहेर धेरै संघर्ष गरेका पुनले केही महिनाअघि पार्टीबाट राजीनामा दिएर आम निर्वाचनमा रोल्पा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनै दीपेन्द्रसँग जनआस्था संवददाताले गरेको कुराकानीको सम्पादित अंश :

 तपाईं लामो समयसम्म माओवादीमा रहेर संघर्ष गर्नुभएको मान्छे, पार्टीले टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ?

मैले पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएको होइन । गत स्थानीय तहको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन थियो तर नेपाली कांग्रेसले रोल्पामा एमाले र विप्लवसँग तालमेल गरेर माओवादीलाई हराउन खोज्यो । तर पनि नेपाली कांग्रेसका नेता कार्यकर्तालाई कुनै कारवाही भएन । यो अवस्थामा रोल्पाका काँग्रेसलाई मनलागे जे पनि गर्न मिल्ने रहेछ । त्यसैले हामीले प्रदेशसभा क्षेत्र ‘ख’ मा शहीद परिवार, घाइते, अपाङ्गता, बेपत्ता परिवारले मलाई हाम्रो मान्छेको उम्मेदवार हुनुपर्छ भनेर नेता कार्यकर्ताले दबाब दिँदै अनुरोध गरेका कारण स्वतन्त्र उम्मेदवारी दिएको हुँ । मलाई कुनै पद चाहिएर, पार्टीले टिकट नदिएर गठबन्धनविरुद्ध उम्मेदवारी दिएको होइन ।

हिजोसँगै सहयात्रा गरेका नेताहरुले तपाईंलाई भोट नदिन भन्दै हिँड्नुभएको छ, तपाईंले त भोट नपाउने देखिन्छ नि ?

त्यसो पनि नहोला । कसले के भन्दै हिँडेको छ, त्योप्रति मलाई कुनै चासो छैन । रोल्पा जिल्लामा मात्रै गठबन्धनका विरुद्ध मेरो बागी उम्मेदवार होइन, देशभरका धेरै ठाउँमा बागी उम्मेदवारहरु हुनुहुन्छ । जस्तै– चितवन, रुकुमलगायत देशको धेरै ठाउँमा यस्तो देखिएको छ । मेरो उम्मेदवारी अस्वाभाविक होइन ।

रोल्पामा मैले मात्र बागी दिएकाले मेरो चर्चा भएको हो । मैले राजीनामा दिएर पार्टीबाट निलम्बित भइसकेपछि स्वतन्त्र उम्मेदवारी दिएको हुँ । अब म एउटा स्वतन्त्र नागरिकको हैसियतले भोट मागिरहेको छु । यो संविधान र लोकतन्त्रमा भएको अधिकार प्रयोग मात्र मैले गरेको हुँ, मौलिक अधिकारको प्रयोग गर्न पाउनुपर्छ । जनताले मलाई भोट हाल्छन्, म ढुक्क छु ।

चुनाव जित्नका लागि हो कि आफ्नो असन्तुष्टि प्रकट गर्न तपाईंले उम्मेदवारी दिनुभएको ?

कुनै खेल खेल्दा हार–जित त भइहाल्छ, यो खेलको नियम हो । मेरो उद्देश्य भनेको यो क्षेत्रबाट निर्वाचन जित्ने नै हो । हार्नलाई कोही मैदानमा उत्रिँदैन । मैले खेलको नियम मात्र पालना गरेको हो । हार्ने नै भनेर मेरो उम्मेदवार होइन । मैले कुनै पद लाभको लागि उम्मेदवारी चाहिँ दिएको होइन ।

उम्मेदवारीपछि तपाईं र वर्षमान पुनबीच असहमति भएको देखिन्छ नि । यस्तो असहमतिले त राजनीतिक भविष्यमा असर पर्दैन र ?

हामीमा त्यस्तो असहमति केही छैन । वर्षमान पुनसँग प्रतिस्पर्धाका लागि मेरो उम्मेदवारी होइन । उहाँ प्रतिनिधि सभा र म प्रदेश सभा सदस्यको उम्मेदवार हो । विगतमा पनि राजनैतिक दलका मान्छेहरु स्वतन्त्र उम्मेदवार भएकै हुन्, फेरि निर्वाचनपछि पनि कुनै दलसँग जोडिएकै छन् ।

वर्षमानसँग व्यक्तिगत असमझदारीभन्दा पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसले जुन प्रकारको हर्कत देखायो, त्यसको प्रतिविम्ब नै मेरो उम्मेदवारी हो । वर्षमान र माओवादीसँग मेरो कुनै मतभेद होइन । मेरो उम्मेदवारीलाई स्वाभाविक रुपले लिनुपर्छ ।

प्रदेशसभामा त तपाईं आफ्नै लागि भोट माग्दै हुनुहुन्छ । प्रतिनिधिसभामा चाहिँ कसलाई भोट माग्नु हुनुहुन्छ ?

अहिलेको परिवेशमा म स्वतन्त्र हो, म मेरो लागि भोट माग्छु । प्रतिनिधिसभामा मेरो उम्मेदवार हुनुहुन्न । मैले आफ्नो विवेकले मतदान गर्नेछु । कसैको लागि भोट मागेको छैन ।

तपाईं पार्टीको नियमविपरीत जाँदा माओवादीका नेता–कार्यकर्ताहरु असन्तुष्ट छन्, के तपाईंले चुनाव जित्नु होला त ?

उहाँहरुको सन्तुष्टि–असन्तुष्टि होला, त्यो कुरा मलाई देखाउनु भएको छैन । उहाँहरु जे जति बोल्नुभएको छ, त्यो सबै गठबन्धनको भाषामा बोलिरहनु भएको छ । त्यो उहाँको धर्म हो । मैले स्वतन्त्र रुपमा भोट मागिरहेको छु, यो मेरो धर्म हो । त्यसकारण मलाई अन्यथा छैन ।

अहिले म स्वतन्त्ररुपमा धारा चुनाव चिन्हमा भोट मागिरहेको छु । म लगातार चुनावी अभियानमा रुन्टिगढीदेखि सुरु गरेर कोर्चाबाङसम्म पुगेको छु । जनताले सकारात्मक सुझाव दिनुभएको छ । जित्ने भनेर नै उम्मेदवारी हालिएको हो, मेरो जीत सुनिश्चित छ ।

पूर्व माओवादीसँग धेरै अपेक्षा गरेको छु, मलाई नै मतदान गर्नुहुन्छ । शहीद परिवार, घाइते, अपाङ्गता र युद्धकालीन आमजनताको भोट हाल्ने प्रेरणा पाएर नै मैले उम्मेदवारी दिएको हुँ । मेरो चुनाव चिन्ह धारामा भारी मत आउँछ । मैले कम्तीमा न्यूनतम ५ देखि बढीमा ७ हजार मतान्तरले चुनाव जित्ने अपेक्षा गरेको छु ।

तपाईंको चुनावी एजेण्डा के के हुन् ? चुनाव जितेर रोल्पाका लागि के गर्नुहुन्छ?

म गत ०७४ को निर्वाचनमा निर्वाचत भएको थिएँ । त्यतिबेला मैले गरेको काम जनतालाई अवगत नै छ । ती बाँकी रहेका योजना पूरा गर्नेछु । शिक्षा, स्वाथ्य, खानेपानी, यातायात व्यवस्थान, रोजगारलगायत सबै तहको विकास गर्ने छु ।

अन्त्यमा, आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ?

मेरा मतदाता तथा नेपालीजनमा दिपेन्द कुमार पुन ‘सिजल’ भनेर चिन्ने वा नचिन्ने सबैलाई मेरो निर्वाचन चिन्ह धारामा मतदान गरेर मंसिर ४ गतेको निर्वाचनमा अत्यधिक बहुमतले विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।

टिप्पणीहरू