नमुना चुट्किलाहरू

नमुना चुट्किलाहरू

संसदमा एमाले अहिले शान्त छ । त्यो पनि सानोतिनो शान्ति होइन । ठूलै शान्ति । त्यसो त अहिले एमाले मात्र होइन, एमालेका एकाधिपति अध्यक्ष कमरेड केपी ओली पनि शान्त हुनुहुन्छ ।

यतिबेला उहाँको वाणी कतै सुन्न पाइएको छैन । चुनावको नतिजाले उहाँको वाणीलाई कता कता रोक्न खोजिरहेको देखिन्छ । त्यसैले उहाँ मौन हुनुहुन्छ । शायद यतिबेला उहाँ कुनै नयाँ चुट्किलाबारे सोचिरहनुभएको हुनुपर्छ ।

चुनावको नतिजाले कार्यकर्ता निराश छन् । अब निराश कार्यकर्तालाई के गर्दा हँसाउन सकिन्छ, यतिबेला उहाँ त्यो सोचिरहनुभएको हुनुपर्छ । उहाँको मौनता देख्दा यस्तो लाग्छ कि अब छिट्टै उहाँबाट नयाँ–नयाँ उखान एवं चुट्किलाहरू सुन्न पाइनेछ । जसको केही नमूना यस्तो हुनेछ –

– साथीहरू, पाँच वटा पार्टी मिल्दा पनि ४०० ठाउँ जिते, हामी एउटै पार्टी भएर पनि सय ठाउँमा जित्यौँ, प्रतिशतमा कसले बढी जित्यो ? हामीले ।

– साथीहरू, चुनावमा बहुत धाँधली भएको छ । जसको हातमा सत्ता छ उसले धाँधली गर्छ नै । यदि धाँधली नभएको भए हामी अझै पनि एक नम्बरमै हुने थियौँ । हामी एक नम्बर नै हौँ ।

– साथीहरू, एक माघले जाडो जाँदैन । यो चुनाव त केही पनि होइन । हामी संसदको चुनावमा देखाइदिनेछौँ ।

– साथीहरू, हामीसँग छुट्टिएर गएका माधव नेपालहरू कता पुगे ? अब त देख्नुभयो होला नि एमालेसँग टक्कर लिएपछि के हुन्छ भन्ने कुरा ?

टिप्पणीहरू