पछाडिबाट छोएको बात लगाउने नायिकाले हङकङको यो घटना बुझ्ने कि ?

पछाडिबाट छोएको बात लगाउने नायिकाले हङकङको यो घटना बुझ्ने कि ?

यतिखेर सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल बनेको छ । आफ्नो चलचित्र कबड्डी ४ हेर्न राजधानीको सिभिल मल पुगेकी नायिका मिरुना मगरले सार्वजनिकस्थलमा धर्म गुरुलाई थप्पड हानेको भिडियो चर्चामा आएको हो ।

अस्ति दिउँसो सोही फिल्म हेर्न हल पुगेका लामा भेषका २४ वर्षीय युवाले नियतवशः आफ्नो पिठ्युँमा छोएको मगरको आरोप छ । एकपटक मात्र नभई बारम्बार आफ्नो पिठ्युँमा छोएको आरोप लगाउँदै नायिकाले बौध्द भाषा अध्ययनरत फुर्वा लामालाई सार्वजनिक स्थलमै चड्काएकी थिइन् ।

उक्त प्रकरणले यतिबेला कबड्डी ४ चलचित्र बहिष्कारको ट्रेण्ड चलेको छ । निर्दोष व्यक्तिलाई थप्पड हानेको भन्दै सामाजिक सञ्जालमा नायिका मिरुनाविरुद्ध खोइरो खन्नेहरुको ओइरो लागेको छ ।

यो घटनापछि फेरि पनि ‘ब्याड टच’ र ‘गुड टच’ लाई लिएर प्रश्न उठ्न थालेको छ । नायिका मिरुनालाई साँच्चै नै ती युवकले गलत आशयले छोएका होलान् वा भूलवश ? सर्वत्र प्रश्न उठिरहेको छ ।

सोही सन्दर्भलाई लिएर विभिन्न टिकाटिप्पणी शुरु भएको छ । तर्कवितर्क भएका छन् । कतिपयले निष्पक्ष छानबिनको मागसमेत गरेका छन् । कहिलेकाँही ‘एक्सन’ गलत भए पनि नियत गलत हुन नसक्ने भन्दै छानबिन गर्न आग्रह गर्नेहरु पनि उत्तिकै छन् ।

नियतवशः ‘छुनु’ र भूलवशः ‘छोइनु’ को भिन्नता राम्रोसँग बुझ्न नसक्दा आरोप लगाउने नै फस्न सक्छन् भन्ने उदाहरण हङकङको एउटा घटनाले पनि देखाएको छ । यो घटना ठ्याक्कै नायिका मिरुना र लामासँग मिल्दोजुल्दो छ । छ दिनअघि अर्थात २५ मेमा एउटा खेलौना पसलमा पाँच वर्षीय बालकको हातबाट संजोगले महँगो खैलौना फुट्छ ।

आमासँग गएका ती बालकले देखाउन राखिएको १ दशमलव आठ मीटर अग्लो खेलौना चलाउने क्रममा फुटेको हो । सिसीटिभी फुटेजमा भने ती बालकले जानाजान खेलौना फुटाएको देखिएन ।

तर पनि पसलेले उक्त खेलौनाको मूल्य करिब ५२ हजार आठ सय हङकङ डलर रहेको भन्दै जरिवाना स्वरुप ३३ हजार छ सय डलर तिर्न बाध्य बनाए । त्यसको केही समयमा पसलका स्टाफले बालक र उनका आमालाई गरेको दुर्व्यवहारको भिडियो भाइरल भयो ।

आमनागरिकले उक्त पसल र त्यसका सबै चेनस्टोर बहिष्कार गर्ने अभियान नै चलाए । त्यसपछि पसलेले माफी माग्दै उक्त महिलासँग लिएको जरिवानाको सबै रकम फिर्ता गरे । यसले नायिका मिरुना–लामा प्रकरणलाई पनि राम्रै पाठ सिकाएको भन्नेहरु पनि भेटिएका छन् ।

सिसीटिभी फुटेजमा कतै पनि ती लामाले नायिका मिरुनालाई छोएको देखिँदैन । नायिकाले लामालाई सार्वजनिकस्थलमा थप्पड हान्दा अभियन्ताहरु सडकमा उत्रिएका छन् । गुरुहरुको अपमान भएको आरोपसमेत लगाइएको छ ।

यतिखेर चलचित्र कबड्डी ४ नै जोखिममा परेको छ । कबड्डी ४ का निर्देशकसमेत तनावमा परेका छन् । नायिका मिरुनाले उजुरी दिएका युवा हिजै रिहा भइसकेका छन् । तर,नायिका मिरुना भने गुपचुप बसेकी छन् ।

टिप्पणीहरू