भुइँमा पिल्सिएका जनता यसो भन्छन् « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

भुइँमा पिल्सिएका जनता यसो भन्छन्

प्रकाशित मिति :  १८ जेष्ठ २०७९, बुधबार १३:३०


सुख र समृद्धिको सपना साकार पार्न सरकारले दुःख र अभावको जिन्दगीबाट जनतालाई पार लगाउन सक्नुपर्छ । जननिर्वाचित प्रतिनिधिहरूले दुःखी, गरिब, कमजोर र असहाय जनतालाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्नुपर्छ । आमजनताका समस्या के–के छन् र तिनलाई कसरी समाधान गर्ने ? भन्नेतर्फ नै नेताहरूको पहिलो पहलकदमी हुनुपर्छ । जनमतमा निहित सर्वसाधारणको अपेक्षालाई आफ्नो प्रमुख दायित्वको रूपमा लिएर विजयी उम्मेदवार त्यसलाई पूरा गर्न प्रभावकारी योजनाकासाथ लागिपर्नुपर्ने देखिएको छ ।

‘यस्तो महँगी छ, गरीबले बिहान–बेलुकाको छाक टार्न पनि नसक्ने अवस्था बन्दै छ । एक लिटर तेल एकदिनको कमाइले पनि नआउने स्थिति भइसक्यो । यस्तो भएपछि सर्वसाधारण जनताले कसरी किनेर खान सक्छन् ?’, गत हप्ता भरतपुरको मतगणनास्थल बाहिर जम्मा भएको भीडमा अलिकति भए पनि व्यापार हुन्छ कि भनेर सडकछेउ फ्रुटी, काँक्रो, पानी, चना–अण्डा बेच्न बसेका भरत खड्काले भने, ‘अहिले चुनाव जितेर आउने सबै जनप्रतिनिधिले तत्काल महँगी निवारणमा ध्यान दिएर काम गर्नुपर्छ ।

खानेकुरादेखि हरेक दैनिक उपभोग्य वस्तुको बजारभाउ सस्तो र सुलभ बनाउन तलदेखि माथिसम्मका सबै नेता एक भएर लाग्नुपर्छ ।’ भरतपुर–१० को नारायणी नमूना माविमा क्यान्टिन चलाउँदै आएका खड्काले रोजगारी सिर्जनातर्फ पनि जनप्रतिनिधिहरूले निकै प्राथमिकता दिएर काम गर्न आवश्यक रहेको बताए । ‘स्वदेशमै रोजगारीको अवसर नपाएर लाखौं जनता विदेशी भूमिमा दुःख गर्न बाध्य छन्’, उनले भने, ‘रेमिट्यान्स आउँछ भनेर जनतालाई विदेश पठाउँदा युवाशक्तिमा देश कमजोर भएको छ, यसले देशको विकासमा पनि धक्का पुगेको छ ।’ यसैगरी, शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाएर सबै जनताको सहज पहुँचमा पुर्याउनुपर्ने बताउँदै उनले भने, ‘कर लिएबापत जनतालाई त्यहीअनुसार सेवा सुविधा पनि त दिनुपर्ये नि !’

उक्त मतगणनास्थल अगाडिकै भीडमा ठेलामा मकै पोलेर बेच्दै गरेकी भरतपुर–९ की ५१ वर्षीया गोमाकुमारी ठकुरीले भनिन्, ‘कि हामीलाई कुनै रोजगारीको व्यवस्था हुनुपर्छ । नभए यसरी बाटोछेउमा भए पनि व्यापार गरेर खान पाउनुपर्छ । लखेट्न भएन ।’

यही चुनावकै लागि म्यादी प्रहरीमा भर्ना भएर अघिल्लो बुधवार मालपोत कार्यालय अगाडि बाटोमा खटिएकी भरतपुर, विशालचोककी २० वर्षीया अस्मिता गुरुङले पनि नेताहरूले सबैभन्दा पहिले खाद्यवस्तु, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई महँगीबाट राहत दिलाउनुपर्ने बताइन् ।

अहिले महँगीलाई बेलैमा नियन्त्रण गरिएन भने यो चरम सीमामा जाने र भोलि भयावह स्थिति आउने बताउँछन्, नारायणगढ शहीदचोकस्थित प्रिन्स हेयर कटिङका सञ्चालक गणेश ठाकुर । घर इण्डिया भएपनि ५२ वर्षदेखि नारायणगढमै सैलुन व्यवसाय सञ्चालन गर्दै आएको बताउने उनी भन्छन्, ‘सबैभन्दा पहिला गरीबलाई प्राथमिकता दिएर नीति, योजना तर्जुमा गर्यो भने बल्ल राष्ट्र सबल भएर जान्छ ।’ कति जनता गरिबीको रेखामुनि छन्, पहिचान गरी लगत संकलन गरेर उनीहरूलाई स्वरोजगार बनाउनुपर्ने, रोजगारीको व्यवस्था गरिनुपर्ने उनले बताए । ‘अब वास्तविक सुकुमवासी सबैलाई जग्गा, लालपुर्जा दिनुपर्छ, घर नभएकालाई सरकारले घर बनाउन पनि सहयोग गर्नुपर्छ’, उनले भने, ‘गरिबीको रेखामुनि रहेका जनतासँग कुनै कर लिइनुहुँदैन ।’

केही दिनअगाडि नारायणगढ बजारको सडकपेटीमा काँधमा झोला बोकेर हिँड्दै गरेका पर्सा, वीरगञ्जका ५५ वर्षीय हरि चौधरीले भरतपुरमा डकर्मीको काम गर्न भोट हालेर आएको बताए । ‘गाउँठाउँमै रोजगारी पाएको भए किन यति टाढा आउनुपर्थ्यो र  ?’, उनले भने, ‘पर्सातिर कारखाना त थुप्रै छन् । तर इण्डियनहरूलाई राख्छन् काममा, हामीलाई राख्दैनन् ।’

आफ्नै गाउँठाउँमा स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइदिन जनप्रतिनिधिहरूसँग उनको माग छ । केही महिना अघिसम्म २५० रूपैयाँमा आउजाउ गर्थें । अहिले ३०० देखि ३५० रूपैयाँसम्म गाडी भाडा तिर्नुपरेको छ’ भन्दै उनले पनि मूल्यवृद्धि नियन्त्रण नहुँदा गरीब जनता पिल्सिनुपरेको बताए । ‘बुबाआमा सानैमा बित्नुभयो, मैले जन्मको आधारमा नागरिकता लिएँ । त्यसबाट छोराको नागरिकता बनाउन पा’छैन अनि जन्मदर्ता नभएर नाति–नातिनीलाई विद्यालय भर्ना गर्न पनि सकिएको छैन’, आफ्नो यो समस्या सुनाउँदै जनप्रतिनिधिले हल गरिदिउन् भन्ने अपेक्षा चौधरीले व्यक्त गरे ।

भरतपुर अस्पतालमा श्रीमतीको उपचार गर्न आउँदा भेटिएका भरतपुर–२४ का भीमबहादुर सुनारले आर्थिक कमजोरीका कारण उपचार गर्नै गाह्रो भइरहेको भन्दै गरीब, विपन्नका लागि स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने बताए । भरतपुर अस्पतालअगाडि गेट छेउमा बसेर गीत गाउँदै, पैसा माग्दै गरेका नेत्रहीन ईश्वर विश्वकर्माले नेताहरूले जे–जसरी भएपनि महँगी घटाउनुपर्ने बताए ।

घर धनगढी, कैलाली बताउने उनी भरतपुर–९ स्थित भाडाको कोठामा बस्छन् । सानैमा दुवै आँखा पाकेर दृष्टिविहीन भएका उनले भने, ‘यसरी महँगी बढ्दै गयो भने न जनताले सुख पाउँछन्, न देशको समृद्धि हुन्छ ।’ गरीब, दीनदुःखी तथा असक्त, असहाय नागरिकहरूको लगत संकलन गरेर उनीहरूलाई क्षमता र सीपको आधारमा सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने उनले बताए ।

आफूजस्ता अपाङ्गता भएका असक्त नागरिकले हरेक कुरामा सहुलियतको सुविधा पाउनुपर्ने बताउँदै उनले थपे, ‘भन्न त प्लेनमा समेत हाफ भाडा भनिएको छ तर गाडीमा ३० प्रतिशत सहुलियत माग्दा पनि पाउँदैनौं ।’

भरतपुर अस्पतालमा भइरहेको निर्माण कार्यमा मजदुरी गर्न आएका भरतपुर–२७ का ओम परियार हालै दिउँसो चर्को घाममा इँट्टा बोक्दै गर्दा भेटिए । ‘राम्रो रोजगारी पाएको भए यस्तो दुःखको काम किन आउनुपर्थ्यो  ?’, उनले भने, ‘सुकुमवासी हुँ, एककठ्ठा ऐलानी जग्गामा बसिरहेको छु । छिट्टै लालपुर्जा पाउन पाए आनन्द हुन्थ्यो ।’ जग्गाको लालपुर्जा नहुँदा गाउँठाउँमा हेपिएर बस्नुपरेको, निर्धक्क भएर हिँड्न नपाएको उनले बताए ।

भरतपुरकै क्यान्सर अस्पतालमा गत बिहीबार भेटिएका नवलपुर, कावासोती–७ का मुनिलाल महतोले क्यान्सरका बिरामीलाई राज्यले दिने छुट सुविधा बढाउनुपर्ने, यसतर्फ स्थानीय जनप्रतिनिधिहरूले पनि सोच्नुपर्ने बताए । श्रीमतीको पाठेघरको क्यान्सरको उपचार गराउन आएका उनले भने, ‘पैसा नहुँदा ऋण गरेर उपचार गर्नु परिरहेको छ । दुई–तीन लाख खर्च भइसक्यो, अझ कति लाग्ने हो थाहा छैन ।’ महँगीका कारण बाँच्न गाह्रो भइरहेको उनले पनि बताए । ‘बाटोको नाली राम्रो नहुँदा मेरो घरमै पहिरो जाने समस्या छ । जनप्रतिनिधिले पर्खाल लगाएर जोगाइदिए हुन्थ्यो’, उनले भने ।

धादिङ घर भई भरतपुरको क्षेत्रपुरमा परिवारसहित डेरामा बस्दै आएका ३८ वर्षीय रामु गैरे ठेला चलाएर जीविका चलाउँछन् । उनले पनि महँगीले नराम्ररी सताएको बताए । ‘दुई हजार पर्ने कोठालाई चार हजार तिर्नुपरेको छ । ८०–९० रूपैयाँमा पाइने खानेतेलको भाउ बढेर एकसय ७०–८० पुगेको छ’, उनले भने, ‘मर्ने त हामीजस्ता गरीब जनता नै हो । धनीलाई त जति भाउ बढेपनि के भो र ?’ सरकारी स्कूलमा समेत पैसा तिरेर बच्चाको भर्ना गर्नुपरेको, मासिक शुल्क पनि तिर्नुपरेको भन्दै गरीबका छोराछोरीले निःशुल्क पढ्न पाउने व्यवस्था नेताहरूले गरिदिनुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !