रुपन्देहीमा यसकारण घाटा लाग्यो एमालेलाई

रुपन्देहीमा यसकारण घाटा लाग्यो एमालेलाई

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अन्यत्रझैँ रुपन्देहीमा पनि हार व्यहोर्नु परेको छ । पार्टी संगठनका हिसाबले बलियो मानिएको बुटवल उपमहानगर, तिलोत्तमा नगर,सिध्दार्थनगर, सैनामैनासहित धेरै गाउँपालिकामा एमालेले पराजय भोगेको हो । निर्वाचनअघि लुम्बिनीका अधिकांश पालिकामा कसैले पनि एमालेलाई हराउन नसक्ने नेताहरुले सार्वजनिक घोषणा गरेका थिए । तर,चुनावको परिणामपछि एकले अर्कोलाई सत्तोसराप गर्दै अन्तर्घातको आरोपप्रत्यारोप जोडतोडले चलिरहेको छ ।

एमालेभित्रै एकथरिले, ‘रुपन्देहीलाई लालकिल्ला बनाउने अभियान चलाइएको तर निर्वाचन व्यवस्थापन कमजोर हुँदा नराम्रो पराजय भोगियो,’ भनेका छन् । एमालेले रुपन्देहीमा हार्नुको मूल कारण पार्टी विभाजनको असर पनि हो । यो तथ्यलाई चुनावअघि रुपन्देही एमालेले नजरअन्दाज गरेको थियो । आफूले निर्वाचन नजिते पनि एमालेका उम्मेदवारहरु हराउन नेकपा एकीकृत समाजवादी भने सफल भएको छ । समाजवादीका उम्मेदवारले पाएको मत थपिँदा एमाले उम्मेदवार विजयी हुने प्रष्टै देखिन्छ ।

अर्कोतिर एमाले शीर्ष नेतृत्वको जुँगाको लडाईमा उम्मेदवारहरु परेका छन् । बुटवलमा एमालेभित्र एउटा पंक्तिले विष्णु पौडेलभन्दा अरुलाई नेता स्वीकार नै गर्दैन । यो प्रवृत्तिको शिकार यसपटक उपमहानगर मेयरका उम्मेदवार बाबुराम भट्टराई भएका छन् । महासचिव शंकर पोखरेल र नेता घनश्याम भुसालको पहलमा टिकट पाएका भट्टराईलाई निर्वाचनमा विष्णु पौडेलको कोर टिमले असहयोग गरेको चर्चा बुटवलका चिया पसलहरुमा भइरहेको छ । ‘उपमेयरमा सावित्रा अर्याल लोकप्रिय मतका साथ विजयी हुँदा मेयरले लज्जास्पद हार व्यहोर्नुको मूल कारण पौडेलको टिमले असहयोग गर्नु नै हो । त्यसका अतिरिक्त नेकपा एकीकृत समाजवादीको शक्तिलाई अवमूल्यन गरिनु पनि हो’,यहाँका अधिकांश एमालेजनको बुझाइ छ ।

बुटवल समाजवादीका नेता राजु गुरुङको गृहनगर पनि हो । युवासंघमा सफल कार्यकालसहित देशैभर चर्चा कमाएका उनी एक्लै फिल्डमा उत्रिँदासमेत पाँचदेखि सात सय मत फरक पार्ने हैसियत राख्छन् । जबकि उनले संगठनात्मक आधारसहित एमालेमा हुँदा चर्चित र जनजाति अगुवा चिनबहादुर गुरुङलाई उपमेयरको उम्मेदवार बनाए । सोही कारण समाजवादीका नेता–कार्यकर्ता र मतदाताले इमान्दारिताका साथ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेलाई मत दिए । तर, काँग्रेसहरुले मत नहाल्दा मेयर काँग्रेसले जिते पनि उपमेयर पराजित हुनुपर्यो ।

अर्कोतिर प्रदेश राजधानी दाङ सार्नु एमालेको मात्रै दोष थिएन,त्यसमा गृहमन्त्री बालकृष्ण खाँण पनि उत्तिकै दोषी थिए । तर, आफ्नो कारणले मात्रै प्रदेश राजधानी सरेको भन्ने प्रचारबाजी एमालेले चिर्न सकेन । ओमसतिया गाउँपालिकामा निर्वाचनअघि पार्टी प्रवेश गरेका मन्जितकुमार यादवलाई टिकट दिइयो । सबै वडाका अध्यक्ष र सदस्यहरु हारेता पनि उनले अध्यक्ष जिते । ओमसतियामा एमालेका पुराना नेता ईन्द्रजीत यादवले स्वतन्त्रमा उम्मेदवार दिनु,रोहिणी गाउँपालिकामा एमालेले हार्नुको मूल कारण रहेको त्यहाँका नेता सञ्जय गुप्तासहितका पुराना नेतालाई बाईपास गरेर निर्वाचनको समयमा पार्टी प्रवेश गरेकाहरुलाई टिकट दिइनु हो भनिन्छ ।

“सबैभन्दा बढी चोट उपाध्यक्ष विष्णु पौडेल, घनश्याम भुसाल र महासचिव शंकर पोखरेललाई परेको छ । पौडेलको निर्वाचन क्षेत्रसमेत रहेको बुटवलमा एमाले नराम्रोसँग पराजित भएको छ । सियारी, तिलोत्तमा र भैरहवामा मेयर हार्दा घनश्यामलाई पनि नैतिक संकट परेको छ । तर, देवदह र ओमसतियामा नेतृत्व जिताउन सफल छविलाल विश्वकर्मा भने उत्साहित छन् । “

उता,सिध्दार्थनगर भैरहवामा माओवादीबाट प्रवेश गरेका नारायणप्रसाद भन्डारीको टिमले आधिकारिक उम्मेदवार हराउन मुख्य भूमिका खेलेको आरोप छ । उनले टिकट आफूले पाउने भन्दै प्रचारप्रसार गरिसकेका थिए । पार्टीको नगर सचिवसमेत रहेका भण्डारीले निर्वाचनको मौन अवधि शुरु हुनुभन्दा अघिल्लो दिनसम्म पार्टी कार्यालयमा बसेर नेताहरुलाई तथानाम गाली गर्ने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने कृयाकलाप गरेको स्थानीय नेताहरुले बताएका छन् ।

उनले फेसबुकमा पार्टीका आधिकारिक उम्मेदवारलाई बूढो, काम गर्न नसक्ने,पितृ भन्दै तथानाम गाली गरेका थिए । विपक्षीहरुले एमालेकै सचिवले त्यस्तो भनेर प्रचार गरेका छन् भन्दै भण्डारीको पोस्ट प्रिन्ट गरेर सर्वत्र बाँडेका थिए । यसका अतिरिक्त मुस्लिम समुदायको मत सुरक्षित गर्न नसक्नु, उम्मेदवारका आकांक्षी रहेकाहरुले टिकट नपाएपछि चुनावी अभियानमा एक ढिक्का भएर नहिँड्नु पनि भैरहवामा एमाले हार्नुको कारण हो ।

सबैभन्दा चर्चामा रहेको तिलोत्तमामा एमालेले चर्चित पत्रकार मोहन चापागाईंलाई उम्मेदवार बनाएको थियो । एमालेले सहजै जित्ने आकलन गरिएको तिलोत्तमामा गृहमन्त्रीका सहोदर भाइ रामकृष्ण खाँणले मेयर जिते । काँग्रेसले प्रशासनको सहयोगमा गरेका गलत क्रियाकलापको आलोचना गर्न नसक्नु र जिल्ला सचिव यज्ञ गैरेको निष्क्रियताका कारण तिलोत्तमा गुमाउनु परेको एमाले नेताहरुको भनाइ छ । सैनामैनामा पनि ‘ओभर कन्फिडेन्स’ का कारण चित्रबहादुर कार्कीले हार्नुपरेको रुपन्देहीभर चर्चा छ । एमालेकै नेता खुशीराम चौधरीले असहयोग गरेर हराएको भन्नेहरु पनि उत्तिकै छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा १६ पालिकामध्ये बुटवल उपमहानगरसहित तिलोत्तमा, सिध्दार्थनगर र सैनामैनामा मेयर र उपमेयर दुवै अनि देवदहमा उपमेयर जितेको थियो । त्यस्तै, सियारी, शुध्दोधन र कञ्चन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । यसपटक बुटवल,तिलोत्तमा, सिध्दार्थनगर र सैनामैनामा मेयर हारेको छ भने उपमेयर मात्रै जितेको छ । सियारी र कञ्चनमा दुवै पद गुमाएको एमालेले शुध्दोधनमा बल्लबल्ल उपाध्यक्ष हात पारेको छ । अघिल्लो पटक जित्न नसकेको देवदहमा यसपटक मेयर र उपमेयर दुवै हात पारेको छ भने गैडहवामा अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । लुम्बिनी सांस्कृतिक नगरमा उपमेयर पाएको छ ।

रुपन्देहीको परिणामले सबैभन्दा बढी चोट उपाध्यक्ष विष्णु पौडेल, घनश्याम भुसाल र महासचिव शंकर पोखरेललाई परेको छ । पौडेलको निर्वाचन क्षेत्रसमेत रहेको बुटवलमा एमाले नराम्रोसँग पराजित भएको छ । सियारी, तिलोत्तमा र भैरहवामा मेयर हार्दा घनश्यामलाई पनि नैतिक संकट परेको छ । तर, देवदह र ओमसतियामा नेतृत्व जिताउन सफल छविलाल विश्वकर्मा भने उत्साहित छन् । यो परिणामले देशब्यापीरुपमा ‘केपी ओली इज द एमाले अदर आर नोथिंग’ भन्ने एमालेभित्र विकास भइरहेको सिध्दान्त फेल खाएको छ ।

ओलीले जहाँ–जहाँ पुगेर भाषण गरे त्यहाँ एमालेले हारेको छ । त्यसैले आफ्नो गढ़मै एमाले पछारिनुको मूल कारण ओलीलाई गरिएको देवत्वकरण र उनका छोराछोरी हुँ भन्नेहरुले इमान्दार र सोझा कार्यकर्ताहरुलाई निर्वाचनका बेला गरेको बेवास्ता नै हो भनी १० बुँदेवालाहरुले भित्रभित्रै भन्न थालेका छन् । तिनलाई कुनै चुनावी मोर्चामा सहभागी नगराउँदा एमालेका उम्मेदवारले हार व्यहोर्नुको अर्को कारण पनि हो ।

टिप्पणीहरू