सासूहरुलाई सुझाव : सासूआमा होइन, आमा बन्न सिक

सासूहरुलाई सुझाव : सासूआमा होइन, आमा बन्न सिक

-मुक्ति गौतम

कालापहाड, मणिपुर (भारत)

‘खबरदार ! हात नछोड्नुहोस् है’ किचनबाट आएको बुहारीको आवाज सुनेर सुशीला तुरुन्त किचनमा पुगिन् । अजयले रिनामाथि उज्याएको हात च्याप्प समाएर अजयका गालामा एक चड्कन लगाइन ।’

‘बिहे गरेको दुई महिना भएको छैन, अब त हात पो हाल्न थालिस् । महिला निर्बल हुन भनेर खोक्रो पुरुषार्थ देखाउँछस् ?’

अजय आमा भन्न खोज्दै थियो, निक्कै चर्को स्वरमा चुप पारेर सुशिलाले बुहारीलाई झगडाको कारण सोधिन् ।

‘आमा आज लुगा धुनु थियो । बाबुलाई दिउँसोको टिफीन पुर्याउन हजुर जानु न मात्र भनेकी थिएँ आमा ।’

‘ए मैले बुझें । तँ महिला भनेर हेप्ने ? रिनाले ठिकै भनिछिन् त । घरको काम मिलेर पो गर्नुपर्छ । खुरूक्क टिफीन लिएर जा,’ सुशीलाले हुकुम गरिन् ।

‘मेरो बैठकमा जानुपर्ने छ आमा,’ अजयले प्रतिकार गर्न खोज्यो ।

‘तेरो बैठक मैले बुझ्या छु । तिमी पुरूषहरू महिलालाई निर्जीव वस्तु ठान्दछौं । मनोरञ्जनको पात्र सम्झन्छौ । आफ्नो सम्पत्ति सम्झन्छौ । छोरी मान्छेलाई पुरुषले नोकर्नी जस्तो व्यवहार गरेको मलाई पटक्कै मन पर्दैन । म पनि कसैकी छोरी हुँ । यो घरमा बुहारी भएर आएँ ।

‘अहिले तेरा बुबाकी श्रीमती, तेरी आमा र रिनाकी सासूआमा हुँ । त्यसरी नै रिना कसैकी छोरी हुन् । यो घरकी बुहारी भएर आएकी छन् । भोलि सासू हुन्छिन् । म महिला भएकीले एउटी महिलामाथि भएको दुव्र्यवहार टुलुटुलु हेरेर बस्न सक्तिनँ बुझिस् । रिना यो घरकी उत्तराधिकारी हुन् । धर्मशास्त्रले पति पत्नीलाई दम्पत्ती भनेको छ,’ आमाले भनिन् ।

‘दम्पत्ती’ भनेको दुवै पति हुन् । आ–आफ्ना ठाउँमा दुवै पति हुन् । पुरुषका लागि महिला नोकर होइनन् बुझिस् ? आमा कड्किँदै भन्न थालिन्, ‘महिलाको पीडा महिलाले मात्र बुझ्छन्,’ सुशीलाले अजयलाई कडा स्वरमा थर्काइन् ।

रिना सासूआमाका आँचलमा टाउको लुकाएर रुँदै भन्न थाली, ‘आमा हजुर यस्तो महान हुनुहुन्छ भन्ने त मैले सोचेकै थिइनँ । मेरी जन्म दिने आमा सरह हजुर महान आमा,’

यता अजय घोसेमुन्टो लगाएर उभिइरहेको थियो ।

टिप्पणीहरू