ललितपुरमा कांग्रेसको एक्लो बहुमत कायम

ललितपुरमा कांग्रेसको एक्लो बहुमत कायम

नेपाली कांग्रेसले ललितपुरमा एक्लै जिल्ला समन्वय समिति (जिसस) गठन गर्न सक्ने देखिएको छ । अघिल्लो पटक माओवादी केन्द्रको भोट लिएर प्रमुख जितेको कांग्रेस यसपटक अन्य दलको साथ बिनै जिसस गठन गर्ने अवस्थामा पुगेको हो ।

जिसस गठनमा नगरपालिका र गाउँपालिकाका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष मतदाता रहन्छन् । ६ स्थानीय तह रहेको ललितपुरमा १२ मत छ । जिसस गठन गर्न ७ मत चाहिन्छ । कांग्रेससँग ठ्याक्कै ७ मत रहेको छ भने एमालेसँग ३ र माओवादीसँग २ भोट छ । गत निर्वाचनमा कांग्रेस ६,एमाले ४ र माओवादीको २ मत थियो ।

कांग्रेसले ललितपुर महानगर र गोदावरी नगरपालिकामा प्रमुख तथा बागमती र महाँकाल गाउँपालिकामा अध्यक्ष जितेको छ । महालक्ष्मी र गोदावरीमा उपप्रमुख पाएको कांग्रेसले कोञ्जोसोममा उपाध्यक्ष जितेको छ ।एमालेले महालक्ष्मी नगरपालिकामा प्रमुख र कोञ्जोसोममा अध्यक्ष तथा ललितपुर महानगरमा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले बागमती र महाँकाल गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

७७ जिल्लामध्ये कांग्रेसको १५,एमालेको ११ र माओवादी केन्द्रको ४ गरी ३० जिल्लामा एकल जिसस गठन हुने अवस्था छ ।

टिप्पणीहरू