प्रेममा डुब्न मात्रै होइन पौडिन पनि पर्दो रहेछ….

प्रेममा डुब्न मात्रै होइन पौडिन पनि पर्दो रहेछ….

बंगलादेशकी एउटी २२ वर्षीया युवतीले प्रेमीसँग भेट्ने र लगनगाँठो कस्ने उद्देश्यले एक घण्टा नदीमा पौडी खेलेर भारत पसेकी छन् । सुरक्षा निकै मजबुत बनाइएको भारत र बंगलादेशको सीमानामा रहेको नदीमा पौडेर ती युवती भारत पुगेकी हुन् ।

उनले त्यहाँको घना जंगल सुन्दरबन पनि एक्लै पार गरेकी थिइन् । प्रेममा पागल भएपछि मान्छेले सबैथोक गर्छ भनेझैँ फेसबुकबाट चिनजान भएका प्रेमीलाई भेट्न उनले कलकत्ता जाने योजनामा त्यो सबै गरेकी हुन् ।

कृष्ण मण्डल नामक ती युवतीका भारतीय प्रेमी अभिक मण्डल हुन् । फेसबुकमा चिनजान भएपछि उनीहरु एक अर्काप्रति निकै नजिकिएका थिए । युवतीसँग राहदानी नभएकाले उनी भारत जान सक्दैनथिन् । त्यसैले गैरकानुनी तरिकाले भारत जाने बाटो रोजेकी हुन् ।

भारतीय प्रहरीका अनुसार युवती पहिले सीमा क्षेत्रमा रहेको घना जंगल सुन्दरवन छिरिन् । त्यो जंगल रोयल बंगाल टाइगर्सको लागि विश्वभर प्रख्यात छ । त्यसपछि नदीमा झण्डै एक घण्टासम्म पौडी खेलिन् ।

त्यसरी ज्यान जोखिममा राखेर भारत पुगेपछि जीवन बिताउने साथीसँग विवाह तीन दिनअगाडि विवाह पनि गरिन् । तर गैरकानुनी रुपमा भारत छिरेको आरोपमा उनी पक्राउ परिन् । अब नवविवाहित बंगलादेशी दुलहीलाई भारतीय प्रहरीले कोलकातास्थित बंगलादेशी उच्चायुक्तको कार्यालयसमक्ष बुझाउने तयारी गरेको छ ।

टिप्पणीहरू