६ सन्तानलाई इनारमा खसालेर मार्ने निर्दयी रुना

६ सन्तानलाई इनारमा खसालेर मार्ने निर्दयी रुना

भारतको महाराष्ट्र राज्यमा एउटी आमाले आफ्ना छ सन्तानलाई एक–एक गरी इनारमा खसालेर हत्या गरेकी छन् । रायगढ जिल्लाको महड तालुक गाउँकी ३० वर्षीया रुना चिखुरी साहनीले घरायसी विवादमा आफ्ना छ सन्तानलाई तड्पाइ–तड्पाइ हत्या गरेकी हुन् ।

आफ्नै आमाद्वारा मारिनेहरूमा १० वर्षीया रोशनी, ८ वर्षीया करिष्मा, ६ वर्षीया रेश्मा, ५ वर्षीया विद्या, ३ वर्षीय शिवराज र ३ वर्षीया राधा हुन् । उनीहरू सबैको उमेर १० वर्षभन्दा मुनि रहेको महाराष्ट्र बालसंरक्षण केन्द्रले जनाएको छ ।

सन्तानको हत्यापछि साहनी आफैंले पनि आत्महत्याको प्रयास गरेकी थिइन् । तर स्थानीयवासीले उनको तत्काल उद्धार गर्दा ज्यान जोगिएको हो । घटनाको जानकारी पाएलगतै महडक्षेत्रका विधायक भरत गोगाव प्रहरीसहित घटनास्थल पुगेर महिलालाई पक्राउ गरेका छन् ।

बालबालिकाहरूको शव भर्खरै इनारबाट लिकालिएको रायगढ प्रहरीले जनाएको छ । ती महिलाले हिजो बिहान आफ्ना ससुराले कुटपिट गरेको प्रहरी सोधपुछका क्रममा बताएकी छन् । ससुराको पिटाइबाट आक्रोशित साहनीले गएराति नै आफ्ना सन्तानको हत्या गरेको स्थानीय प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू