नेविसंघको तालाबन्दी क्रान्तिकारीले खोल्यो

नेविसंघको तालाबन्दी क्रान्तिकारीले खोल्यो

नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले चार महिनादेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा गरेको तालाबन्दी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले खोलेको छ ।

आज क्रान्तिकारीका तर्फबाट मोटरसाइकलमा आएका एक हजार जनाको टोलीले ताला फोडेको दाबी गरिएको छ । लगत्तै क्रान्तिकारीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज सफलले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन् ।

विज्ञप्तिमा सत्तासिन पार्टीकै भ्रातृ संगठनका गलत स्वार्थ र मनसाय बोकेका विद्यार्थीहरूको झुण्डले ताला लगाएर विश्वविद्यालयलाई चार महिनादेखि अनिर्णयको बन्दी बनाएको आरोप लगाइएको छ । राजनीतिक दल, तीनका भ्रातृ संगठन, बुद्धिजीवी वर्ग, विश्वविद्यालय प्रशासन र सरकार लाचार बनेको भन्दै उसले पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

‘विश्वविद्यालयका कूलपति सम्माननीय प्रधानमन्त्री हुँदै गर्दा विश्वविद्यालयमा महिनौँदेखि ताला लागाइनु, उपकूलपतिबाट समस्या समाधानप्रति कुनै चासो व्यक्त नगर्नु आफैंमा लज्जास्पदको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

दलीय पहुँच र दबाबको भरमा आंशिक र करार हुँदै खुला प्रतिस्पर्धाबिना नै स्थायी नियुक्ति दिने परिपाटीले शिक्षाको गुणस्तर खस्किएको पनि विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउने र ताला लगाउने कार्य कसैले गरेमा कडा रूपमा उत्रने क्रान्तिकारीले चेतावनी दिएको छ ।

त्रिविमा आर्थिक सुधारलगायतका मुद्दाहरू राख्दै नेविसंघले माघ ६ गतेदेखि विश्वविद्यालयका विभिन्न शाखाहरूमा तालाबन्दी गरेको थियो ।

टिप्पणीहरू