मध्यराति प्रमुख आयुक्तलाई धम्क्याउने मन्त्री

मध्यराति प्रमुख आयुक्तलाई धम्क्याउने मन्त्री

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई मध्यराति फोन गरी सिरहा जिल्लाको मिर्चैयामा सम्पन्न स्थानीय निर्वाचनको परिणाम जबर्जस्ती घोषणा गर्नुप¥यो भनेर धम्कीको भाषा बोलेका छन् । सो स्थानमा मतगणना जारी रहँदा दलका प्रतिनिधिबीच विवाद भएपछि परिणाम घोषणा स्थगन भएको थियो ।

स्रोतका अनुसार मिर्चैया नगरपालिकामा कांग्रेस र माओवादी तीव्र प्रतिस्पर्धामा थिए । माओवादी केन्द्रले एउटा वडा १८ मत जतिको झिनो अन्तरले जित्ने सम्भावना देखेपछि कांग्रेसका प्रतिनिधिले परिणामलाई आफ्नो पक्षमा पार्ने कसरतस्वरुप बखेडा झिकेको थियो ।

निर्वाचन सुरक्षाको मुख्य जिम्मेवारी लिएर बसेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले समेत निर्वाचन आयुक्तलाई फोन गरेर कांग्रेसको तरफदारी गरेलगत्तै शुक्रबार राति साढे ११ बजे मन्त्री साहले पनि आफूअनुकूलको निर्णय गराउन उद्यत भएर गृहमन्त्रीको भाषा बोल्न कस्सिएको तर उल्टै झपार खाएको मुख्यमन्त्री लालबाबु राउतका पिएले जनआस्थालाई बताए ।

सिडिओले घुमाउरो पाराले बखेडा झिक्ने कांग्रेसको तर्फबाट वकालत गरेपछि मतगणनास्थलमा रहेका निर्वाचन अधिकृतले इन्कार गर्दा उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पोल सुनाउँछु भन्दै निर्वाचन अधिकृतलाई धम्क्याएको बुझिन्छ ।

मतदान अधिकृत भनेको आयोगको अधिकारप्राप्त आधिकारिक प्रतिनिधि हो, मतदान प्रक्रिया र मतगणना स्थलमा कुनै पनि प्रकारको विवाद आए त्यसबारे निर्देशन निर्वाचन आयोगले मात्रै दिन सक्छ, मन्त्रीले भनेकोे कुरा सुन्दैन भन्दै सिडिओ यादवलाई प्रमुख निर्वाचन आयुक्तले झपारेको बुझिएको छ ।

थपलियाले ‘तपाईंको काम शान्ति सुरक्षा दिने हो, पुनः मतगणना गर्ने कि नगर्ने, मुचुल्का हेर्नेजस्ता बखेडा झिक्ने कुरा नगर्नोस्, आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नुस् । अनावश्यक धेरै बोल्नुभयो र खराव वातावरण देखियो भने तपाईलाई राम्रो हुँदैन’ भनेर झपारेका थिए ।

त्यसपछि मत गणनास्थलबाट कांग्रेसका प्रतिनिधि निस्किए । कांग्रेस प्रतिनिधिले सय पचास मतले हारेको हो, त्यो मिलाउँदा मिल्छ, अहिलेलाई नतिजा घोषणा गर्ने काम रोकौं भनेका थिए । उनले मतगणनामा खटिएका कर्मचारीलाई ‘म गृहमन्त्रीसँग कुरा गर्छु । निर्वाचन आयोगमा पनि कुरा मिलाउँछु । तर नतिजा घोषणाको काम रोकौं’ भनेर ध्वाँस पिटेका थिए ।

यसरी मतपरिणाम घोषणा गर्न रोकिएपछि सत्तागठबन्धनका मन्त्रीहरूले पक्ष र विपक्षमा प्रमुख आयुक्तलाई आ–आफ्नो पक्षमा दबाब सिर्जना गर्न फोन गरेको बुझिएको छ । एक जना मन्त्रीले खबरदार, परिणाम घोषणा गर्लास् र अर्का मन्त्रीले पुनः मत गणना गरेर जितेका मेरा उम्मेदवारलाई हराउलास् भनेको बुझिएको छ ।

त्यसको प्रतिउत्तरमा प्रमुख निर्वाचन आयुक्तले ९८५११५०५५५ बाट फोन गर्ने मन्त्रीलाई ‘अब फेरि यस्तो कुरालाई लिएर फोन गर्नुभयो भने भोलि बिहान ७ बजे मन्त्रीहरूले यो निर्वाचनमा दबाब दिएकाले दुःख पाइएको छ भनेर पत्रकार सम्मेलन गर्नु नपरोस् ।’ भनेपछि संवाद टुटेको बताइन्छ । सत्तारुढ दलकै अर्का नेता मातृका यादवले पनि प्रमुख निर्वाचन आयुक्त थपलियालाई फोन गरेको र सरकार र निर्वाचन आयोगको सम्बन्ध के हो ?

प्रतिपक्षले विरोध गर्नुलाई सामान्य रुपमा लिन सकिन्छ । तर सरकारमा रहेको दलले नै हामीलाई अनावश्यक दबाब दिने ? आयोगलाई अप्ठ्यारोमा पार्ने ? जनताले भोट हालिसकेका छन् । अब निर्वाचन अधिकृतले जे गर्छ, त्यही हुन्छ । भन्ने जवाफ पाएको र यादवले ‘मैले सहजीकरण गरुँ भनेको । त्यसोभए ठीकै छ ।’ भनेर फोन काटेको माओवादी स्रोतले बताएको छ ।

थपलियाले सरकारको गृहमन्त्रीले एउटा कुरा गर्ने, अर्थमन्त्रीले अर्को कुरा गर्ने ? सरकारले सहयोग गर्नुपर्नेमा आयोगलाई दबाब दिने ? भनेर मन्त्रीहरूलाई थर्काएको बुझिएको छ । मिर्चैयामा माओवादीले मेयर र उपमेयर नै जितेको छ । त्यसैगरी, मोरङको रंगेलीमा हार्दै गएका कांग्रेसका उम्मेदवार मतपत्र नै अर्को छापेर हालेको छ भन्दै गणनास्थलमा बुरुक्कबुरुक्क उफ्रिएको र मतदान अधिकृतलाई एउटै बाकसभित्र दुई खाले मतपत्र भेटिएको हौवा पिटाएको बताइन्छ ।

स्वर्गबाट बिउँतिएर, विदेशबाट उडेर…..

पद र पहुँचमा रहेकाले आफन्तलाई जसरी पनि जिताउन निर्देशन दिएपछि स्वर्गबाट बिउँतिएर र विदेशबाट उडेर आएका मतदाताले मतदानमा भाग लिएको पाइएको छ । सुन्दै हाँसो लाग्ने भए पनि सत्य यही नै हो । बाजुरा जिल्ला, बूढीगंगा नगरपालिका–४ थुमा माध्यमिक विद्यालयको बुथमा १७०९ मध्ये १६९९ मत खसेपछि यस्तो देखिएको थियो ।

यो ९९ प्रतिशतभन्दा बढी मत हुन आउँछ । कांग्रेसबाट मेयरको प्रत्यासी रहेका रंगबहादुर खातीलाई जिताउनुपर्ने भएपछि बुथ कब्जा गरेर मरेका र विदेशमा रहेका मतदाताको नाममा समेत भोट खसालिएको थियो । प्रत्यक्षदर्शीका अनुसार एमाले समर्थक केही मतदाताले भोट खसालेपछि ढिलो पुगेका कांग्रेस समर्थकले बलमिच्याइँ गर्दै मतदान अधिकृतलाई प्रभावमा पारेर १६९९ भोट खसालेका हुन् ।

सो वडा कांग्रेसको पकड भएको वडा मानिन्थ्यो । त्यसैगरी, कांग्रेसले आफ्नो पकड भएको ७ नम्बर वडामा पनि बुथ कब्जा गरेको आरोप एमालेले लगाएको छ । एमालेका रामबहादुर बानियाँले कांग्रेसका खातीसँग प्रतिस्पर्धा गरिरहेका छन् । खाती महान्यायाधिवक्ता खम्बमबहादुरका दाजु हुन् । त्यसैले यो धाँधलीको पृष्ठभूमिमा प्रधानमन्त्रीका कानुनी सल्लाहकार स्वयं जोडिएको आरोप लगाइएको छ ।

कांग्रेसले पनि एमालेले आफ्नो पकड २, ३, ५ र ९ वडामा बुथहरू कब्जा गरेको आरोप लगाएको छ । स्रोतका अनुसार महान्यायाधिवक्ताले समेत मुख्य निर्वाचन अधिकृतलगायत सिडिओ र बुथमा खटिएका अन्य कर्मचारीलाई समेटेर विभिन्न बहानामा फोन गरी यसो गरिदिनुप¥यो, उसो गरिदिनुप¥यो भन्दै अह्रनखटन गरेको बताइन्छ । वडा नम्बर ४ र ७ मा बुथ कब्जा गरेपछि भएको समीक्षामा एमालेले पनि बुथ कब्जा गरेकोले जित्न सकिँदैन भन्ने निश्कर्ष निस्किएको थियो । एमालेले कब्जा गरेको भनिएको बुथमा पनि ७० देखि ८० प्रतिशतसम्म भोट खसेको छ ।

त्यसपछि दिउँसो २ बजेतिर पुनः मतदान गराउनुपर्ने निश्कर्षमा पुगेको कांगे्रसले सिडिओ उपेन्द्रराज पौड्यालमार्फत गोटी चाल्यो । सिडिओले महान्यायाधिवक्ता खातीकै दबाबमा ‘गम्भीर सुरक्षा चुनौती एवं खतरा उत्पन्न भई मतदाताले निर्धक्क र स्वतन्त्र मतदान गर्ने वातावरण हुन नसकेकाले बूढीगंगा नगरपालिकाको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः निर्वाचन घोषणा गरिपाउन निर्वाचन आयोगमा अनुरोध गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसमक्ष लेखिपठाउने’ निर्णय सुरक्षा समितिबाट वैशाख ३० गते बेलुका गरेको थियो ।

यही व्यहोराको पत्र आएपछि आन्तरिक जाँचबुझ गरेको आयोगले सिडिओले मतपेटिका रुँगेर बसेका प्रहरीहरूलाई एकाएक छोडेर हिँड्न निर्देशन दिएको पाएको बताइन्छ । तापनि प्रहरीहरू बाकसभन्दा अलिक छेउ लागेर बसेको र मतदाताले मत खसालिरहेको थियो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बुथ कब्जा भए पनि मतदान गर्ने काम शान्तिपूर्ण रुपमा सबै वडामा सम्पन्न भएको प्रारम्भिक निश्कर्षमा आयोग पुगेको छ । त्यहाँका सबै मतदान अधिकृतले मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको मुचुल्का उठाएका छन् । साँझपख भने सुरक्षाकर्मी मतदान स्थलबाट फर्किएर रमिता देखाएको बताइन्छ ।

एकाएक साँझ सिडिओले पुनः निर्वाचन गराउन माग गरेपछि महान्यायाधिवक्ता खातीको भाँतीले काम गर्न शुरु गरेको दाबी स्रोतले गरेको छ । तर, अहिले आयोगले सिडिओलाई सुरक्षा व्यवस्थामा कमी हुँदा सुरक्षाकर्मी थपेर बलियो बनाउनुपर्नेमा किन नबनाएको ? भन्ने प्रश्न तेस्र्याएको बुझिएको छ । सिडिओ पौड्यालको सो निर्णयलाई साथ दिनेमा सेनानी वीरेन्द्रकुमार महर्जन, डिएसपी चतुर्भुज ओझा, डिएसपी (सशस्त्र) दीपक बिष्ट, गुप्तचर अधिकृत अशोकराज भट्ट र निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थी देखिएका छन् ।

यी हाकिमको दवाव आएपछि निर्वाचन अधिकृत उपसचिव कृष्ण सापकोटाले भने राजीनामा दिएका छन् । अहिले यसबारे केही टुंगो लागेको छैन । स्मरणीय छ, ०५४ सालमा यही ठाउँबाट खम्बबहादुर खाती गाउँ विकास समितिको अध्यक्षमा उम्मेदवार हुँदा दुई जनाको ज्यान जाने गरी ठूलो झडप भएको थियो । सो झडप र धाँधलीको मुद्दामा खाती सर्वोच्च अदालतबाट अढाई वर्ष अध्यक्ष हुने गरी पुनर्वहाली भएका थिए ।

टिप्पणीहरू